सरकारी जागिर छाडेर तरकारी खेतीमा, तरकारी बेचेरै करोडपति

अर्घाखाँची । ‘चालीस सालमा पाएको सरकारी जागिर छाडेर अन्न फल्ने यस्ता बारीमा तरकारी खेती गर्दा बुद्धि बिग्रेको मान्छे भनेर डाहा गर्थे । तर तरकारीबाट राम्रो आम्दानी भएको देखेपछि तिनै गाउँलेले मेरो देखासिकी गरेर तरकारी खेती र गाईपालनलाई मुख्य पेशा बनाएका छन ।’ यो भनाइ हो घोचेखोलाका कृषक गणेश बन्जाडेको ।

 

घोचेखोलाका बञ्जाडे अहिले जिल्लाकै एक नमूना कृषक बनेका छन् । सामान्य गरीब परिवारमा जन्मेका ५७ वर्षीय बञ्जाडे जेटिएको सरकारी जागीरसमेत छाडेर तरकारी खेतीमा लागे । अरुको दवावमा काम गर्नुपर्ने, पैसाका लागि महीना दिन कुर्नु पर्ने, चाहिएको बेला घर खर्च नचल्ने भएपछि उनमा जागीर छाडेर कुनै नयाँ काम गर्ने विचार पलायो ।

 

महीना पुगेपछि पाइने तलबको जागीर भन्दा उत्पादनमूलक अर्को पेशा उपयुक्त हुन्छ भन्ने उनलाई लाग्यो । त्यतिखेर थालेको तरकारी खेतीले उनलाई अहिले मासिक लाखौं रुपैयाँको प्रतिफल दिन्छ ।

 

उनी भन्छन् – गरेपछि जे काममा पनि सफलता मिल्छ । निरन्तरता काम गरिरहनुपर्छ । उनको खेत र बारीमा अहिले आलु, बन्दा, टमाटर लगायतका तरकारीहरु रोपिएका छन् । काँक्रा, घिरौंला, लौका, करेला उत्पादन हुने तयारीमा छन् । उनी दैनिक चारदेखि २० हजार रुपैयाँको तरकारी सन्धिखर्क बजारमा बेच्छन् ।

 

उनले अहिले २५ रोपनी बारीमा तरकारी खेती गरेका छन् । अन्न खेती गर्न छाडेर व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेतीमा लागेका उनी वर्षमा २० देखि २५ लाख रुपैयाँ आम्दानी गर्छन् ।

 

उनले गरेको देखासिकीबाट सिङ्गो गाउँ नै तरकारी खेतीमा लागेको छ । घोचेखोला, किमडाँडा र धरम्पानीमा उनको देखासिकी गरेर झण्डै १०० जनाले तरकारी खेती र गाईपालन गरिरहेका छन ।

 

शुरुमा घरकै बारीमा तरकारी खेती गर्न शुरु गरेका बञ्जाडे अहिले १२ करोड रुपैयाँ भन्दा बढी सम्पत्तिको मालिक बन्न सकेका छन् । घोचेखोलामा अहिले मौसमी तथा बेमौसमी तरकारी बार्हैमास उत्पादन हुन्छ ।

उनले काठमाडौंको कोटेश्वरमा ६ तला घर पनि बनाएका छन । सन्धिखर्क नगरपालिकाको १, २, ८ र १० वडामा घर, घडेरी र खेत किनेका छन् । उनले झण्डै ४० रोपनी जग्गा किने सके । उनका दुइ छोरा पनि तरकारी खेतीमै लागेका छन् ।

 

गाईभैंसीको गोबर मल भन्दा पिसाब सबैभन्दा उत्तम भएको पत्ता लगाएपछि उनले तरकारीको दोब्बर जस्तै उत्पादन लिन सकेका छन् । “पशुको पिसाब सङ्कलन गर्न ट्याङ्की बनाएर सङ्कलन गर्ने र त्यसलाई तरकारीका बोटमै बेलाबेला हालेपछि रासायनिक र गोबर मलको आवश्यक्ता पर्दैन,” उनले भने ।

 

यो स्वास्थ्यका लागि हानिकारक पनि हुँदैन । उनी अहिले सिङ्गो जिल्लालाई नै कृषिको नमूना जिल्ला भनेर चिनाउने अभियानमा लागेका छन् ।

 

गाउबाट रोजगारीका लागि विदेश जाने युवालाई तरकारी र जर्सी गाई पाल्न सुझाव दिएर उनले धेरैलाई विदेश जानबाट रोकेका छन् । “युवा विदेशमा गएर जस्तोसुकै कठोर काम गर्न पछि पर्दैनन्,” उनले भने – “तर, आफनै स्वदेशमा काम गर्न हिचकिच्याउँछन् ।”

क्षेत्रीय कृषि निर्देशनालय पोखराबाट २०७४/७५ को राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट उनी पुरस्कृत भइसकेका छन् । वि.सं. २०६८ मा विकास सेवा रत्न पदक तत्कालीन राष्ट्रपति डा. रामवरण यादवबाट पाएको उनले सुनाए । जिल्ला कृषि विकास कार्यालय र जिल्ला पशु सेवा कार्यलयबाट पनि उनले पुरस्कार पाइसकेका छन् ।

 

विगत स्मरण गर्दै उनले भने – म जागीरमै रहेको भए तलबले घरखर्च टार्नु बाहेक अरु केही हुने थिएन । माटोमै खेल्दा मेरो र गाउँलेको जीवनमा ठूलै परिवर्तन भएको छ । यसमा मलाई असाध्यै खुशी लागेको छ ।” सरकारले कृषि क्षेत्रलाई बेवास्ता गर्दा धेरै मुलुकका धेरै उत्पादनमूलक संभावनाहरु ओझेलमा परेको उनको अनुभव छ ।

 

तरकारी खेती गर्न गाउँका युवालाई उनले सिकाएका मात्र छैनन्, तरकारी खेतीको तालीम पनि दिइरहेका छन् । उनले घोचेखोला, किमडाँडा र धरमपानीमा पशु बिरामी भएमा घरघर गएर निःशुल्क उपचार गरिदिने गरेका छन् । पशुको उपचार गरेर उनी कुनै शुल्क लिँदैनन् । कसैले तरकारी खेती गर्न इच्छा गरे उनी झण्झट नमानी सिकाइदिन्छन् ।

 

जिल्ला कृषि समितिको सदस्य समेत रहेका उनी अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम ब्लकको अध्यक्ष बनेर डेढ वर्षदेखि काम गरिरहेका छन् ।

 

वर्षात्को समयमा उनले उत्पादन गरेको तरकारी दुई वर्ष अघि भारतको नयाँ दिल्लीसम्म पुगेको थियो । उनले भने – “पहाडका तरकारी पोषिलो र स्वादिलो हुन्छ भन्दै सीमानाकाका व्यापारी घरमै आए र मेलै उब्जाएका तरकारी दिल्ली पुग्यो । त्यो बेला मलाई असाध्यै खुशी लाग्यो ।”रासस

आर्थिक राजधानी बन्ने बाटोमा चितवन, अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण अन्तिम चरणमा (फोटोफिचर) Read Previous

आर्थिक राजधानी बन्ने बाटोमा चितवन, अत्याधुनिक प्रदर्शनी केन्द्र निर्माण अन्तिम चरणमा (फोटोफिचर)

हिमालयन बैंकलाई ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ अवार्ड Read Next

हिमालयन बैंकलाई ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ अवार्ड