काबेलीको २५ मेगावाट विद्युत साउनदेखि प्रणालीमा जोडिँदै

काठमाडौं । अरुण काबेली पावर कम्पनीले प्रवर्द्धन गरेकाे २५ मेगावाटको काबेली ‘बी’–१ जलविद्युत आयोजनाले साउनदेखि विद्युत उत्पादन सुरु गर्ने भएको छ । २०७२ सालबाट निर्माण सुरु भएको आयोजनाबाट ४ वर्षपछि विद्युत उत्पादन हुन लागेको हो ।

 

असार अन्तिम साताबाट आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गर्ने तयारी भइरहेको प्रवर्द्धक अरुण काबेली पावर कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले बताए । उनका अनुसार काबेली कोरिडोर प्रसारण लाइनको तेस्रो खण्ड तयार नहुँदा एक वर्ष ढिलो गरी विद्युत उत्पादन सुरु हुन लागेको हो ।

 

आयोजनाबाट उत्पादन हुने विद्युत काबेली करिडोरको अमरपुर सबस्टेसनमा जोडिने छ । आयोजना सम्पन्न गर्न करिब ५ अर्ब रुपैयाँ खर्च हुने देखिएको छ । निर्माण सुरु गर्दा ४ अर्ब रुपैयाँमा सम्पन्न गर्ने अनुमान गरिए पनि उत्पादन अवधि लम्बिँदा लागत पनि बढेको उनले बताए । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकको अगुवाइमा ८ बैंकले ऋण लगानी गरेका छन् ।

 

आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि पूर्व क्षेत्रको वितरण प्रणालीमा सुधार हुने कम्पनीको दाबी छ । अहिले भारतबाट आयात हुने विद्युत परिमाण पनि कम हुने कम्पनीले जनाएको छ । काबेली कोरिडोरमा यो आयोजनासँगै २२.२ मेगावाटको तल्लो हेवा, ९.९ मेगावाटको इवाखोला पनि विद्युत उत्पादन सुरु गर्ने चरणमा छन् ।

ऊर्जा मन्त्री पुनद्धारा ८ सय मेगावाटको दूधकोसी निर्माण गर्न चीनलाई प्रस्ताव Read Previous

ऊर्जा मन्त्री पुनद्धारा ८ सय मेगावाटको दूधकोसी निर्माण गर्न चीनलाई प्रस्ताव

दोर्दी –१ को ५५ करोडको प्राथमिक निष्कासन हुने Read Next

दोर्दी –१ को ५५ करोडको प्राथमिक निष्कासन हुने