काठमाडौं । लागतका हिसाबले काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक) नेपालकै सबैभन्दा ठूलो पूर्वाधार आयोजना हो । यसको संशोधित अनुमानित लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ । यो हाल नेपालमा निर्माणाधीन कुनै पनि पूर्वाधार आयोजनामध्ये सबैभन्दा धेरै लागत हो ।
राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाकको संशोधित कुल लम्बाइ ७०.९७७ किलोमिटर छ । जसमा कुल १२.८८५ किलोमिटर लामो सानाठूला गरी ८९ पुल बन्ने छन् । त्यस्तै, कुल १०.०५५ किलोमिटरका ६ वटा सुरुङमार्ग निर्माण हुँदैछन् । फास्ट ट्रयाकमा पुल र सुरुङ मात्रै २२.९४० किलोमिटर रहेको छ भने सडकडको भाग ४८.०३७ किलोमिटर रहेको छ ।
आयोजना अन्तर्गत ठूला अग्ला पुल, सुरुङ जस्ता विशेष संरचना निर्माण भइरहेका छन् । जसमा उच्च गुणस्तरीय निर्माण सामग्री प्रयोग हुन्छ । सबैमा कौतुहलता हुनसक्छ देशकै ठूलो आयोजना फास्ट ट्रयाकमा प्रगोग हुने उच्च गुणस्तरका निर्माण सामग्री कहाँबाट ल्याइन्छ ?, कुन देशमा उत्पादित सिमेन्ट, छड प्रयोग हुन्छ ?
धेरैलाई पत्यार नलाग्न सक्छ । फास्ट ट्रयाक निर्माणमा नेपालमै उत्पादित सिमेन्ट र छड प्रयोग भइरहेको छ । आयोजनाको सुरुङ र ठूला पुल चिनियाँ कम्पनीले निर्माण गरिरहे पनि निर्माण सामग्री भने नेपालमै उत्पादन भएका प्रयोग गरेका छन् । नेपाल सिमेन्ट, डण्डी जस्ता निर्माण सामग्रीमा आत्मनिर्भर भइसकेको छ । नेपालमै उच्च गुणस्तरीय निर्माण सामग्री उत्पादन हुने भएकाले विदेशबाट आयात गर्नुपर्ने अवस्था नरहेको आयोजनाले जनाएको छ ।
नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले फास्ट ट्रयाक निर्माणमा स्वदेशी उद्योगले उत्पादन गरेको सिमेन्ट, डण्डी प्रयोग भइरहेका बताए । उनले कुनै एक निश्चित ब्राण्डभन्दा पनि आयोजनाले तोकेको मापदण्ड पूरा भएका सबै ब्राण्डका सिमेन्ट, डण्डी प्रयोग हुने गरेको बताए ।
उनले उक्त आयोजनाको डिजाइन भौगोलिक बनावट अनुसार गरिएको र सोही अनुसार निर्माण सामग्रीको गुणस्तर तोकिएको बताए । ‘हामीले सिमेन्ट र छडहरू सबै जाँचेर क्वालिफाइ गरेका हुन्छौँ, एउटै मात्र ब्राण्डको सिमेन्ट र रड राखिएको हुँदैन । क्वालिफाइ भएकामध्ये जसको गुणस्तर राम्रो हुन्छ उसको सामान प्रयोग हुन्छ,’ उनले चाणक्य पोष्टसँग भने ।
काठमाडौं–तराई/मधेस द्रुतमार्गमा निर्माणधीन सुरुङमार्ग ।
उनले ३ पटकसम्म गुणस्तर जाँचेर मात्र सुरुङ निर्माणमा सिमेन्ट र रड प्रयोग हुने गरेको बताए । उनले एउटा सामानको गुणस्तर परीक्षण ३ पटकसम्म गरेर मात्र प्रयोग गर्ने गरेको बताए ।
‘हामीले ५/६ वटा ब्राण्डका सामान सेलेक्ट गर्छौं, अनि उद्योगमै गएर पनि गुणस्तर जाँच गरिन्छ । त्यसपछि फेरि यता ल्याएर जाँच गरिन्छ । चिनियाँ (निर्माण कम्पनी)प्रयोग गर्नु अघि फेरि आफै गुणस्तर जाँच गर्छन्, अनि मात्र प्रयोग हुन्छ,’ भण्डारीले भने ।
