उत्पादन क्षमता बढाउदै होङ्सी सिमेन्ट
चाणक्य पोष्ट
प्रकाशित : 4:38 pm, बिहीबार, असार १२, २०७६

काठमाडौं । देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्शी शिवमले आफ्नो उत्पादन बढाउने भएको छ । अहिले दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गरिरहेको होङ्शी शिवमले दैनिक १२ हजार टनमा आफ्नो क्षमता वृद्धि गर्ने भएको हो । उद्योगले सञ्चयकोषबाट २ अर्ब रुपैयाँ ऋण लिएर सिमेन्टको क्षमता दोब्बर बनाउन लागेको हो ।

 

गत भदौ १८ गते एनएमबीले सिमेन्ट उद्योगको क्षमता विस्तार गर्नका लागि १६ अर्ब रुपैयाँ ऋण लगानी सम्झौता गरिसकेको छ । एनएमबीको अगुवाइमा नेपाल इन्भेष्टमेन्ट, प्रभु, एभरेष्ट र नेपाल एसबीआई बैङ्कले ऋण लगानीको सम्झौता गरेका थिए ।

 

नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाका लागि उद्योगले ३६ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने छ । उद्योगको खानी पाल्पाको ज्यामिरेमा छ ।

 

चीनको होङशी सिमेन्ट ग्रुपको सहायक कम्पनी हङकङ रेडलायन सिमेन्ट थ्री लिमिटेडको लगानी छ । उद्योगमा नेपालको व्यावसायिक समूह शिवम् होल्डिङ्सको ३० र होङशीको ७० प्रतिशत लगानी छ ।