
काठमाडौं । एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंक बीच सेयर बजारको लिडर (मूल्यका आधारमा)बन्ने तीव्र दौडमा छन् । विदेशी लगानी रहेका दुवै बैंक बीच सबैभन्दा महँगो सेयर मूल्य हुने वाणिज्य बैंक बन्न तीव्र होडबाजी देखिएको हो ।
पछिल्लो समय यी दुवै बैंकले सेयर मूल्यका आधारमा बैंकिङ ‘लिडर’ नबिल (व्यवसायका आधारमा) र एनआइसी एशियालाई पछि पारेका छन् । एक अर्कामा कहिले एभरेष्ट त कहिले चार्टर्ड अघि हुँदै आएका छन् । आइतबारको अन्तिम कारोबार मूल्यका आधारमा भने स्ट्याण्डर्ड चार्टर्ड अघि रहेको छ । चार्टर्डको सेयर मूल्य प्रतिकित्ता ५४० रुपैयाँ छ भने एभरेष्टको ५३७.८० रुपैयाँ छ ।
नेपाल राष्ट्र बैंकले एक दशक अघि पूँजी वृद्धिको नीति लिएर ४ गुणासम्म पूँजी बढाउन लगाएपछि यी बैंक खच्किएका थिए । तर, पछिल्लो २/३ वर्षदेखि फेरि आफूलाई पुरानै लयमा फर्काएका छन् । अर्थात् आफूलाई पूँजी वृद्धि अघिकै जस्तो बलियो र अब्बल बनाउँदै लगेका छन् । तुलनात्मक रुपमा पूँजी आकारमा साना भए पनि यी बैंकको प्रगति लोभलाग्दो छ । थोरै पूँजीमा पनि राम्रो व्यवसायिक ग्रोथ गरेका छन् । पूँजी आकारमा दोब्बर ठूला बैंकलाई पछि पारेका छन् ।
प्रतिकूल अवस्थामा पनि यी बैंकले लगानीकर्तालाई निरन्तर प्रतिफल दिँदै आएका छन् । पूँजी वृद्धि अघि बम्पर लाभांश दिँदै आएका यी बैंकहरूले पूँजी वृद्धिपछि भने लाभांशदर ह्वात्तै घटेको थियो । तर, अहिले यी दुवै बैंक सर्वाधिक लाभांश दिने बैंक बन्न थालिसकेका छन् । समीक्षा अवधिमा धेरै लाभांश क्षमता पनि यिनै बैंकको छ । जसले सेयर लगानीकर्ताको आकर्षण बढ्दै गएको देखिन्छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा बैंकहरूले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन हेर्दा यी दुई बैंक अन्य बैंकभन्दा निकै बलिया देखिएका छन् । खुद नाफा, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी, जगेडा कोष, नेटवर्थ लगायत सूचकमा अरु बैंकभन्दा अब्बल छन् ।
थोरै पूँजीमा पनि लोभलाग्दो प्रगति गरेको र सेयर संख्या समेत थोरै भएकाले यी बैंकको सेयरप्रति लगानीकर्ताको आकर्षण बढ्दो छ । अरु बैंकको सेयर मूल्य घटिरहेका बेला यी बैंकको भने बढिरहेको छ । सेयर लगानीकर्ताको पहिलो रोजाइमा पर्न सफल यी दुई बैंक बीच चालु वर्षको पुस मसान्तसम्मको तथ्यांकको आधारमा यहाँ तुलना गरिएको छ ।
चुक्ता पूँजी : तुलनात्मक रुपमा एभरेष्ट र चार्टर्ड दुवै कम पूँजी हुने बैंकमा पर्दछन् । २० वटा वाणिज्य बैंकमध्ये चार्टर्ड सबैभन्दा कम चुक्ता पूँजी हुने बैंक हो भने एभरेष्ट चौथो थोरै पूँजी भएको बैंक हो ।
