पोखरामा नेपालको चौथो केबलकार संचालनमा, कहाँको चढ्न कति लाग्छ शुल्क ?

काठमाडौं । नेपालमा आन्तिरक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न पर्यटन पूर्वाधार निर्माण हुने क्रम बढ्दो छ । अन्तर्राट्रिय स्तरका होटलदेखि साहसिक तथा मनोरञ्जनात्मक पर्यटन पूर्वाधार निर्माण हुने क्रम बढेको हो ।

 

पछिल्लो समय केबलकार, बञ्जीजम्प, स्काइ साइक्लिङ, जीपलाइन, रक क्लाइमिङ जस्ता पूर्वाधारहरू धमाधम निर्माण हुन थालेका छन् । पर्यटकीय गन्तव्यहरू पूर्वाधार निर्माण गर्दा पर्यटकलाई सहज र सुविधा दिनुका साथै थप पर्यटक समेत भित्रिने हुनाले व्यवसायीहरूले पूर्वाधारमा लगानी गरिरहेका हुन् ।

 

यसैबीच, आजदेखि नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखरामा नेपालको चौथो केबलकार संचालनमा आउने भएको छ । अन्नपूर्ण केबलकार प्रालिले २ अर्ब लगानीमा शुक्रबारदेखि फेवाताल किनारबाट सराङकोटडाँडासम्म केबलकार व्यवसायिक रूपमा संचालनमा ल्याउन लागेको हो ।

 

आगामी नयाँ वर्ष (वैशाख १ गते)मा ‘ग्राण्ड लञ्चिङ’ गर्ने र हालका लागि ‘सफ्ट लञ्चिङ’मार्फत बिहान १० बजेदेखि साँझ ४ बजेसम्म केबलकार संचालन हुने अन्नपूर्ण केबलकारले जनाएको छ ।

 

२ हजार २६५ मिटर लामा यो केबलकारको तल्लो स्टेशन समुद्र सतहदेखि ८२४ मिटरमा रहेकामा माथिल्लो स्टेशन १ हजार ४६५ मिटर रहेको छ । अहिले फेवातालबाट सराङकोट जान गाडीमा करिब ३५ देखि ४५ मिनेट समय लाग्ने गरेको छ भने केबलकारमा अब झण्डै ९ मिनेटमा पुग्न सकिने केबलकारका संञ्चालक तीर्थराज त्रिपाठीले बताए ।

 

उनले विदेशी तथा विदेशी पर्यटकहरूको गन्तव्य मानिने पोखरामा अन्नपूर्ण केबलकारको संञ्चालनमा आउने भएसँगै पर्यटनको एउटा नयाँ ‘ब्राण्ड’ थपिएको बताए । ‘अङ्ग्रेजी नयाँ वर्षदेखि व्यावसायिक सञ्चालनको योजना थियो । तर, प्राविधिक समस्याका कारण ढिला भएर संञ्चालनमा आए पनि पोखराको पर्यटन विकासमा थप टेवा पुग्छ,’ उनले भने ।

 

कम्पनीका अनुसार उक्त केबलकार चढेको शुल्क नेपालीले ७०० रुपैयाँ, सार्क राष्ट्रका पर्यटकका लागि ८०० र तेस्रो मुलुकका नागरिकका लागि ९ डलर भाडादर तोकिएको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

काठमाडौंबाट सडक मार्गहुँदै करिब ६ घण्टा र हवाइ जहाँज हुँदै आधा घण्टाको समयमा पोखरा पुग्न सकिन्छ । प्राकृति सुन्दरताले भरिएको पोखरामा पर्यटकको रोजाइमा पर्ने गरेको छ । पर्यटकहरूले केबलकारबाट ताल र हिमाल हेर्दै सूर्योदय र सूर्यास्तसहित दृश्यावलोकन गर्न सक्छन् ।

 

नेपालमा अरू कुन कुन ठाउँमा संचालनमा छन् केबलकार ?

