बैंक चम्किँदा नेप्सेले बनायो दोहोरो कीर्तिमान, यी ५ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । बैंक र विकास बैंक चम्किँदा सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेको छ । सोमबार इतिहासकै उच्च विन्दुको रेकर्ड बनाएको नेप्सेले त्यो रेकर्ड तोड्दै आज नयाँ कीर्तिमान बनाएको हो ।

 

नेप्सले २७१४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २७०० विन्दु नाघेको इतिहासमै पहिलोपटक हो । यसअघि सोमबार नेप्से इतिहासकै सर्वाधिक २६९१ विन्दुको रेकर्ड बनाएको थियो ।

 

यस्तै, नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन सर्वाधिक बजार पूँजीकरणको पनि रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुको बजार पूँजीकरण ३७ खर्ब ५८ अर्ब नाघेको छ । यो हालसम्मकै सर्वाधिक हो भने देशको कुल जीडीपीभन्दा पनि बढी हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०९ कम्पनीको ७ अर्ब १४ करोड ३१ लाख ५१ हजार रुपैयाँ बराबरको १ करोड ४६ लाख ९१ हजार ६४३ कित्ता सेयर किनबेच भएका छन् ।

 

मंगलबार कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ वटा समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक बीमा समूहको परिसूचक सबैभन्दा धेरै ९५.४२ अंकले बढेको छ भने निर्जीवन बीमा समूह सबैभन्दा धेरै ८२.९२ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २०९ कम्पनीमध्ये १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै नबिल बैंक २० करोड र एनआइसी एशिया बैंक १७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

दोहोरो अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । एनआइसी एशिया लघुवित्त, माउन्टेन इनर्जी, ज्योति लाइफ इन्स्योरेन्स, छ्याङ्दी हाइड्रोपावर र सिन्धु विकास बैंकका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज ल्गोबल आइएमई लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ४.२७ प्रतिशत गुमाएका छन् ।

वर्ष २०७७ : कालो बादलभित्र चाँदीको घेरा झैं चम्किएको सेयर बजार Read Previous

वर्ष २०७७ : कालो बादलभित्र चाँदीको घेरा झैं चम्किएको सेयर बजार

क्रिप्टोकरेन्सीको विश्व बजार २० खर्ब डलर, टेस्लाको लगानीले बिटक्वाइनको मूल्यमा उछाल Read Next

क्रिप्टोकरेन्सीको विश्व बजार २० खर्ब डलर, टेस्लाको लगानीले बिटक्वाइनको मूल्यमा उछाल