नेपालमै हुन्डाईको गाडी उत्पादन सुरू, एसेम्बलिङ प्लाण्ट संचालनमा

काठमाडौं । विश्व प्रसिद्ध कोरियाली ब्राण्ड हुन्डाईका गाडी अब नेपालमै उत्पादन हुने भएको छ । लक्ष्मी मोटर कर्पोरेसनको आजदेखि नवलपरासीको रामग्राम ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’ संचालनमा ल्याएको हो ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्लाण्टको उद्घाटन गरेका हुन् । कम्पनीले पहिलो चरणमा उक्त प्लाण्टबाट हुन्डाई भेन्यू कार उत्पादन गर्ने भएको छ ।

सरकारले नेपालमै सवारी एसेम्बल गर्ने उद्योगलाई करमा छुट दिएको छ । हालसम्म दुई पाँग्रे सवारी साधन एसेम्बल गर्ने आधा दर्जन बढी प्लाण्ट संचालनमा आइसेकका छन् भने चारपाँग्रेमा हुन्डाई पहिलो हो ।

हुन्डाईको यस प्लाण्टको वार्षिक उत्पादन क्षमता ८ हजार युनिट रहे पनि अहिले वार्षिक ४ हजार युनिट गाडी उत्पादन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । उद्योग संचालनमा आएसँगै २०० बढीले रोजगारी पाउने छन् ।

प्रधानमन्त्री दाहालले यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गरे । उनले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए ।

नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कुल ग्रार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने उनले ताए ।

‘हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ,’ प्रधानमन्त्री दाहालले भने, ‘ती नीति–नियमहरूले उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।’ उनले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गरे ।

उनले उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

प्रभु इन्स्योरेन्सको नाफा साढे ३ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी ३८ रुपैयाँ Read Previous

प्रभु इन्स्योरेन्सको नाफा साढे ३ गुणाले बढ्यो, प्रतिसेयर आम्दानी ३८ रुपैयाँ

बागलुङ-बेनी सडक जेठ ४ गतेसम्म बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह Read Next

बागलुङ-बेनी सडक जेठ ४ गतेसम्म बन्द हुने, वैकल्पिक सडक प्रयोग गर्न आग्रह