सर्वाधिक लाभांश क्षमता भएका दुई बैंक, कुनको सेयर किन्दा बढी फाइदा ?

काठमाडौं । अर्थतन्त्रमा आएको मन्दीका कारण अहिले बैंकिङ व्यवसाय प्रभावित बनेको छ । बैंकहरूले निक्षेप बढाए पनि माग नहुँदा कर्जा विस्तार गर्न सकेका छैन । व्यवसाय विस्तार गर्न नसक्दा र विगतमा गरिएको कर्जा असुल्न नसक्दा अधिकांश बैंकहरूको नाफा घटेको छ । चैतसम्म १० बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ ।

अर्कोतर्फ कर्जा असुली हुन नसक्दा खराब कर्जा बढेको छ । चैतसम्म वाणिज्य बैंकहरूको खराब कर्जा औसतमा ३.६४ प्रतिशत पुगेको छ । समग्रमा अहिले बैंकिङ व्यवसाय खस्किएको अवस्था छ ।तर, प्रतिकूलताका बाबजूद केही बैंकले भने राम्रो प्रगति गरिरहेका छन् । ती मध्ये दुई बैंक हुन् विदेशी स्वामित्वका एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड ।

नेपाल राष्ट्र बैंकले एक दशक अघि पूँजी वृद्धिको नीति लिएर ४ गुणासम्म पूँजी बढाउन लगाएपछि यी बैंक खस्किएका थिए । तर, पछिल्लो २/३ वर्षदेखि फेरि आफूलाई पुरानै लयमा फर्काएका छन् । अर्थात् आफूलाई पूँजी वृद्धि अघिकै जस्तो बलियो र अब्बल बनाउँदै लगेका छन् । तुलनात्मक रूपमा पूँजी आकारमा साना भए पनि यी बैंकको प्रगति लोभलाग्दो छ । थोरै पूँजीमा पनि राम्रो व्यवसायिक ग्रोथ गरेका छन् । पूँजी आकारमा दोब्बर ठूला बैंकलाई पछि पारेका छन् ।

प्रतिकूल अवस्थामा पनि यी बैंकले लगानीकर्तालाई निरन्तर प्रतिफल दिँदै आएका छन् । पूँजी वृद्धि अघि बम्पर लाभांश दिँदै आएका यी बैंकहरूले पूँजी वृद्धिपछि भने लाभांशदर ह्वात्तै घटेको थियो । तर, अहिले यी दुवै बैंक सर्वाधिक लाभांश दिने बैंकमा पर्छन् । चैतसम्म वाणिज्य बैंकमध्ये यी बैंकको लाभांश क्षमता सबैभन्दा धेरै छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा बैंकहरूले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन हेर्दा यी दुई बैंक अन्य बैंकभन्दा निकै बलिया देखिएका छन् । खुद नाफा, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी, जगेडा कोष, नेटवर्थ लगायत सूचकमा अरू बैंकभन्दा अब्बल छन् ।

सेयर लगानीकर्ताको पहिलो रोजाइमा पर्न सफल यी दुई बैंक बीच चालु वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणका आधारमा यहाँ तुलना गरेका छौं ।

चुक्ता पूँजी : तुलनात्मक रूपमा एभरेष्ट र चार्टर्ड दुवै कम पूँजी हुने बैंकमा पर्दछन् । २० वटा वाणिज्य बैंकमध्ये चार्टर्ड सबैभन्दा कम चुक्ता पूँजी हुने बैंक हो भने एभरेष्ट चौथो थोरै पूँजी भएको बैंक हो ।

यी दुई मध्ये चुक्ता पूँजीका आधारमा एभरेष्ट बैंक अगाडि रहेको छ । चैत मसान्तसम्म एभरेष्टको चुक्ता ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ छ भने चार्टर्डको ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ छ । चार्टर्ड १० अर्बभन्दा कम चुक्ता पूँजी हुने एक मात्र वाणिज्य बैंक समेत हो ।

जगेडा कोष : जगेडा कोषका आधारमा दुवै बैंक बलियो स्थितिमा छन् । दुवैको कुल जगेडा कोषको आकार चुक्ताभन्दा धेरै छ । यी दुई मध्ये चाहिँ एभरेष्ट बलियो छ । एभरेष्टको रिजर्भ एण्ड सरप्लसमा कुल १४ अर्ब ९१ करोड रुपैयाँ संचित छ । जसमा जगेडा कोषमा ११ अर्ब ९२ करोड, सेयर प्रिमियम कोषमा २३ करोड ६४ लाख र रिटेन्ड अर्निङमा २ अर्ब ७५ करोड रुपैयाँ छ ।

त्यस्तै, चार्टर्डको कुल जगेडा कोषको आकार १० अर्ब २६ करोड रुपैयाँको छ । जसमा जगेडा कोषमा ८ अर्ब ४४ करोड र रिटेन्ड अर्निङमा १ अर्ब ८१ करोड रुपैयाँ संचित छ ।

खुद नाफा : खुद नाफा एभरेष्ट बैंकको धेरै छ । चालु वर्षको चैत मसान्तसम्म एभरेष्टले २ अर्ब ६० करोड  ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सोही अवधिमा चार्टर्डले २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको छ । समीक्षा अवधिमा एभरेष्टले चार्टर्डकोभन्दा १६ करोड १३ लाख रुपैयाँ धेरै नाफा कमाएको छ ।

