बेलैमा काम नगर्दा अलपत्र बाहिरी चक्रपथ, मुआब्जा दिन समेत छैन बजेट

काठमाडौं । झण्डै २८ वर्ष अघिदेखि चर्चामा आएको बाहिरी चक्रपथको निर्माण अझै अन्योलमा रहेको छ । सहि योजना र बजेट सुनिश्चित्ता अभावका कारण बाहिरी चक्रपथ निर्माण अझै अघि बढ्न नसकेको हो ।

 

उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न २०५० सालमा सरकारद्वारा गरिएको अध्ययनले बाहिरी चक्रपथको आवश्यकता औँल्याएको थियो । बाहिरी चक्रपथ निर्माणका लागि आर्थिक वर्ष २०५६/५७ मा नै नेपिकोन भन्ने संस्थाले पूर्व सम्भाव्यता अध्ययन गरेको थियो ।

 

आर्थिक वर्ष २०६१/६२ को बजेट वक्तव्यमा ‘व्यवस्थित जग्गा एकीकरणका आधारमा काठमाडौँ उपत्यकामा बाहिरी चक्रपथको निर्माण कार्य प्रारम्भ गरिने थियो । बजेट भाषणमार्फत घोषणा भएको यो आयोजना झण्डै ३ शताब्दी बित्न लाग्दा समेत कार्यान्वयनमा आउन सकेको छैन ।

 

पूर्वाधारविज्ञ राजेन्द्र अधिकारी उचित प्लानिङ र बजेट सुनिश्चिता बिना आयोजना अघि बढाउन खोज्दा कुनै पनि प्रगति हुन नसकेको बताउँछन् । उनले सरकारको अव्यवस्थित काम गर्ने शैलीकै कारण धेरै योजनाहरू सुरू हुनुअघि अलपत्र पर्ने गरेको बताए ।

 

‘सरकारको अव्यवस्थित काम गर्ने तरिकाले उपलब्धी केही हुन नसकेको हो, बिना प्लानिङ, बजेट सुनिश्चित नगरी भाषणको भरमा मात्र योजना बनाएर हुँदैन,’ अधिकारीले चाणक्य पोष्टसँग भने ‘बजेटको स्रोत सुनिश्चित गर्नु पर्यो, वार्षिक कति खर्च गर्ने, कैलेसम्म बनाइसक्ने त्यस अनुसार सबै जनशक्ति तोकिनु पर्यो ।’उनले निर्माण सुरू गर्नु अघि साइट क्लियरेन्स ‘राइट अफ वे’, जग्गा प्राप्ति, समुदायसँगको समन्वयन राम्रो हुनु पर्ने बताए ।

 

चोभार-सतुङ्गल खण्ड निर्माण मुआब्जा नहुँदा अलपत्र

 

उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ निर्माण आयोजनालाई गति दिने सोचका साथ चोभर–सतुङ्गलको ६.६ किलोमिटर खण्डमा चक्रपथ निर्माणको पहिलो काम अघि बढाउने बताइए पनि हालसम्म कुनै प्रकृया अघि बढ्न सकेको छैन ।

 

चालु आर्थिक वर्ष २०७८/७९ मा बाहिरी चक्रपथलाई लिएर एक पटक मात्र छलफल भएको प्राधिकरणले जनाएको छ । आयोजना प्रमुख दिनेशकृष्ण पोतेका अनुसार आयोजनाका विषयमा मन्त्रालयमा छलफल भए पनि कुनै ठोस निर्णय हुन सकेको छैन ।

 

‘आयोजना जहाँको त्यहीँ छ, छलफल भयो, हामीले प्रोजेक्ट देखाइसक्यौं । तर, कहाँ कहिले बनाउने केही निर्णय भएको छैन, बजेट छैन, के गरी अघि बढ्छ,’ पोतेले चाणक्य पोष्टसँग भने ।

 

