जमराको जुस पिउनु स्वास्थ्यका लागि फाइदाजनक कि हानिकारक ?

काठमाडौं । दशैंमा टीका लगाउँदा अक्षतासँगै जमरा पनि लगाइन्छ । जमरा जौं, मकै, गँहूलाई उमारेर बनाइन्छ । घटस्थापनाको दिने बालुवा तथा माटोमा जमरा रोप्ने गरिन्छ । ९ दिनसम्म राखेर उक्त जमरालाई विजया दशमीको दिन टीकासँगै जमरा लगाइन्छ ।

दशैंमा लगाउने जमरा पछिल्लो समय जुस बनाएर खाने चलन बढ्दै गएको छ । काठमाडौं उपत्यकामा दर्जनौं जमराको जुस बेच्ने पसल रहेका छन् भने जमराको जुसको व्यापार बढ्दो क्रममा रहको व्यापारीहरू बताउँछन् ।

खाद्य पदार्थको हिसाबले पनि निकै पौष्टिक मानिने जौलाई संस्कृतमा यव भनिन्छ । यसमा औषधिको गुण पनि पाइन्छ । वैदिक ग्रन्थमा जौलाई रोग हटाउने, बल र प्राणलाई पुष्ट पार्ने वस्तुको रूपमा लिइएको छ ।

गहुँ र जौको जमरा उमारेर त्यसको रस पिउँदा स्वास्थ्यमा समेत निकै लाभ मिल्ने बताइँदै आएको छ । यस पाइने पोषकतत्व मध्य क्लोरोफिल धेरै हुन्छ । जस कारण प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्स गहुँको जमरामा पाइने यसका बिक्रेताहरू बताउँछन् । यद्यपि, अहिलेसम्म जमरा खाँदा के के फाइदा हुन्छ भन्ने वैज्ञानिक अध्ययन, अनुसन्धान भइ प्रमाणित भएको छैन ।

भक्तपुरकी सबिता राई वर्षौंदेखि काठमाडौंका. पशुपतीमा जमराको जुस बेच्दै आएकी छन् । उनले गहु र जौँको जमराको जुस बिक्री गर्दै आएकी छन् । ६ दिनदेखि ९ दिनसम्मको जमरा विशेष गरी औषधिको रूपमा खाइने उनले बताइन् ।

‘जमरा एकपटक प्रयोग गरेपछि फेरि त्यसबाटै उम्रेको जमरा खान मिल्दैन,’ राइले चाणक्य पोष्टसँग भनिन् । जमराको जुसको मूल्य प्रतिकप ७० रुपैयाँ पर्ने उनले बताइन् । उनले दैनिक औसतमा ३० देखि ४० कप जमराको जुस बिक्री हुने बताइन् ।

गहुँको जमराको जुस सेवन गर्दा मुख तथा दाँत सम्बन्धी समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुने उनले बताइन् । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायी हुने भन्दै जमराको जुस पिउने गरेको उनी बताउँछिन् ।

यस्तै, पशुपतिमै जमराको जुस बेच्दै आएकी अर्की व्यापारी उमा कार्की जमराको जुसले स्वास्थ्यमा फाइदा पुर्याउने विश्वास रहेको बताउँछिन् । रक्तचाप, मधुमेह एवं क्यान्सर जस्ता रोग भएका मानिसहरूले ७ वा ९ दिनसम्म राखेको गहुँको जमराको जुस सेवन गर्दा धेरै फाइदा पुग्ने विश्वास रहेको उनको भनाइ छ । विहान मर्निङ वाक गरेपछि धेरै मानिस जुस पिउन आउने गरेको उनले बताइन् । पशुपतिमा मात्र ४ जनाले जमराको जुस बिक्री गर्दै आएका छन् ।

जमराको जुस पिउनु कति फाइदाजनक ?

आम मानिसले परम्परागत मान्यता र आयुवेर्दिक हिसाबका आधारमा जमराको जुुस पिउँदै आएका छन् । धेरै जसोले जमराको जुसले फाइदा हुने बताउँदै आएका छन् भने केहीले हानी समेत गर्ने बताउँछन् । वैज्ञानिक रुपमा आजसम्म जमराको जुसका फाइदा बारे अध्ययन भइ कुनै तथ्य प्रमाणित भएको छैन ।

मेडिकल साइन्सले पनि जमराको जुसको फाइदाहरू प्रमाणित गरेको छैन । किष्ट मेडिकल कलेज एण्ड हस्पिटलकी डाइटिसियन रेना श्रेष्ठ अवालले जमराको जुस खानु राम्रो भनिए पनि हालसम्म यसको विषयमा कुनै अध्ययन नभएको बताउँछिन् ।

उनले कुनै तथ्यांक र अध्ययन बिना अनुमानको भरमा जमराको जुस खानु स्वस्थकर नहुने बताइन् । ‘जमराको जुस त्यति स्वस्थकर छैन, यसमा अहिलेसम्म अध्ययन पनि भएको छैन र कुतै तथ्यांक पनि छैन, अरुको भनाइको भरमा त्यतिकै यो खानु राम्रो हैन,’ डाक्टर अवालले चाणक्य पोष्टसँग भनिन् ।

कसरी बनाइन्छ जमराको जुस ?

घरमै जौ र गहुँको जमराको जुस खान चाहानेले त्यसै चपाएर पनि खान सक्छन् । गहुँको जमराको जुस स्वादिलो हुने भएता पनि जौको भने अलि तीतो हुने गर्छ ।

जमराको जुस बनाउँदा ८/१० वटा गहुँ वा जौ अथवा दुवैलाई मिलाएर बनाउन सकिन्छ । जमरालाई काटेर राम्रोसँग धुने र त्यसपछि जमरालाई कुटेर वा पेलेर रस निकाल्ने । त्यसपछि सफा कपडामा राख्ने र निचोर्ने । र, जमराको जुसमा थोरै तुलसीको रस, मह, अदुवा र थोरै पानी मिसायर पिउन सकिने व्यापारी कार्की बताउँछिन् ।

जमराको जुस पिउँदा ख्याल भने गर्नुपर्ने उनी बताउँछिन् । जमराको जुस धेरै पिउन नहुने उनी बताउँछिन् । एकपटकमा ३० देखि ५० एमएमसम्म जुस पिउनसक्ने पिउँदा लाभदायी हुने उनको भनाइ छ । जमराको जुस दैनिक नभई हप्तामा ४/५ दिन पिउँदा राम्रो हुने उनको अनुभव छ ।

आज यी रुटमा निःशुल्क बस सेवा सञ्चालन Read Previous

आज यी रुटमा निःशुल्क बस सेवा सञ्चालन

दशैंको बिदामा घुम्न जाने हो ? यस्तो छ ठाउँ अनुसारको प्याकेज Read Next

दशैंको बिदामा घुम्न जाने हो ? यस्तो छ ठाउँ अनुसारको प्याकेज