निक्षेप र कर्जा लगानी : व्यवसायमा एभरेष्ट चार्टर्डभन्दा निकै अगाडि रहेको छ । चैतसम्म एभरेष्ट बैंकले कुल २ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यो चार्टर्डकोभन्दा १ खर्ब ४ अर्ब रुपैयाँ बढी हो । सोही अवधिमा चार्टर्डको कुल निक्षेप १ खर्ब १० अर्ब रुपैयाँ मात्र छ ।

कर्जा लगानीमा पनि एभरेष्ट निकै अगाडि छ । समीक्षा अवधिमा एभरेष्टले १ खर्ब ७८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने चार्टर्डले ७९ अर्ब २४ करोड ऋण लगानी गरेको छ । यो वाणिज्य बैंकहरूमा सबैभन्दा कम हो ।

वितरण योग्य नाफा : समीक्षा अवधिमा सेयरधनीललाई दिन सक्ने लाभांश क्षमता एभरेष्टको धेरै छ । चैतसम्म एभरेष्टको वितरण योग्य नाफा २ अर्ब ७५ करोड रुपैयाँ छ । जसबाट साढे २३ प्रतिशत लाभांश दिनसक्छ । त्यस्तै, यस अवधिमा चार्टर्डको वितरण योग्य नाफा १ अर्ब ८१ करोड रुपैयाँ छ । जसबाट १९ प्रतिशत लाभांश बाँड्न सक्छ । चैतसम्मको तथ्यांकका आधारमा १४ बैंक लाभांश बाँड्न नसक्ने अवस्था छ । तर, यी बैंक भने तुलनात्मक रूपमा बलिया देखिएका छन् ।

प्रतिसेयर आम्दानी : सेयर लगानीकर्ताले प्राथमिकताका साथ हेर्ने प्रतिसेयर आम्दानीमा चार्टर्ड अघि रहेको छ । चार्टर्डको प्रतिसेयर आम्दानी ३४.६ रुपैयाँ रहेको छ । यो वाणिज्य बैंकहरूमा सबैभन्दा धेरै हो । समीक्षा अवधिमा एभरेष्टको प्रतिसेयर आम्दानी २९.५५ रुपैयाँ छ । एभरेष्ट दोस्रो धेरै ईपीएस हुने बैंक हो ।

प्रतिसेयर नेटवर्थ : प्रतिसेयर नेटवर्थमा एभरेष्ट अगाडि छ । समीक्षा अवधिमा एभरेष्टको प्रतिसेयर नेटवर्थ २२६.७३ रुपैयाँ छ भने चार्टर्डको २०८.८५ रुपैयाँ छ ।

बेसरेट : आधारदर चार्टर्डको सस्तो रहेको छ । एभरेष्टले भन्दा चार्टर्डले सस्तोमा ऋण दिन सक्छ । समीक्षा अवधिमा चार्डको बेसरेट सबैभन्दा कम ६.५३ प्रतिशत छ । एभरेष्टको ८.१३ प्रतिशत छ ।

खराब कर्जा : ऋण असुलीमा एभरेष्ट बैंक अब्बल देखिएको छ । समीक्षा अवधिमा एभरेष्टको खराब कर्जा ०.७ प्रतिशत मात्र छ । जुन २० वाणिज्य बैंक मध्ये सबैभन्दा कम हो । एभरेष्टको तुलनामा चार्टर्डको खराब कर्जा तेब्बर छ । चैतसम्म चार्टर्डको खराब कर्जा २.१४ प्रतिशत छ ।

ठूला पूँजी भएका बैंकका तुलनामा यी बैंकको प्रगति सन्तोषजनक छ । सेयर संख्या एभरेष्टकोभन्दा चार्टर्डको कम भए पनि अन्य सूचकमा एभरेष्ट अघि छ । चुक्ता पूँजी, निक्षेप, कर्जा, रिजर्भ कोष लगायत सूचकमा एभरेष्ट अघि छ भने कष्ट अफ फण्ड, बेसरेट, सीडी रेसियो लगायत सूचकमा चार्टर्ड अघि छ ।

पछिल्लो समयको वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताको खासै आकर्षण देखिँदैन । तर, चार्टर्ड र एभरेष्ट बैंकको सेयरमा भने लगानीकर्ताको आकर्षण देखिन्छ । सेयर मूल्यका आधारमा यी दुई बैंक महँगो सेयर मूल्य हुने वाणिज्य बैंक हुन् । २० बैंक मध्ये यी दुईको मात्र सेयर मूल्य ५०० रुपैयाँ माथि  छ ।   चार्टर्डको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ५२१ रुपैयाँ र एभरेष्टको ५०५ रुपैयाँ छ ।

तुलनात्मक रूपमा दुवै बैंक बलिया र लगानीकर्ताको आकर्षण रहेकाले सेयर बजारमा कसले लिड गर्ला यसै भन्न सक्ने अवस्था छैन । त्यो भने भविष्यले नै देखाउने छ ।

नेपालमा 'ग्लोबल ग्रिन क्लाइमेट फण्ड'को कार्यक्रम लागू गरिने Read Previous

नेपालमा 'ग्लोबल ग्रिन क्लाइमेट फण्ड'को कार्यक्रम लागू गरिने

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई मन्त्रालयको आग्रह Read Next

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई मन्त्रालयको आग्रह