आयोजनामा अम्बे, जगदम्बा लगायत ब्राण्डमा डण्डी प्रयोग भइरहको छ । त्यस्तै, जगदम्बा, शिवम् लगायत ब्राण्डका सिमेन्ट प्रयोग भइरहेको उनले जानकारी दिए ।
निर्माण कम्पनीले तोकेको गुणस्तर पुगेका निर्माण सामग्री मात्रै प्रयोग गर्ने उनले बताए । निर्माण व्यवसायीका अनुसार हाल आयोजनामा फ्यान, टावर, क्रेन, कम्प्रेसर लगायत उपकरण विदेशबाट ल्याइएको भए पनि अन्य निर्माण उपकरण/सामग्री सबै नेपालमै उत्पादित प्रयोग भइरहेको छ । एकीन तथ्यांक नभए पनि आयोजनामा लाखौं घनमिटर सिमेन्ट र लाखौं केजी डण्डी तथा फलाम प्रयोग हुन्छ ।
सुरुङ र पुल निर्माणले गति लिँदै
आयोजना अन्तर्गत सुरुङ र पुल निर्माणले गति लिएको छ । आयोजना अन्तर्गत हाल ३ वटा सुरुङमार्ग निर्माण भइरहेको छ भने थप ३ वटा निर्माणका लागि ठेक्का आह्वान गरिएको छ ।
फास्ट ट्रयाकको धेद्रे, लेनडाँडा र महादेवटारमा अहिले धमाधम सुरुङ खन्ने काम भइरहेको छ । जसमा महादेवटारमा ३.४ किलोमिटर लामो सुरुङ खन्नुपर्नेमा हालसम्म १.४९० किलोमिटर सुरुङ खनिसकिएको उनले जानकारी दिए ।
त्यसैगरी, १.४३ किलोमिटर लामो लेनडाँडा सुरुङमार्गमध्ये हालसम्म ८५७ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । धेद्रेमा १.६३ किलोमिटर लामो सुरुङ खन्नुपर्नेमा ८०६ मिटर खन्ने काम सकिएको उनले बताए । निर्माणाधीन ३ वटा सुरुङमध्ये लेनडाँडा र धेद्रे सुरुङ सन् २०२४ को अप्रिल अन्तिम (चैत/वैशाख)सम्म ब्रेक थ्रु हुने सूचना अधिकारी भण्डारीले बताए ।
फास्ट ट्रयाकको धेद्रे र लेनडाँडा सुरुङलाई जोड्ने ८२ मिटर उचाइको निर्माणाधीन पुल ।
त्यस्तै, आयोजना अन्तर्गत पुल निर्माणले पनि गति लिएको छ । ८९ पुलमध्ये हालसम्म ४५ वटा पुलको डिजाइन सम्पन्न भइसकेको छ भने अन्य पुल डिजाइनको काम धमाधम भइरहेका उनले भण्डारीले जानकारी दिए । ८९ वटा पुलका लागि १ हजार ७६८ वटा पाइल बनाउनुपर्नेमा हालसम्म १ हजार १७५ वटा पाइल निर्माण पूरा भएको उनले बताए ।
आयोजना अन्तर्गत देवीचौर, सिसौटार र चन्द्राम भीरमा थप ३ वटा सुरुङ निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ । देवीचौरमा १ किलोमिटर, सिसौटारमा ०.३९ किलोमिटर र चन्द्राम भीरमा २.२५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।
आयोजनाको हालसम्म एकचौथाई काम सकिएको छ । आर्थिक वर्ष २०७४/७५ देखि निर्माण सुरु गरिएको यस आयोजनाको २७ प्रतिशत भौतिक प्रगति भएको छ । २०८१ भित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तोकिएकै सममा काम सम्पन्न नहुने भएपछि हालै म्याद थपिएको छ । थपिएको म्याद अनुसार अब २०८३ सम्म सम्पन्न गर्नुपर्नेछ ।
ललितपुरको खोकनाबाट सुरु भई काठमाडौं, मकवानपुर हुँदै बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिनेछ । चालु आर्थिक वर्षमा यस आयोजनालाई २२ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।