चोभार–सतुङ्गल खण्डको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भइसकेको प्राधिकरणले जनाएको छ । उक्त क्षेत्रको जग्गा रोक्का, बजेट लगायतका विषयमा केही काम अघि बढेको छैन ।आयोजनाका अनुसार सो खण्डमा करिब २२०० घरको मुआब्जा दिनुपर्ने हुन्छ । त्यसका गागि १ अर्ब ३६ करोड रुपैयाँ हाराहारी खर्च लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।

 

चोभार–सतुङ्गल खण्डमा पर्ने जग्गा विक्रीमा रोक लगाउन ‘भौतिक विकास समिति’को बैठक बसेर तयारी गरिएको प्राधिकरणले जनाएको छ । जग्गालाई ‘ल्याण्ड पुलिङ’ गर्ने ठाउँहरूमा ल्याण्ड पुलिङ गरिने छ । चोभार सतुङ्गलमा सडक विस्तारका क्रममा जग्गा धनीको ७ देखि ९ प्रतिशत जमिन सडकमा पर्ने देखिएको छ । जग्गा एकीकरण विधिबाट काठमाण्डौ उपत्यकामा बाहिरी चक्रपथ निर्माण कार्य प्रारम्भ गरिने बजेटमा उल्लेख छ ।

 

बाहिरी चक्रपथको डीपीआर २०६४ सालमा निर्माण भएको थियो । डीपीआर बनेको १४ वर्ष भइसकेको छ । यती लामो समयसम्म कुनै प्रकृया अघि नबढ्दा डीपीआर डिजाइन भएका स्थानहरू घरले ढाकिएका छन् ।उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ निर्माणका लागि डीपीआर ‘ एलाइमेन्ट रिभाइज’ गर्नु पर्ने जनाएको छ । हालसम्म यसका लागि कुनै प्रकृया भने सुरू गरिएको छैन ।

 

यस्तै, केही समय अघि सरकारले सतुङ्गलदेखि चोभारसम्म धेरै वस्ती नभएकाले बाहिरी चक्रपथ निर्माणको पहिलो चरणमा सोही सडक निर्माण गर्ने योजना बनाएको थियो । ६.६ किलोमिटर लम्बाइ रहेको सो खण्डमा सडक निर्माणका लागि कुनै कार्यान्वयनको प्रकृया अघि बढाइएको छैन ।

 

झण्डै ३ दशक अघिदेखि निर्माण गरिने भनिएको बाहिरी चक्रपथ निर्माणमा हालसम्म कुनै आधिकारीक निर्णय नआएको हो । प्राधिकरणले डीपीआर निकै पहिले बनेको हुँदा घना वस्ती भएका ठाउँलाई छोडेर सम्भव भएको स्थानबाट निर्माण सुरू गर्ने योजना बनाएको छ ।विगतमा बनेको डीपीआरलाई परिवर्तन गर्न छुट्टै मास्टर प्लानको तयारी गर्नुपर्ने भए पनि उक्त कार्यका लागि कुनै एक्सन लिइएको छैन ।

 

चिनियाँ कम्पनीले नबनाउने बाहिरी चक्रपथ

 

यस अघि चिनियाँ कम्पनीले ईएफसी मोडलमा बाहिरी चक्रपथ निर्माण गर्ने योजना बनाएको थियो । नेपालमा ईएफसी मोडलमा कुनै पूर्वाधार निर्माण नभएकाले यसमा नेपाल सरकारले असमर्थ जनाएको हो । ईएफसी मोडलमा बनाउन नेपाल सरकारले असमर्थन जनाएपछि चिनियाँ कम्पनीले यसमा रुची नदेखाएको जनाइएको छ ।

 

घना बस्ती बाधक

 

भक्तपुर र ललितपुरमा खुल्ला जमिन भए पनि काठमाडौं भित्र सहरी विकास उच्च हुँदा बाहिरी चक्रपथले गति नपाएको हो । नागर्जुन, रानीवनमा धेरै बाक्लो वस्ती छ । बाहिरी चक्रपथको मोडालीटी अनुसार ५० मिटर बाटो हुनुपर्छ । दायाँ/बाँया २५०/२५० मिटर ल्याण्ड पुलिङ गर्ने योजना रहेको थियो । बाक्लो वस्तीमा ५०० मिटर जमिन लिन गाह्रो छ । यो मोडालीटी परिवर्तन बाहिरी चक्रपथको आवश्यक्ता बनेको छ ।

