काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयले आगामी वर्ष १० वटा खाद्य काेल्ड स्टोर निर्माण गर्ने भएको छ । कृषि उपज भण्डारण सेवा विस्तार गर्ने लक्ष्यका साथ सो योजना अघि सारिएको हो । आगामी वर्ष १० वटा कोल्ड स्टोर निर्माण र ४ वटा कृषि उपज भण्डारण घर निर्माण गर्ने कार्यक्रम प्रस्ताव गरिएको कृषिमन्त्री चक्रपाणी खनालले आज प्रतिनीधि सभामा बोल्दै बताएका हुन् ।
यस्तै मन्त्री खनालले कृषि अनुदान प्रवाहलाई थप प्रभावकारी बनाउन आगामी आर्थिक वर्षदेखि बैङ्किक प्रणाली मार्फत अनुदान वितरण गर्ने योजना ल्याएका छन् । आ.व. २०७५/७६ मा उखु प्रतिक्वीटल ६५.२८ रुपैयाँ अनुदान उखु किसानहरुलाई दिइदै आएकोमा आउदो आर्थिक वर्षका लागि १ अर्ब बजेट अनुदान छुट्याइएको मन्त्रालयले जानकारी दिएको छ ।
आगामी आवमा कृषि बाली बिमा तर्फ ९ करोड र पशुपन्छी बिमा तर्फ ३२ करोड विनियोजन गरिएको छ । यस कार्यक्रम मार्फत ७५ हजार कृषक लाभान्वित हुने अनुमान गरिएको छ । किसानलाई रासायनिक मल अनुदानमा उपलब्ध गराउनका लागि ९ अर्व बजेट छुट्याइएको छ । मल आपुर्ति तथा वितरणमा सहजताको लागि २० हजार मेट्रीक टन क्षमताको गोदाम घर निर्माणका लागि बजेट विनियोजन भएको छ ।
बिरगञ्ज १० हजार मेट्रिक टन, बिराटनगरमा छ हजार मेट्रिक टन र भैरहवामा छ हजार मेट्रिक टन क्षमताको गोदाम बनाइने योजना रहेकोे छ । साथै मलको प्रभावकारी प्रयोगको लागि मल ब्लेन्डिङ्ग कारखाना स्थापनामा समेत बजेट विनियोजन गरिएको छ ।