 

व्यवसायिक रूपमा संचालनमा आएको अन्नपूर्ण नेपालको चौथो केबलकार हो । यसअघि गोरखाको मनकामना, काठमाडौंको चन्द्रागिरि र दोलखाको कालिञ्चोकमा व्यावसायिक रूपमा केबलकार संचालनमा आएको थियो ।

 

मनकामना केबलकार : विं.सं २०५५ मंसिरदेखि संञ्चालनमा आएको मनकामना नेपालकै पहिलो केबलकार व्यवसाय हो । चितवनको कुरिन्टारदेखि गोरखाको मनकामना मन्दिरसम्म चल्ने यो केबलकारको लम्बाई ३ किलोमिटर रहेको छ ।

 

यस केबलकारको तल्लो स्टेसनको उचाइ समुद्री सतहदेखि २५८ र माथिल्लो स्टेसनको उचाइ १३०२ मिटर रहेको छ । मनकामना दर्शन प्राणालीले संञ्चालन गरेको यस केबलकार चढ्नका साथै मनकामना मन्दिर दर्शन गर्न वर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरू जाने गरेका छन् ।

 

काठमाडौंबाट नागढुङगा, धार्दिङ हुँदै सडक मार्गबाट करिब ३ घण्टामा उक्त स्थानमा पुग्न सकिन्छ । प्रतिव्यक्ति दुईतर्फी टिकटको मूल्य ६७५ रुपैयाँ, विद्यार्थीको लागि ५०५ रुपैयाँ, बालबालिकाको ४०५ र अशक्तको लागि ३३५ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । यसैगरी, भारतीय नागरिकको ८४० रुपैयाँ, सार्क देशका नागरिकको १० डलर र अन्य देशका नागरिकको २० डलर रुपैयाँ टिकट तोकिएको छ ।

 

चन्द्रगिरि केबलकार : संघीय राजधानी काठमाडौंको पर्यटकीय स्थल चन्द्रागिरिडाँडामा केबलकार संचालनमा छ । २०७३ साल साउनदेखि चन्द्रागिरि हिल्सले प्रालिले उक्त केबलकार संचालनमा ल्याएको हो ।

हिमाल, हरियाली काठमाडौंको एकसाथ अवलोकन गर्न पाइने भएकाले चन्द्रागिरि पर्यटकहरूको विशेष रोजाइमा पर्छ । कम्पनीका अनुसार साढे दुई किलोमिटर लम्बाइ रहेको चन्द्रगिरि केबलकार सवारीमा ९ मिनेट लाग्छ ।

 

एकतर्फी मात्रै नेपालीहरूको लागि प्रतिव्यक्ति ४१५ र दुवैतर्फ ७०० रुपैयाँ टिकट शुल्क कम्पनीले तोकेको छ । सार्क देशका नागरिकहरूको लागि प्रतिव्यक्ति एकतर्फी ६६४ र दुवैतर्फ ११२० रुपैयाँ शुल्क तोकिएको कम्पनीले जनाएको छ ।

 

यसैगरी, चिनियाँहरूको लागि एकतर्फी प्रतिव्यक्ति ९ डलर र दुवैतर्फ सवारीको १५ डलर शुल्क लाग्छ भने अन्य देशका नागरिकहरूले एकतर्फी १३ डलर र दुवैतर्फ २२ डलर शुल्क तिरेर केबलकारको आनन्द लिनसक्छन् ।

 

कालिञ्चोक केबलकार  : काठमाडौं उपत्यकाबाट सडक मार्गहुँदै करिब ५ घण्टामा दोलखाको कालिन्चोक पुग्न सकिन्छ । कालिञ्चोक भगवती मन्दिर दर्शनका साथै घुम्न जाने आन्तरिक पर्यटकहरूको विशेष रोजाइमा कालिञ्चोक केबलकार पर्ने गरेको छ ।

 

कालिञ्चोक दर्शन प्रालिले दोलखाको कुरीदेखि कालिन्चोक मन्दिरसम्म केबलकार संचालन गरिरहेको छ । यस केबलकारको लम्बाइ साढे दुई किलोमिटर रहेको छ ।


कम्पनीका अनुसार सो दुरी पार गर्न केबलकारलाई ६ मिनेट समय लाग्छ । केबलकार चढेको प्रतिव्यक्ति एकतर्फी ३०० र दुईतर्फी ५००, विद्यार्थी असक्त र जेष्ठ नागरिकलाई दुवैतर्फ सवारीको ३७५ रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ ।

 

कम्पनीका अनुसार टिकटको भारतीय नागरिकले प्रतिव्यक्ति दुईतर्फी ८०० रुपैयाँ र अन्य देशका नागरिकले १ हजार रुपैयाँ तिनुपर्नेछ ।

 

मौद्रिक नीतिको समीक्षा : घरजग्गा र सेयर कर्जामा कडाइ, अरु यस्ता छन् व्यवस्था (पूर्णपाठ) Read Previous

मौद्रिक नीतिको समीक्षा : घरजग्गा र सेयर कर्जामा कडाइ, अरु यस्ता छन् व्यवस्था (पूर्णपाठ)

गुल्मीको दर्लिङमा पहिलोपटक बस पुग्यो Read Next

गुल्मीको दर्लिङमा पहिलोपटक बस पुग्यो