काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको खुद नोक्सानी घटेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नोक्सानी १ अर्ब ३९ करोड रुपैयाँ रहेकाे छ ।
जबकी अघिल्लो वर्षको सोही अवधिमा कम्पनी २ अर्ब २ करोड रुपैयाँ नोक्सानीमा थियो । समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी र संचालन नाफा बढ्दा नोक्सानी घटेको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ५.७४ प्रतिशतले बढेर ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यस्तै, संचालन आम्दानी ७.६४ प्रतिशतले बढेर ३ अर्ब २८ करोड पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ८.१४ प्रतिशतले घटेर ४ अर्ब ६९ करोडमा झरेको छ । यस अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट साढे ६ अर्ब बढी आम्दानी गरे पनि खर्च उच्च हुँदा घाटामा गएको हो ।
निर्माण अवधि लम्बिँदा लागत अस्वभाविक बढेकाले कम्पनीको ब्याज खर्च उच्च छ । जसकारण अझै केही वर्ष नाफामा असर पर्ने कम्पनीले जनाएको छ ।
यस अवधिमा कम्पनीले तिर्न बाँकी दीर्घकालीन ऋण ७२ अर्ब ६१ करोड रुपैयाँ छ । हाल २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ८ अर्ब ६९ रुपैयाँ ऋणात्मक छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८.७६ रुपैयाँ ऋणात्मक छ । गत वर्ष यही अवधिमा यस्तो आम्दानी २५.४८ रुपैयाँ ऋणात्मक थियो ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ६३.२५ रुपैयाँ छ ।