काठमाडौं । ठेक्का सम्झौता अनुसार काम नगर्ने थप दुई दर्जन कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना जारी गर्दै ठेक्का लिएर काम अलपत्र पार्ने २२ कम्पनीलाई एकैपटक कालोसूचीमा राखेको जानकारी गराएको हो ।
कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ वर्षदेखि ३ वर्षका लागि कालोसूचीमा राखेको हो ।
कार्यालयका अनुसार लोहनी एण्ड ब्रदर्स, भरतपुर, जेके बिल्डर्स, कोहलपुर, शर्मिला निर्माण सेवा, कालिकोट र ओम गौरीशंकर इन्फास्ट्रक्चर, कीर्तिपुर ३ वर्षका लागि कालोसूचीमा परेका छन् ।
यसैगरी, सडक डिभिजन दमौलीको सिफारिसमा सुरेन्द्रराज रिजाल मुख्य व्यक्ति भएको देवी रमण कन्स्ट्रक्सन कम्पनीलाई साढे २ वर्ष कालोसूचीमा राखिएको छ ।
यस्तै, खड्गदेवी कन्स्ट्रक्स बन्दीपुर, गजुरमुखी निर्माण कम्पनी, इलाम, नव निर्माण बिल्डर्स प्रालि, जनकपुर, एसबीएम इन्जिनियरिङ एसोसियट्स, काठमाडौं २ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
श्री शिवालय बिल्डर्स, हेटौंडा, न्यू नेहा इन्टरप्राइजेज, काठमाडौं, एम/एस देहदबाबा निर्माण सेवा, धनगढी, श्री पाँचखाल कन्स्ट्रक्सन, नयाँ बानेश्वर डेढ वर्षका लागि कालोसूचीमा परेका छन् ।
कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।