वर्ष २०७७ : कालो बादलभित्र चाँदीको घेरा झैं चम्किएको सेयर बजार

काठमाडौं । वि.सं. २०७७ सालको शुरुवात सुखद थिएन । सरकारले चैत ११ गते देखि देशव्यापी रुपमा लकडाउनको घोषणा गरेकोे थियो । लकडाउनकै समयमा २०७७ नयाँ वर्षको रुपमा आएको थियो ।

 

अर्थतन्त्रका सबै क्षेत्रहरु ठप्प नै थिए । सेयर बजार पनि बन्दै थियो । लकडाउनको समयमा करिब ३ महिना बन्द भएर खुलेको सेयर बजार शुरुवाती केही दिनमा धेरै तल झर्यो । करिब १२०० मुनि आइपुग्यो ।

 

त्यसपछि विस्तारै उकालो लाग्न थालेको सेयर बजारले अहिलेसम्म पछाडि फर्केर हेरेको छैन । अहिले सेयर बजार इतिहासकै उच्चतम विन्दु २७०० वरपर घुमिरहेको छ ।

 

अर्थतन्त्रका अन्य क्षेत्रहरु ठप्प हुँदा वित्तीय क्षेत्रमा तरलता अधिक जम्मा हुन थाल्यो । वर्षको शुरुवाती समयदेखि मध्यतिर सम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमा २ खर्ब रुपैयाँ भन्दा बढी तरलता उपलब्ध थियो, जसले ऋणको ब्याजदर घट्यो । बैंक तथा वित्तीय क्षेत्रले सहज रुपमा सेयर कर्जा प्रवाह गर्न थाले ।

 

यही सकारात्मक अवस्थाको फाइदा उठाउँदै टम्म बादल लागेको नेपाली आर्थिक क्षेत्रमा चाँदीको घेराको रुपमा सेयर बजारको उदय भयो । र, वर्षभरी आशा र भरोसाको एकमात्र क्षेत्रको रुपमा रहिनै रह्यो ।

 

बीचमा राष्ट्र बैंकले बजार प्रभावित हुने केही नीतिगत परिर्वतनहरु गर्न लागेको हल्ला पनि नचलेको होइन । तर सायद सरकारको निर्देशनमा उसले त्यस्तो केही कदम भने चालेन ।

 

अहिले तरलताको उपलब्धतामा संकुचन आउन थालेको छ । कोरोनाको प्रभाव घट्न थालेसँगै अन्य क्षेत्रमा पनि ऋण प्रवाह हुन थालेका छन् । तर केही दिनयता भने अवस्थामा थोरै परिर्वतन आउन थालेको देखिन्छ । कोरोनाको दोस्रो लहरले फेरी विश्व आक्रान्त हुन थालेको छ ।

 

यस्तो अवस्थामा अबको वर्ष नेपाली सेयर बजारले कुन बाटो लेला, अहिले ठ्याक्कै भन्न सकिने अवस्था भने छैन । तर जस्तो सुकै अवस्था आएपनि अझै केही वर्ष सेयर बजार बुलरन मै रहने विश्वास यो क्षेत्रका जानकारहरुको छ ।यस्ता छन् वर्ष २०७७ मा सेयर बजारमा भएका महत्वपूर्ण उपलब्धीहरु :

 

नेप्सेमा १५०० अंकको छलाङ

 

वर्ष २०७७ मा नेप्से सूचकले १५०० अंकको छलाङ मारेको छ । यसवर्ष असार १५ गते न्यूनतम तल्लो विन्दु ११८८.७१ विन्दु रहेको नेप्से त्यसयता लगातार उकालो लागेर वर्षको अन्त दिनसम्म करिब साढे दुई गुणाले बढेर २७०० विन्दु माथि रहेको छ ।

 

साउन यता लगातार उकालो लागेको बजारले मंसिरमा करिब ४ वर्ष पुरानो इतिहासकै सर्वाधिक १८८१ विन्दुको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको थियो । त्यसयता नेप्सले प्रायजसो हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको छ ।

 

दैनिक कारोबार करोडबाट अर्बमा

 

सूचमा उछाल आएसँगै दैनिक कारोबार रकममा पनि दशौं गुणा वृद्धि भएको छ । साउनसम्म औसतमा दैनिक ५० करोड हाराहारीमा कारोबार हुँदै आएको अहिले त्यो दशौं गुणाले बढेर दैनिक औसतमा ६ अर्ब माथि पुगेको छ । यसवर्ष एकैदिनमा इतिहासकै सर्वाधिक १० अर्ब ६७ करोडको सेयर कारोबार हुँदै नयाँ रेकर्ड समेत बनाएको छ ।