 

यस्तै चिनियाँ कम्पनीले समेत मोडालिटीमा परिवर्तन माग गरेका थिए । केही ठाउँमा घरभएका ठाउँलाई छाडेर माथिबाट लानेगरी बनाउनु पर्ने देखिन्छ । सहरी विकास बढेकाले मुआब्जा दिन सक्ने अवस्था छैन । एउटा जमिनको मूल्य ३०÷४० लाख रुपैयाँ प्रतिआना रहेको छ । यस अनुसार मुआब्जा बाडेर बाहिरी चक्रपथ निर्माण असन्भव बनेको हो ।

 

बाहिरी चक्रपथ अन्तर्गत १०/१२ किलोमिटर क्षेत्रमा बस्ती बढेको प्राधिकरणले जनाएको छ । भूकम्प पछि बाहिरी चक्रपथ बन्ने क्षेत्रमा बस्ती बढ्दै गएका हुन् । बाहिरी चक्रपथ अन्तर्गत चोभार-सतुङ्गलको बाटो खुल्ला गरे केही समस्या समाधान हुने अनुमान गरिएको छ । ६.६ किलोमिटर लम्बाइ रहेको चोभार–सतुङ्गल तर्फ बाटो खुल्ला गर्न सके अन्य क्षेत्रमा पनि विस्तारै बाटो विस्तार गर्दै खुलाउन सक्ने उपत्यका विकास प्राधिकरणले जनाएको छ ।

 

बाहिरी चक्रपथलाई ९ वटा सेक्टरमा छुट्याइएको छ । चिनियाँ कम्पनीले ६९ किलोमिटरमा बन्ने गरी डीपीआर तयार पारेको थियो । जसमा केही टनेलहरू बनाउन समेत माग गरिएको थियो । चिनियाँ डिजाइनमा बाहिरी चक्रपथ बनाउन निकै महंगो पर्ने नेपाल सरकारको बुझाइ रहेको छ ।

 

नेपाल सरकारले बाहिरी चक्रपथ ७२ किलोमिटरको चौडाइमा बनाउने भनेको थियो । ०७६/७७ मा चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी’ लाई ‘रिपोर्ट फर प्रोजेक्ट’ (आरएफपी) दिने तयारी भइरहेको थियो । तर, आफ्नो डिजाइन अनुसार बनाउन नेपाल सरकारले नमानेपछि चिनियाँ कम्पनी पछि सरेको हो ।

 

२०७५ साल चैत्र १५ र १६ गते भएको लगानी सम्मेलनमा चिनियाँ कम्पनी ‘चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनी’ ले निर्माण गर्छु भन्दै प्रस्ताव हालेको थियो । बाहिरी चक्रपथ निर्माण गर्न चीनका चार वटा कम्पनीले आशयपत्र दिएका थिए । लगानी बोर्डले तीमध्ये तोकेको मापदण्ड पूरा गरेको चाइना कम्युनिकेसन कन्स्ट्रक्सन सर्ट लिस्टमा सूचीकृत गरेको थियो ।

 

२०७६ देखि नै लगानी बोर्डले उक्त कम्पनीलाई प्रस्ताव पेशका लागि आरएफपी माग गर्ने तयारी गरिरहेको थियो । बाहिरी चक्रपथको निमार्ण लागत १ खर्ब ८३ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

 

नेपाल प्रहरी प्रमुखमा धिरजप्रताप सिंह, सशस्त्रमा राजु अर्याल नियुक्त Read Previous

नेपाल प्रहरी प्रमुखमा धिरजप्रताप सिंह, सशस्त्रमा राजु अर्याल नियुक्त

बचतमा राष्ट्र बैंकले नै ११ प्रतिशत ब्याज दिने Read Next

बचतमा राष्ट्र बैंकले नै ११ प्रतिशत ब्याज दिने