सेयर किन्न लगानीकर्ताले एक महिनामै लिए ३.१० अर्ब ऋण

काठमाडौं । सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर धमाधम सेयर किन्न थालेका छन् । सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको एकपछि अर्को नीतिगत लचकता र ब्याजदर घट्दो क्रममा रहेपछि लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर किन्न थालेका हुन् ।

अघिल्ला दुई वर्षमा झन्डै ३० अर्ब रुपैयाँले घटेको सेयर धितो कर्जा चालु वर्षको ६ महिनामै झन्डै ८ अर्ब रुपैयाँ बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन-पुस)मा सेयर धितो कर्जा लगानी १०.५ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ७६ अर्ब ३० रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा पुस मसान्त आइपुग्दा बढेर ८४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

चालु वर्षको ६ महिनामै सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब ९८ करोड २० लाख रुपैयाँ ऋण लिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । जबकि, राष्ट्र बैंकले कडाइ गर्दा अघिल्ला २ वर्षमै सेयरधितो कर्जा ३० अर्ब रुपैयाँले घटेको थियो ।

पछिल्लो एक महनिामा मात्रै बैंकहरूले ३ अर्ब १० करोड रुपैयाँ सेयर कर्जा लिएका छन् । मंसिर तेस्रो साता राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत नीतिगत लचकता अपनाएपछि पुसमा लगानीकर्ताले ३ अर्ब बढी ऋण लिएर सेयर किनेका हुन् । पछिल्लो २ महिनामा नेप्से परिसूचक पनि झन्डै ३०० अंकले बढेको छ भने दैनिक कारोबार रकम पनि दोब्बरले बढेका छ ।

चालु वर्षमा औसतमा मासिक १ अर्ब ३३ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भइरहेको हो । राष्ट्र बैंकका अनुसार साउनमा १० करोड ५०, भदौमा १ अर्ब २७ करोड ४८ लाख, असोजमा ३ अर्ब ३२ करोड ९४ लाख, कात्तिकमा १४ करोड ३२, मंसिरमा २ करोड ९६ लाख र पुसमा ३ अर्ब ९ करोड ९९ लाख रुपैयाँ सेयर धितो कर्जा लगानी भएको छ ।

यस अवधिमा १ करोड बढीको ऋण १४.७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म १ करोड बढीको कुल सेयर कर्जा ४४ अर्ब ७१ करोड रहेकोमा पुस आइपुग्दा बढेर ५१ अर्ब ३० करोड पुगेको छ । समीक्षा अवधिमा १ करोड माथिको सेयर कर्जा ६ अर्ब ५८ करोड रुपैयाँले बढेको हो ।

त्यस्तै, यस अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको ऋण लगानी ८.६ प्रतिशत अर्थात् १ अर्ब रुपैयाँले बढेको छ । त्यस्तै, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा लगानी भने २ प्रतिशतले बढेको छ । असारसम्म यस्तो कर्जा १२ अर्ब ७८ करोड कर्जा लगानी भएकोमा मंसिर आइपुग्दा २५ करोड रुपैयाँले बढेर १३ अर्ब ३ करोड पुगेको छ ।

२५ लाख रुपैयाँ मुनिको सेयर धितो कर्जा १.९ प्रतिशत अर्थात् १३ करोड २१ लाख रुपैयाँले बढेको छ । पुससम्म २५ लाख मुनिको सेयर धितो कर्जा ७ अर्ब १६ करोड रुपैयाँ छ ।

राष्ट्र बैंकको लचकताले बढ्दै सेयर कर्जा

पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकताका कारण सेयर धितो कर्जा प्रवाह बढ्दै गएको हो । साथै, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लयागत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।

राष्ट्र बैंकले चालु आवदेखि सेयर धितो कर्जामा लगाएको नीतिगत अंकुश क्रमशः हटाउँदै लगेको छ । जसको प्रभाव बैंकको मार्जिन प्रकृतिको कर्जा प्रवाहमा देखिन थालेको हो । राष्ट्र बैंकले आव २०७८र७९ को मौद्रिक नीति मार्फत ४र१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९र८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको हाल बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको छ ।

त्यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ कायम गरिएको छ । त्यस्तै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ ।

त्यस्तै, बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । अहिले बैंकहरूसँग साढे ६ खर्ब रुपैयाँ लगानी योग्य रकम छ । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाउन थालेका छन् । अधिकांश बैंकले कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट नै एकल अंकमा झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले १० प्रतिशत हाराहारीमै ऋण पाउने अवस्था छ । यसले सेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

अर्थतन्त्रमा आएको सुधारले पनि लगानीकर्तालाई ऋण लिएर लगानी गर्न मनोबल बढेको देखिन्छ । अहिले अर्थतन्त्रको बाह्य क्षेत्र निकै बलियो अवस्थामा पुगेको छ भने आन्तरिक सूचकहरूमा पनि क्रमशः सुधारोन्मुख रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यिनै कारणले आगामी दिनमा सेयर बजारले लय समात्ने आशामा लगानीकर्ताले ऋण लिएर सेयर किन्न थालेको देखिन्छ

 

नेप्सेमा लगातार तेस्रो दिन वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा लगातार तेस्रो दिन वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित Read Next

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पारित