छलाङ मार्दै हिमालयन रि : नाफा दोब्बरले बढ्यो, सेयर प्रिमियममा ३.१८ अर्ब संचित

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स व्यावसायिक रुपमा अब्बल बन्दै गएको छ । गत वर्षको तुलनामा चालु वर्षमा कम्पनीको खुद बीमा शुल्क, खुद नाफा, जगेडा कोष लगायत अधिकांश सूचकमा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्ष चैतको तुलनामा चालु वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा दोब्बरले बढेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १००.५३ प्रतिशतले बढेको हो ।

चालु वर्षको चैत मसान्तसम्म कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६ करोड रुपैयाँ बढी हो । गत वर्ष चैतसम्म कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क दोब्बरभन्दा धेरैले बढेपछि खुद नाफामा उछाल आएको हो । यस अवधिमा बीमा शुल्क १२५.१६ प्रतिशतले बढेर ३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, कुल आम्दानी ९०.६२ प्रतिशतले बढेर ४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको दाबी भुक्तानी ९५.१२ प्रतिशतले बढेर १ अर्ब ६० करोड रुपैयाँ पुगेका छ ।

समीक्षा अवधिमा कम्पनीले १५ अर्ब रुपैयाँ बढी लगानी गरेको छ । जसमा १० अर्ब ३१ करोड रुपैयाँ दीर्घकालीन र ४ अर्ब ७८ करोड रुपैयाँ अल्पकालीन लगानी छ ।

हाल १० अर्ब चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ, महाविपत्ती कोषमा ९ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७७ करोड ५० लाख रुपैयाँ र विशेष जगेडा कोषमा ९९ करोड ११ लाख रुपैयाँ संचित रहेको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि सुधार आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८.८४ रुपैयाँबाट बढेर १२.४१ रुपैयाँ पुगेका छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १४९.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.१५ गुणा रहेको छ ।

नेपाल लाइफको नाफा ६० करोड, प्रतिसेयर आम्दानी कति ? Read Previous

नेपाल लाइफको नाफा ६० करोड, प्रतिसेयर आम्दानी कति ?

चन्द्रागिरि हिल्सको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ? Read Next

चन्द्रागिरि हिल्सको नाफामा उल्लेख्य वृद्धि, प्रतिसेयर आम्दानी कति ?