 

लगानीकर्ताको सम्पत्ति दोब्बर

 

यस वर्ष सेयर बजारमा लगानीकर्ताको सम्पत्ति दोब्बर भएको छ । गत वैशाखमा सेयर बजारमा लगानीकर्ताहरुको कुल सम्पत्ति (बजार पूँजीकरण) करिब १८ खर्ब हाराहारीमा रहेकोमा वर्षको अन्त्यसम्म त्यो बढेर दोब्बर भन्दा धेरै भएको छ । हाल सेयर लगानीकर्ताको कुल सम्त्ति ३७ खर्बभन्दा बढी रहेको छ ।

 

लगानीकर्ताको सम्पत्ति बढ्नुको मुख्य कारण सेयर बजारमा आएको उछाल नै हो । १ वर्षको अवधिमा सूचीकृति कम्पनीको सेयर मूल्य दोब्बरदेखि दशौं गुणासम्म वृद्धि भएको छ ।

 

यस्तै, सूचीकृत कम्पनीहरुले कोरोनाका बीच सेयरधनीलाई लाभांश दिँदा पनि लगानीकर्ताहरुको सम्पत्तिमा वृद्धि भएको हो । साथै यस वर्ष सेयर बजारमा थप १ दर्जन बढी कम्पनी प्रवेश गरेका छन् । ती कम्पनीको आइपीओमा गरेको लगानी दशौं गुणाले वृद्धि हुँदा लगानीकर्ताके सम्पत्ति उल्लेख्य मात्रमा वृद्धि भएको हो ।

 

सरकार पनि मालामाल

 

सेयर कारोबारमा उछाल आएसँगै सरकारलाई पनि मनग्ये आम्दानी भएको छ । सेयर लगानीकर्ताले नाफा कमाउँदा सरकारले पाउने कर दशौं गुणाले वृद्धि भएको छ ।

 

यस वर्ष सरकारले सेयर बजारबाट इतिहासकै धेरै कर संकलन गरेको छ । साउन यता मात्रै सरकारले पूँजीगत लाभकर, अग्रिम करकट्टी लगायत शीर्षकमा ७ अर्ब बढी कर संलन गरेको छ । यो इतिहासकै सर्वाधिक हो ।

 

लगानीकर्ताको संख्या दोब्बर

 

यस वर्ष सेयर बजारमा प्रवेश गर्ने नयाँ लगानीकर्ताको संख्या दोब्बर बढीले वृद्धि भएका छन् । गत वैशाखसम्म प्राथमिक बजारमा लगानी गर्न डिम्याट खाता खोल्नेको संख्या १६ लाख हाराहारीमा रहेकोमा चैतसम्म आइपुग्दा दोब्बरले बढेर ३३ लाख नाघेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार चैत दोस्रो सातासम्म ३३ लाख ४९ हजार बढीले डिम्याट खाता खोलिसकेको छन् ।

 

यसैगरी, दोस्रो बजारमा सेयर कारोबार गर्नेको संख्या पनि दोब्बर बढीले बढेको छन् । नेप्सेका अनुसार गत वैशाखसम्म दोस्रो बजारका कारोबार गर्ने कुल लगानीकर्ताको संख्या ३ लाख रहेको फागुनसम्म बढेर ७ लाख पुगेको छ । चैतमा थपिएकाको संख्या आइसकेको छैन ।

 

अनलाइन प्रयोगकर्ता १५ गुणाले वृद्धि

 

प्रयोगमा आएको डेढ वर्षसम्म लगानीकर्तालाई आकर्षित गर्न नसकेको नेप्सेको अनलाइन प्रणाली (टीएमएस)का यस वर्ष सयौं गुणाले बढे । २०७५ कात्तिक २० गतेदेखि प्रयोगमा ल्याइएको टीएमएस प्रणालीका प्रयोग कर्ता गत वैशाखसम्म जम्मा ३१ हजार थिए ।

 

तर, कोरोनाका कारण ब्रोकर कार्यालयमा गएर सेयर कारोबार गर्न नपाउने भएपछि टीएमएस प्रयोगकर्ता ह्वात्तै बढे । नेप्सेका अनुसार फागुन मसान्तसम्म टीएमएस प्रयोगकताको संख्या ४ लाख १५ हजार बढी पुगेका छन् । अहिले बजारमा रहेको साढे ५ लाख सक्रिय लगानीकर्तामध्ये ८५ प्रतिशतभन्दा बढी अनलाइन मार्फत नै कारोबार गर्दै आएका छन् ।

