ऊर्जा मन्त्री पुनद्धारा ८ सय मेगावाटको दूधकोसी निर्माण गर्न चीनलाई प्रस्ताव

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ८ सय मेगावाटको दूधकोसी जलाशय जलविद्युत आयोजना निर्माण गर्न चीनसँग सहयोग मागेका छन् । नेपाल–चीनबीच ऊर्जा विकासमा सहकार्यको दरिलो वातावरण बन्दै गएको भन्दै उनले यस्तो आग्रह गरेका हुन् । मन्त्री पुन र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच मंगलबार भएको भेटमा ठूला जलविद्युत आयोजना निर्माणमा सघाउन उनले आग्रह गरेका थिए । राजदूतले यसमा आफूले पहल गर्ने बताइन् ।

 

अहिले एसियाली विकास बैंक (एडिबी) को ५० लाख अमेरिकी डलर सहयोगमा आयोजना अध्ययन भइरहेको छ । आयोजना निर्माण गर्न करिब २ खर्ब रुपैयाँ लाग्ने अनुमान रहेकाले यसमा पहल गरिदिन मन्त्री पुनले आग्रह गरे ।

 

साेहि भेटमा चिनियाँ कम्पनीले अन्य देशमा राम्रो काम गरेको तर नेपालमा कमजोर देखिएको उल्लेख गरेका थिए । यसको कारणबारे उनले राजदूत यान्छीसँग जिज्ञासा पनि राखेका थिए । उनले यसबारे चीनले पनि गहिरो अध्ययन गरिरहेको बताइन् । मन्त्री पुनले नेपालका २४ जलविद्युत आयोजनामा १४ चिनियाँ कम्पनीले काम गरिरहेको जानकारी गराएका थिए ।

 

चीनले नेपालको विकास हेर्न चाहेको भन्दै राजदूत यान्छीले यहाँका आयोजनामा चिनियाँ कम्पनीको काम अनुगमन गरेर समयमै पूरा गर्न पहल गर्नेमा जोड दिइन् । ‘चिनियाँ कम्पनीले निर्माण गरिरहेका परियोजनामा भिषा, प्राकृतिक प्रकोप र जग्गा अधिग्रहणलगायत समस्या दोहोरिरहेको राजदूतको भनाइ थियो । स्थायी सरकारको बाँकी ४ वर्षमा नेपालले पूर्वाधार विकासमा ठूलो परिवर्तन गर्ने उनले विश्वास व्यक्त गरिन् ।

बुटवल पावरले किन्यो मनाङ मर्स्याङ्दी हाइड्रोपावरको ८ लाख ८५ हजार कित्ता सेयर Read Previous

बुटवल पावरले किन्यो मनाङ मर्स्याङ्दी हाइड्रोपावरको ८ लाख ८५ हजार कित्ता सेयर

काबेलीको २५ मेगावाट विद्युत साउनदेखि प्रणालीमा जोडिँदै Read Next

काबेलीको २५ मेगावाट विद्युत साउनदेखि प्रणालीमा जोडिँदै