यी दुई मध्ये चुक्ता पूँजीका आधारमा एभरेष्ट बैंक अगाडि रहेको छ । पुस मसान्तसम्म एभरेष्टको चुक्ता ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ छ भने चार्टर्डको ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ छ । चार्टर्ड १० अर्बभन्दा कम चुक्ता पूँजी हुने एक मात्र वाणिज्य बैंक समेत हो ।
जगेडा कोष : जगेडा कोषका आधारमा दुवै बैंक बलियो स्थितिमा छन् । दुवैको जगेडा कोषको आकार चुक्ता पूँजीकै हाराहारीमा छ । तर, यी दुई मध्ये एभरेष्ट बलियो छ । एभरेष्टको रिजर्भ एण्ड सरप्लसमा कुल १३ अर्ब ८५ करोड रुपैयाँ संचित छ । जसमा जगेडा कोषमा ११ अर्ब ४२ करोड, सेयर प्रिमियम कोषमा २ करोड ३४ लाख र रिटेन्ड अर्निङमा २ अर्ब ४० करोड रुपैयाँ छ ।
त्यस्तै, चार्टर्डको कुल जगेडा कोषको आकार ११ अर्ब ११ करोड रुपैयाँको छ । जसमा जगेडा कोषमा ८ अर्ब ८२ करोड र रिटेन्ड अर्निङमा १ अर्ब १३ करोड रुपैयाँ संचित छ ।
खुद नाफा : खुद नाफामा भने स्ट्याण्डर्ड चार्टड थोरैले अघि देखिएको छ । चालु वर्षको पुस मसान्तसम्म चार्टर्डले १ अर्ब ७२ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सोही अवधिमा एभरेष्टले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । चुक्ता पूँजी, निक्षेप, कर्जा, लगायत सूचकमा एभरेष्ट अगाडि रहे पनि समीक्षा अवधिमा चार्टर्डको भन्दा १ करोड ३३ लाख रुपैयाँ कम नाफा कमाएको छ ।
निक्षेप र कर्जा लगानी : व्यवसायमा एभरेष्ट चार्टर्डभन्दा निकै अगाडि रहेको छ । पुससम्म एभरेष्ट बैंकले कुल २ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यो चार्टर्डको भन्दा झन्डै १ खर्ब रुपैयाँ बढी हो । सोही अवधिमा चार्टर्डको कुल निक्षेप १ खर्ब १५ अर्ब रुपैयाँ मात्र छ ।
कर्जा लगानीमा पनि एभरेष्ट निकै अगाडि छ । समीक्षा अवधिमा एभरेष्टले १ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने चार्टर्डले ७७ अर्ब ६४ करोड ऋण लगानी गरेको छ । यो वाणिज्य बैंकहरूमा सबैभन्दा कम हो । चार्टर्ड बाहेक अरु सबै बैंकको कर्जा लगानी १ खर्ब बढी छ ।
वितरण योग्य नाफा : सेयरधनीललाई दिन सक्ने लाभांश क्षमतामा दुवै बैंक उस्तै छन् । पुससम्म एभरेष्टको वितरण योग्य नाफा २ अर्ब ४० करोड रुपैयाँ छ । जसबाट साढे २० प्रतिशत लाभांश दिनसक्छ । त्यस्तै, यस अवधिमा चार्टर्डको वितरण योग्य नाफा १ अर्ब ९४ करोड रुपैयाँ छ । जसबाट २१ प्रतिशत लाभांश बाँड्न सक्छ । पुससम्मको तथ्यांकका आधारमा १ दर्जन बैंकले लाभांश बाँड्न नसक्ने अवस्था छ । तर, यी बैंक भने तुलनात्मक रुपमा बलिया देखिएका छन् ।
