फेरि मौलाउँदै कित्ताकाट, जेठमा १ वर्ष यताकै धेरै

काठमाडौं । चालु आर्थिक वर्षको जेठमा जग्गाको कित्ताकाट एक वर्षयताकै उच्च भएको छ । सरकारले २०७९ जेठमा भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएयता सुस्ताएको जग्गाको कित्ताकाट जेठमा फेरि उकालो लागेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठ महिनामा ४७ हजार ५५९ जग्गा कित्ताकाट गरी १ लाख ८ हजार टुक्रा पारिएको छ । यो गत वर्षको जेठ यताकै सर्वाधिक हो । यो महिना जग्गाको किनबेच पनि पछिल्लो १५ महिनाकै उच्च पुगेको विभागको तथ्यांक छ ।

सरकारले २०७९ जेठ २३ मा ल्याएको भूउपयोग नियमावलीले जग्गाको वर्गीकरण नगरेसम्म कित्ताकाट गर्न नहुने व्यवस्था गरेको थियो । सोही अनुसार त्यसअवधिमा जग्गाको वर्गीकरण हुन नसक्दा कित्ताकाट पनि बढ्न सेको थिएन ।

तर, गत वैशाखमा मन्त्रिपरिषद्ले कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो भने आगामी वर्षको बजेट मार्फत पनि त्यसलाई खुला गरिने उल्लेख गरेको छ । यद्यपि, अहिलेसम्म कित्ताकाट खुला हुने निर्णय कार्यान्वयन भने भएको छैन ।

जग्गाको वर्गीकरण गरेका स्थानीयमा भने कित्ताकाट खुला हुँदै गएको छ । वर्गीकरण गर्ने स्थानीय तहको संख्या बढ्नु, वित्तीय प्रणालीमा तरलता सहज भएर सस्तो ब्याजदरमा ऋण पाइनु जस्ता कारणले कित्ताकाट बढेको मालपोतका अधिकारी र व्यवसायीहरु बताउँछन् ।

११ महिनामा साढे ५ लाख टुक्रा
चालु वर्षको ११ महिना (साउन—जेठ)मसान्तसम्म २ लाख ४२ हजार कित्ता जग्गालाई ५ लाख ३७ हजार टुक्रा पारिएको छ ।यो गत वर्षको भन्दा साढे दशलाख कम हो । गत वर्षको ११ महिनामा ६ लाख ७७हजार कित्ता जमिनलाई कित्ताकाट गरेर १५ लाख ७६ हजार टुक्रा पारिएको विभागले जनाएको छ ।

चालु वर्षको जेठमा सबैभन्दा धेरै कित्ताकाट भएको छ भने साउनमा सबैभन्दा कम कित्ताकाट भएको छ । साउनमा साउनमा ८ हजार ७८५ जग्गालाई कित्ताकाट गरी १५ हजार ३०५ टुक्रा पारिएको थियो ।

भदौमा १० हजार ९२२ कित्ताकाट गरी २१ हजार ८७७ टुक्रा, असोजमा ९ हजार ४२६ जमिनलाई १९ हजार १७८ टुक्रा र कात्तिकमा १० हजार ५४४ जमिनलाई २२ हजार ३६५ टुक्रा पारिएको विभागको तथ्यांक छ ।

त्यस्तै, मंसिरमा १३ हजार २२१ वटा जग्गालाई कित्ताकाट गरी ३० हजार ८२७ टुक्रा, पुसमा २१ हजार ७८४ जग्गालाई टुक्रयाएर ४९ हजार १०४ टुक्रा पारिएको थियो ।

माघमा २४ हजार ५६९ कित्तालाई ५४ हजार ७७८, फागुनमा २७ हजार ३१ कित्ता जमिन टुक्र्याएर ६० हजार ३६१, चैतमा ३७ हजार ९९७ कित्ता जमिन टुक्राएर ८५ हजार ९७ टुक्रा बनाइएको थियो । वैशाखमा ३१ हजारको कित्ताकाट भएर ७०हजार कायम भएको थियो ।

 

प्रधानमन्त्री प्रचण्ड सरकारले ६ महिनामा के-के गर्‍यो ? यस्ता छन् ७७ उपलब्धी (सूचीसहित) Read Previous

प्रधानमन्त्री प्रचण्ड सरकारले ६ महिनामा के-के गर्‍यो ? यस्ता छन् ७७ उपलब्धी (सूचीसहित)

नवनिर्वाचित सीएनआई पदाधिकारीले भेटे प्रधानमन्त्री, चोरी पैठारी नियन्त्रणमा निर्मम हुन आग्रह Read Next

नवनिर्वाचित सीएनआई पदाधिकारीले भेटे प्रधानमन्त्री, चोरी पैठारी नियन्त्रणमा निर्मम हुन आग्रह