 

सूचना प्रविधिमा फड्को

 

नेपाली सेयर बजारले यस वर्ष सूचना तथा प्रविधिको प्रयोगमा फड्को मारेको छ । ब्रोकर कार्यालय मार्फत हुँदै आएको सेयर किनबेच अहिले लगभग पूर्णतः अनलाइन भएको छ । अहिले ९० प्रतिशत बढीले अनलाइन मार्फत नै सेयर कारोबार गर्दै आएका छन् । जबकी गत वैशाखसम्म मुश्किलले ५ प्रतिशत मात्रै सेयर कारोबार अनलाइनमार्फत हुन्थ्यो भने ९५ प्रतिशत बढी ब्रोकरमा धाउँथे ।

 

यस्तै, नेप्सले यसै वर्षदेखि पूर्णतः अनलाइन पेमेन्टको व्यवस्था कार्यान्वयन गरेको छ । सेयर किनबेच गरेको पैसा लिन/बुझाउन ब्रोकर धाउनै पर्ने बाध्यताको अन्त्य भएको छ । अहिले सेयर किनबेचको रकम लेनदेन पूर्णतः अनलाइन (डिजिटल) भुक्तानी मार्फत हुने व्यवस्था छ ।

 

टी प्लस २ कार्यान्वयन

 

नेप्सेले यसै वर्षदेखि सेयर राफसाफमा टी प्लस २ कार्यान्वयनमा ल्याएको छ । सेयर राफसाफलाई छिटो, छरितो र प्रभावकारी बनाउन भन्दै नेप्सले यसअघि प्रचलनमा रहेको टी प्लस ३ लाई हटाउँदै माघ ११ गतेदेखि यो व्यवस्था लागू गरेको हो ।

 

आइपीओको बाढी, गेम्चेञ्जर आइपीओ जारी

 

यस वर्ष सेयर बजारमा प्राथमिक सेयर (आइपीओ)को बाढी नै लाग्यो । वैशाखदेखि चैतसम्म १ दर्जन बढी कम्पनीले सर्वसाधरणमा सेयर जारी गरे भने डेढ दर्जन बढीले सेयर निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

 

यस वर्ष केही ‘गेम चेञ्जर’ आइपीओ समेत जारी भए । नेपाल पुनर्बीमा कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक जस्ता कम्पनीको आइपीओ नेपाली सेयर बजारका ‘टर्निङ प्वाइन्ट’ बने । यी कम्पनीको आइपीओले सेयर बजरमा लाखौं नयाँ लगानीकर्तालाई प्रवेश गराए ।

 

पुनर्बीमा कम्पनीको आइपीओमा सो बेलासम्मकै धेरै ४ लाख बढीले आवेदन दिएका थिए भने सबैले न्यूनतम १० देखि ५० कित्तासम्म सेयर हात पारेका थिए । कम्पनीको सेयरमा १ हजार लगानी गर्नेले केही महिनामै १८ हजारसम्म कमाए ।

 

यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले १५ लाख बढी सर्वसाधरणलाई सेयरधनी बनायो । यो बैंक नेपाली सेयर बजार इतिहासमै सबैभन्दा धेरै सेयर होल्डर हुने कम्पनी बन्यो ।यसले पनि छोटो समयमै लगानीकर्तालाई ६ गुणा बढी कमाइ गर्दिसकेको छ । यी कम्पनीको आइपीओले सेयर बजार नयाँ लगानीकर्ता प्रवेश गराउन र ठूलो पूँजी संकलन गर्न उल्लेख्य योगदान पुर्याए ।

विदेशिने ७५% घट्दा पनि रेमिट्यान्स आप्रवाह ९% वृद्धि, ८ महिनामा भित्रियो ६ खर्ब १४ अर्ब Read Previous

विदेशिने ७५% घट्दा पनि रेमिट्यान्स आप्रवाह ९% वृद्धि, ८ महिनामा भित्रियो ६ खर्ब १४ अर्ब

बैंक चम्किँदा नेप्सेले बनायो दोहोरो कीर्तिमान, यी ५ कम्पनीका लगानीकर्ता मालामाल Read Next

बैंक चम्किँदा नेप्सेले बनायो दोहोरो कीर्तिमान, यी ५ कम्पनीका लगानीकर्ता मालामाल