प्रतिसेयर आम्दानी : सेयर लगानीकर्ताले प्राथमिकताका साथ हेर्ने प्रतिसेयर आम्दानीमा चार्टर्ड अघि रहेको छ । चार्टर्डको प्रतिसेयर आम्दानी ३६.६२ रुपैयाँ रहेको छ । यो वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै हो । प्रतिसेयर आम्दानीमा चार्टर्डले एभरेष्टलाई ७ रुपैयाँले पछि पारेको छ । समीक्षा अवधिमा एभरेष्टको प्रतिसेयर आम्दानी २९.१२ रुपैयाँ छ । एभरेष्ट दोस्रो धेरै ईपीएस हुने बैंक हो ।
प्रतिसेयर नेटवर्थ : प्रतिसेयर नेटवर्थमा एभरेष्ट अगाडि छ । समीक्षा अवधिमा एभरेष्टको प्रतिसेयर नेटवर्थ २१९.५७ रुपैयाँ छ भने चार्टर्डको २०५.५८ रुपैयाँ छ । नेटवर्थका आधारमा यी दुवै बैंक शीर्ष पाँच भित्र पर्दछन् ।
बेसरेट : आधारदर चार्टर्डको सस्तो रहेको छ । एभरेष्टले भन्दा चार्टर्डले सस्तोमा ऋण दिन सक्छ । समीक्षा अवधिमा चार्डको बेसरेट सबैभन्दा कम ७.५६ प्रतिशत छ भने एभरेष्टको ८.६९ प्रतिशत छ । यद्यपि, दुवै बैंक सस्तो बेसरेट भएका बैंकमा पर्दछन् ।
खराब कर्जा : ऋण असुलीमा एभरेष्ट बैंक अब्बल देखिएको छ । समीक्षा अवधिमा एभरेष्टको खराब कर्जा ०.७७ प्रतिशत मात्र छ । जुन २० वाणिज्य बैंक मध्ये सबैभन्दा कम हो । एभरेष्टको तुलनामा चार्टर्डको खराब कर्जा दोब्बर छ । पुससम्म चार्टर्डको खराब कर्जा १.६० प्रतिशत छ ।
कुन बैंकले गर्ला मार्केट लिड ?
पूँजी वृद्धि अघि स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य ९ हजार पुगेको थियो भने एभरेष्ट बैंकको ४ हजारसम्म पुगेको थियो । त्यसयता स्टक बजारमा ओरालो लागेको यी बैंकको सेयर मूल्य घटेर २ वर्ष अघि इतिहासकै कम मूल्यको रेकर्ड समेत बनाएके थियो । सो बेला यी बैंकको सेयर मूल्य प्रतिकित्ता ३५० रुपैयाँ हाराहारीमा आएको थियो ।
तर, पछिल्लो १ वर्ष यता यी बैंकको सेयर मूल्य उकालो लाग्न थालेको छ । यस अवधिमा यी बैंकको सेयर मूल्य औसतमा ३५ प्रतिशतले बढिसकेको छ भने दैनिक कारोबार पनि उत्साहजन छ ।
पछिल्लो समयको ट्रेन्ड हेर्दा चार्टर्ड र एभरेष्ट बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । ठूला पूँजी भएका बैंकका तुलनामा यी बैंकको प्रगति सन्तोषजनक र सेयर संख्या पनि कम भएकाले लगानीकर्ता आकर्षित भएको देखिन्छ ।
सेयर संख्या एभरेष्टकोभन्दा चार्टर्डको कम भए पनि अन्य सूचकमा एभरेष्ट अघि छ । चुक्ता पूँजी, निक्षेप, कर्जा, रिजर्भ कोष लगायत सूचकमा एभरेष्ट अघि छ भने खुद नाफा, प्रतिसेयर आम्दानी, कस्ष्ट अफ फण्ड, बेसरेट, सीडी रेसियो लगायत सूचकमा चार्टर्ड अघि छ । तुलनात्मक रुपमा दुवै बैंक बलिया भएकाले सेयर बजारमा कसले लिड गर्ला यसै भन्न सक्ने अवस्था छैन । त्यो भने भविष्यले नै देखाउने छ ।