नवनिर्वाचित सीएनआई पदाधिकारीले भेटे प्रधानमन्त्री, चोरी पैठारी नियन्त्रणमा निर्मम हुन आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेका छन् ।

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन बजेटको सफल कार्यान्वयनमा जोड दिँदै निर्धारित पूँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गरे ।

उनले बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन पनि आग्रह गरे । बजेटले लक्ष्य राखेको ६ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेकोमा उनले जोड दिए ।

अध्यक्ष अग्रवालले हाल एफपीओ, मर्जर तथा एक्वीजीसनमा भूतप्रभावि हुने गरी कर लगाउँदा लगानीकर्ताहरू हतोत्साही हुने र अन्तर्राष्ट्रिय बजारमा समेत नराम्रो सन्देश जानेतर्फ सचेत बन्नुपर्ने बताए ।

उनले स्वदेशी उत्पादनको प्रबद्र्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढंगले प्रस्तुत हुन आग्रह गरे । हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत निर्यात तथा विद्युतीय भुक्तानी सम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानुपर्नेमा पनि उनले जोड दिए ।

प्रधानमन्त्री दाहालले नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीहरूलाई वधाई तथा शुभकामना दिँदै आर्थिक एवं औद्योगिक विकासका लागि परिसंघबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यवहारिक सुझावहरू प्राप्त भइरहेको बताए ।

उनले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन परिसंघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

प्रधानमन्त्रीसँगको भेटमा उपाध्यक्षहरू विरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, स्थायी आमन्त्रित पदाधिकारीहरू छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशी सहभागी थिए ।

फेरि मौलाउँदै कित्ताकाट, जेठमा १ वर्ष यताकै धेरै Read Previous

फेरि मौलाउँदै कित्ताकाट, जेठमा १ वर्ष यताकै धेरै

एडीबीले नेपाललाई साढे ६ अर्ब ऋण दिने Read Next

एडीबीले नेपाललाई साढे ६ अर्ब ऋण दिने