काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन वृद्धि भएको छ । सोमबारदेखि उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ३ दिनमा नेप्से २९ अंकले बढेको छ ।
सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ३१ करोडले बढेर २ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।
बुधबार नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ विन्दुमा पुगेको छ । यसदिन ३१३ कम्पनीको ७७ लाख ३२ हजार २३४ कित्ता सेयर बिनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ समूहको परिसूचक बढेको छ भने ६ को घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक १.५० प्रतिशतले बढेको छ भने अन्य समूह १.५३ प्रतिशतले घटेको छ ।
आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २४ करोड ८२ लाख रुपैयाँको ३ लाख ५४ हजार २५८ कित्ता सेयर किनबेच भएको छ ।
बढ्दो बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समाज लघुवित्त, गुराँस लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, इस्टर्न हाइड्रोपाव र एशियन हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।