बैंकको बेसरेट २ वर्ष यताकै सस्तो, साढे ६ प्रतिशतसम्म झर्‍यो, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरूको आधारदर (बेसरेट) २ वर्ष याताकै सस्तो भएको छ । कर्जाको माग नहुँदा बैंकहरूले चालु वर्षको कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई बेसरेट २ वर्ष यताकै सस्तो भएको हो ।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार औसत बेसरेट ८.६१ प्रतिशतमा झरेको छ । यो २०७८ चैत यताकै सस्तो हो ।

२०७९ पुसदेखि बैंकहरूको बेसरेट घट्न थालेको थियो । त्यसयता बैंकको बेसरेट औसतमा २.१७ प्रतिशत विन्दुले घटेको छ । २०७९ पुसमा बैंकहरूको औसत बेसरेट ४ वर्ष यताकै उच्च १०.७८ प्रतिशत पुगेको थियो भने केही बैंकको १२ प्रतिशतसम्म पुगेको थियो ।

बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) थुप्रिएपछि बैंकहरूले ६ महिना यता महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । आर्थिक शिथिलताका कारण कर्जाको माग नबढेपछि बैंकहरूले लगातार निक्षेपको ब्याज घटाउँदा ब्याज खर्च कटौती हुन गई बेसरेट सस्तिएको हो । बेसरेट घट्दै गएसँगै कर्जाको ब्याजदर पनि सस्तिँदै गएको हो ।

पछिल्लो ६ महिनाको अवधिमै बैंकहरूले निक्षेपको ब्याजदर साढे ४ प्रतिशतसम्म घटाएका छन् भने औसतमै साढे २ प्रतिशतले घटेको छ । जसको सकारात्मक प्रभाव बेसरेटमा देखिएको हो ।

बैंकिङ प्रणलीमा तरलता अभाव हुँदै गएपछि बैंकहरूले निक्षेपको ब्याज बढाउँदा २०७८ असारदेखि बेसरेट महँगिँदै गएको थियो । सो बेला औसतमा ६.८९ प्रतिशत रहेको बेसरेट २०७९ पुसमा बढेर १०.७८ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बेसरेट अहिले एकल अंकमा आइपुगेको हो ।

विगतमा तरलता अभावका कारण बैंकहरूले निक्षेपको ब्याजदर नै १२ प्रतिशतसम्म पुर्याएका थिए । जसकारण बैंकहरूको औसत बेसरेट नै दोहोरो अंकका पुगेको थियो । तर, चालु आव सुरू भएदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ । अहिले बैंकमा करिब साढे ५ खर्ब बढी पैसा थुप्रिएको छ । एकोहोरो निक्षेप बढिरहने तर कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् ।

साथै, नेपाल राष्ट्र बैंकले समेत नीतिगत दरहरू घटाउँदा बैंकहरूलाई ब्याजदर घटाउन सहयोग पुगेको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंकदर ७.५ प्रतिशतबाट ७ प्रतिशत, नीतिगत दर ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दर ४.५ प्रतिशतबाट ३ प्रतिशतमा झारेको थियो ।

बैंकहरूले आफ्नो लागत अनुसार आधारदर तय गर्छन् । आधारदरमा आएको फेरबदल अनुसार कर्जाको ब्याजदर पनि फरक पर्छ । विगतमा १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले अधिकतम १३/१४ प्रतिशतमा झरेको छ ।

केही बैंकले अहिले नै बार्गेनिङ गर्न सक्ने ग्राहकलाई एकल अंकको ब्याजदरमा कर्जा दिन थालिसकेका छन् । बेसरेट कम भएका बैंकहरूले न्यून प्रिमियम जोडेर करिब १० प्रतिशतभन्दा कममै ऋण दिन थालेका छन् । ९ प्रतिशत भन्दा कम बेसरेट भएका बैंकले चाहे भने १ प्रतिशत मात्रै प्रिमियम जोडर एकल अंकको ब्याजदरमै ऋण दिन सक्छन् । यद्यपि, ९ प्रतिशत माथि भएका ५ बैंकले भने चाहेर पनि एकल अंकमा ऋण दिन सक्दैनन ।

चार्टर्डबाट पाइन्छ सबैभन्दा सस्तोमा ऋण

बैंकहरूले बेसरेटमा प्रिमियम जोडेर कर्जा लगानी गर्छन् । कर्जाको ब्याजदर बेसरेटले फरक पार्छ । तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।

अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् । यद्यपि, ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ ।

वाणिज्य बैंकको बेसरेट साढे ६ प्रतिशतसम्म झरेको छ । चैतसम्म विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंकको बेसरेट ६.५३ प्रतिशतमा झरेको छ । यो हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो हो । बैंकले बेसरेटमा ५ प्रतिशत प्रिमियम जोडर पनि अधिकतम् साढे ११ प्रतिशतमै ऋण दिन सक्छ ।

तुलनात्मक रूपमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य र नेपाल बैंकले पनि सस्तोमा ऋण दिन्छन् । यी बैंकको बेसरेट ८ प्रतिशतभन्दा कम रहेको छ । चैतसम्म राष्ट्रिय वाणिज्यको बेसरेट ७.३१ प्रतिशत र नेपालको ७.९९ प्रतिशत मात्र छ ।

यस्तै, आधा दर्जन बैंकको बेसरेट साढे ८ प्रतिशतभन्दा कम छ । एभरेष्ट, सानिमा, नबिल, सिद्धार्थ र प्रभु बैंकको बेसरेट साढे ८ प्रतिशतभन्दा कम छ । यी बैंकहरू पनि तुलनात्मक रूपमा सस्तो ब्याजमा ऋण दिने बैंकमा पर्छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि, ग्लोबल आइएमई, एनआइसी एशिया, नेपाल एसबीआइ, माछापुच्छ्रे र सिटिजन्स बैंकको बेसरेट ८.५ देखि ९ प्रतिशतको बीचमा छ ।

चैतसम्म ५ बैंकको बेसरेट भने ९ प्रतिशत माथि छ । लक्ष्मी सनराइज, एनएमबी, प्राइम कमर्शियल, हिमालयन र कुमाराी महँगो बेसरेट भएका बैंकमा पर्छन् । जसमा कुमारीको सबैभन्दा धेरै ९.६३ प्रतिशत रहेको छ ।

त्यस्तै, लक्ष्मीको बेसरेट ९.१२ प्रतिशत, एनएमबी ९.१५ प्रतिशत, प्राइम ९.२७ र हिमालयनको ९.४८ प्रतिशत रहेको छ । यी बैंकबाट ऋण लिँदा अधिकतम् साढे १४ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ ।

सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षणको अनुमति Read Previous

सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षणको अनुमति

पप्पु कन्स्ट्रक्सनसहित एकैपटक ३४ कम्पनी कालोसूचीमा Read Next

पप्पु कन्स्ट्रक्सनसहित एकैपटक ३४ कम्पनी कालोसूचीमा