काठमाडौं । दशैं एउटा संस्कृति मात्र नभएर आन्तरिक पर्यटक विकासको पनि महत्वपूर्ण आधार बन्दै गएको छ । पछिल्ला वर्षहरूमा नेपालीहरूमा चार्डवाड र बिदाको बेला घुमफिर गर्ने संस्कृति विकास हुँदै गएको छ । दशैंमा मासु, मदिरा खाएर, तास खेलेर बिताउनेभन्दा देशकै विभिन्न ठाउँहरू घुम्ने संस्कृति फस्टाउँदै गएको देखिन्छ ।
अन्य समयमा घुमफिर गर्न फुर्सद नपाउनेहरू दशैंको बिदाको सदुपयोग गर्दै देशका विभिन्न पर्यटकीय गन्तव्यहरूमा पुग्ने गरेका छन् । कतिपय त दशैंको बिदामा विदेश समेत जान थालेका छन् ।
वर्षभरी सहरको गुञ्जायास र कोलाहलबाट वाक्कदिक्क भएका सहरबासीहरू रिफ्रेस हुनको लागि सुन्दर गन्तव्य खोजिरहेका हुन्छन् । नेपालीको घुमफिर गर्ने समयलाई मध्येनजर गर्दै र आन्तरिक पर्यटनलाई चलायमान बनाउन ट्रेकिङ तथा ट्राभल एजेन्सीहरूले विभिन्न गन्तव्यको आकर्षक प्याकेज ल्याएका छन् ।
नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टका पूर्वाध्यक्ष अचुत शर्मा गुरागाईले व्यवसायीहरूले देशका प्रमुख पर्यटकीय गन्तव्यहरू रारा, तिलिचो, मनाङ, मुस्ताङ, बर्दिया नेश्नल पार्क, इलाम, पोखरा, सौराह, लाङटाङ, खप्तड, पाथिभरा, लुम्बिनी लगायत गन्तव्यका लागि प्याकेज ल्याएको बताए ।
उनले विगतको तुलनामा यस वर्ष प्याकेजको मूल्य केही बढेको बताए । सरकारले हवाई भाडामा भ्याट लगाएकाले प्याकेज केही महंगो भएको बताए । ‘यो पटक घुम्न जानेका लागि फ्लाइटमा अलि महंगो भएको छ, रोडमा पनि पेट्रोल महंगो भएकोले केही महंगो नै छ,’ उनले चाणक्य पोष्टसँग भने ।
पूर्वाध्यक्ष गुरागाईका अनुसार यस वर्ष ट्राभल एजेन्सीहरूले राराका लागि ४० हजारदेखि ७० हजारसम्मको प्याकेज ल्याएको बताए । सडकमार्ग हुँदै सुमोमा रारा जान चाहानेका लागि प्रतिव्यक्ति ४० हजार रुपैयाँ र जहाजमार्फत जानेका लागि ७५ हजार रुपैयाँसम्मको प्याकेज रहेको बताए । गत वर्ष रारा जान प्रतिव्यक्ति ३० हजार रुपैयाँदेखिका प्याकेज थिए ।
अधिकांश ट्राभल एजेन्सीले काठमाडौं–पोखरा–लुम्बिनी–चितवनमा ४ रात ५ दिनको ट्राभल प्याकेज ल्याएका छन् । उनीहरूले सो प्याकेजको २५ हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म तोकेका छन् । सेवा सुविधाका आधारमा महँगा प्याकेज पनि ल्याएका छन् ।
घुमघाम नेपाल ट्राभल एजेन्सीले दशैँमा मुक्तिनाथ, पाथीभरा र कालिन्चोक टुर प्याकेज ल्याएको छ । कम्पनीका सञ्चालक महेश श्रेष्ठका अनुसार पाथीभरा घुम्नका लागि प्रतिव्यक्ति १७ हजार ५०० रुपैयाँको ५ दिने प्याकेज ल्याइएको बताए । ५ सो रकममा खान, बस्न र यात्राको लागि सबै सुविधाहरू प्रदान गरिने उनले बताए ।
यस्तै, मुक्तिनाथ दर्शनका लागि ९ हजारको प्याकेज ल्याएको छ । बसमार्फत यात्रा गर्नेलाई उक्त प्याकेज ल्याइएको हो । कालिन्चोकका लागि भने ३ हजारदेखि ५ हजार रुपैयाँसम्मको प्याकेज रहेको छ । यो १ रात २ दिनको प्याकेज हो ।
यसैगरी, ह्यापी नेपाल टुरस् एण्ड ट्राभलले सिक्किम/दार्जलिङको ५ रात ६ दिनको प्याकेज ल्याएको छ । यो दशैँ र तिहारमा घुम्नको लागि प्रतिव्यक्त १५ हजार ५०० रुपैयाँदेखि २५ हजार रुपैयाँसम्ममा सवारी सुविधा अनुसारको प्याकेज तयार पारेको छ । मिनीबसमा जानेले प्रतिव्यक्ति १५ हजार ५०० रुपैयाँ, बसमा जानेले १७ हजार रुपैयाँ र स्कर्पियोमा जानेले २५ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
ट्राभल एजेन्सीहरूले अन्तर्राष्ट्रिय टुर प्याकेज समेत ल्याएका छन् । पूर्वाध्यक्ष गुरागाईंका अनुसार एजेन्सीहरूले भेतनाम, थाइल्यान्ड, चीन, हङकङ, दुबई, कम्बोडिया लगायतको टुर प्याकेज ल्याएका छन् ।
उनले भेतनाम र चाइना घुम्नका लागि ८ दिनको प्याकेज रहेको बताए । उक्त प्याकेजमा घुम्नका लागि १ लाख ७५ हजार रुपैयाँमा खान, बस्न र ट्राभलको खर्च समेटिएको छ । यस्तै, थाइल्याण्ड, भेतनाम र कम्बोडिया घुम्नका लागि ८ दिनको प्याकेजको १ लाख ५० हजार रुपैयाँको प्याकेज रहेको छ । यस्तै, ट्राभल एजेन्सीहरूले गन्तव्य अनुसारका विदेश टुर प्याकेज ल्याएका छन् ।