ऋण लिन बैंक धाउन नपर्ने, यी बैंकले दिन्छन् फोनबाटै ऋण

काठमाडौं । अर्थतन्त्रमा आएको संकुचनका कारण ठूला कर्जाको माग बढ्न नसकेपछि बैंकहरू खुद्रा कर्जा लगानीमा केन्द्रित हुन थालेका छन् ।

बैंकमा एकोहोरो निक्षेप थुप्रिरहँदा लागत बढेकोबढ्यै भएपछि बैंकहरूले सानो सानो रकमको कर्जा विस्तारमा ध्यान दिन थालेका हुन् ।

अहिले बैंकिङ प्रणालीमा ५ खर्ब बढी लगानी योग्य रकम छ । कर्जाको माग बढाउन सरकार र नेपाल राष्ट्र बैंकले नीतिगत लचकता अपनाउँदै आएका छन् । कात्तिकदेखि ब्याजदर पनि घट्दो क्रममा छ । तर, अपेक्षित रुपमा कर्जाको माग बढ्न नसक्दा पैसा बैंकमा थुप्रिएर बसेको छ । जसकारण बैंकहरूको ब्याज खर्च बढिरहेको छ ।

पैसा थुप्रिँदा खर्च बढ्ने र आम्दानी घट्ने भएपछि बैंकहरूले कर्जा विस्तार गर्न विभिन्न कर्जा योजना ल्याउन थालेका छन् । बैंकहरूले सस्तो ब्याजमै घर कर्जा र सेयर कर्जा योजना ल्याएका छन् ।

साथै, सानो सानो रकम कर्जा लगानी गर्ने उद्देश्यले बैंकहरूले ‘फोन लोन’ योजना ल्याएका छन् । अहिले आधादर्जन बैंकले ‘फोन लोन’ योजना ल्याइसकेका छन् भने अन्य बैंकहरूले पनि ल्याउने तयारी गरिरहेका छन् ।

‘फोन लोन’ योजना अन्तर्गत बैंकहरूले ग्राकलाई बिनाधितो फोनबाटै ऋण दिने भएका छन् । ग्राहकले बैंकमा नगइकन आफ्नो मोबाइलबाटै ऋण लिन सक्नेछन् । यद्यपि, २ लाख रुपैयाँभन्दा माथिको ऋण लिन भने सम्बन्धित बैंकमै जानुपर्नेछ ।

अहिले सरकारी स्वामित्वको कृषि विकाससहित नबिल, एनआइसी एशिया, एभरेष्ट, नबिल, प्रभु र एनएमबी बैंकले ‘फोन लोन’ योजना ल्याएका छन् ।

यी बैंकहरूले अधिकतम् २ लाख रुपैयाँसम्म ऋण फोनबाटै दिने भएका छन् । एनएमबी बैंकले अधिकतम २ वर्षका लागि फोन लोन दिने भएको छ भने अन्य बैंकले १ वर्षका लागि ऋण दिन्छन् । ब्याजदर भने किस्ता भुक्तानीको अवधि र रकममा आधारमा कम/बढी रहेको छ । फोन लोनको ब्याज १६ प्रतिशतसम्म रहेको छ ।

अधिकांश बैंकहरूले आफ्नो बैंकमा तलब खाता (स्यालरी अकाउन्ट) हुने ग्राहकरुलाई मात्रै फोन लोन सुविधा उपलब्ध गराएका छन् ।तलबी खाता बाहेकका ग्राहकलाई भने अहिले फोन लोन सुविधा उपलब्ध गराएका छैनन् ।

सम्बन्धित बैंकमा तलब खाता भएका ग्राहकले मोबाइल एपबाटै आवेदन दिएर ऋण लिन सक्छन् ।ऋण रकम र अवधिमा आधारमा किस्ता निर्धारण हुनेछ ।

बैंकहरूले फोन  लोन दिँदा केही शर्तहरू भने राखेका छन् । सम्बन्धित बैंकमै खाता भएको हुनुपर्नेछ । यस्तै, नबिलले ६ महिनाको कारोबारको आधारमा ऋण दिने जनाएका छन् । एनएमबीले पुरानो ऋणी र तलबी खाता हुनेलाई मात्र ऋण दिने जनाएको छ । त्यस्तै, एनआइसी एशियाले भने पुरानो ऋण बाँकी भएकालाई फोनलोन नदिने बताएको छ ।

 

समस्याग्रस्त नेपाल सेयर मार्केट फाइनान्स संचालन हुँदै, संयोजकमा छानिए रोशनकुमार Read Previous

समस्याग्रस्त नेपाल सेयर मार्केट फाइनान्स संचालन हुँदै, संयोजकमा छानिए रोशनकुमार

'निजी क्षेत्रले सिफारिस गरेको औषधि राज्यले समयमै नदिँदा अर्थतन्त्र थलियो' Read Next

'निजी क्षेत्रले सिफारिस गरेको औषधि राज्यले समयमै नदिँदा अर्थतन्त्र थलियो'