दशैंमा डिजिटल दक्षिणा : नोट छाप्ने खर्च जोगिने, विद्युतीय कारोबारलाई प्रोत्साहन

काठमाडौं । दशैँमा आफन्त तथा नातेदारको हातबाट टीका लगाइन्छ । टीकासँगै ठूलाले सानालाई आशिर्वाद र दक्षिणा पनि दिने चलन छ । विशेषगरी दशैंमा टीका लगाउँदा नयाँ नोट दिने गरिन्छ ।

सर्वसाधरणले ठूलो लाइन बसेर भए पनि दशैंका लाइन साट्ने गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले पनि नयाँ नोट वितरण गर्ने भए पनि सर्वसाधरण सजिलै पाउँदैनन् । त्यसैले, नयाँ नोट साट्न राष्ट्र बैंकमा सर्वसाधरणको भीड लाग्ने गरेको छ ।

नेपाल राष्ट्र बैंकले पनि दशैंको बेला धेरै नयाँ नोट बजारमा पठाउँछ । अन्य बेलामा पनि नयाँ नोट जारी गर्ने भए पनि राष्ट्र बैंकले दशैंलाई विशेष प्राथमिकतामा राख्ने गरेको छ ।

दशैं र दक्षिणाको विशेष सम्बन्ध रहेको छ । खाली हात टीका लगाउनु हुँदैन भन्ने सामाजिक मान्यता छ । त्यसैले टीकासँगै दक्षिणा र आर्शिवाद दिने प्रचलन छ । पछिल्लो केही वर्ष यता भने दशैंमा ‘डिजिटल दक्षिणा’को पनि प्रयोग हुन थालेको छ ।
सूचना तथा प्रविधिको विकासले परम्पराकालदेखिको कागजी दक्षिणालाई डिजिटल दक्षिणामा रुपान्तरण गर्दै लगेको छ । विभिन्न डिजिटल वालेटहरूको विकासले दशैंमा डिजिटल दक्षिणा चिने चलनको सुरुवात भएको हो ।

विशेष गरी कोरोनाकालपछि डिजिटल दक्षिणाको प्रयोग बढ्दो छ । डिजिटल दक्षिणाले नयाँ नोट साट्ने झन्झट हट्नुको साथै नोटमा जतनमा समेत सहयोग पुर्याएको छ । टीकाको रङले नोट बिग्रिने सम्भावनाको पनि अन्त्य गर्छ ।

डिजिटल पेमेन्ट गेट वे ईसेवाका सीईओ रोशन लामिछाने दशैँमा डिजिटल दक्षिणा अहिलेको सन्दर्भमा निकै उपयोगी हुने बताउँछन् । ईसेवाले ५ वर्ष अघि टीका निदारमा पैसा मोबाइलमा भन्ने नाराका साथ ईसेवा सञ्चालनमा ल्याएको थियो । नयाँ नोटको तुलनामा डिजिटल दक्षिणा निकै उपयोगी हुने उनी बताउँछन् ।
हातमा दिइएको पैसा छिटै खर्च हुन्छ तर, डिजिटल माध्यमबाट दिएको पैसा आवश्यकतामा खर्च गर्न काम लाग्ने भएकाले डिजिटल पे नै गर्न उनी सल्लाहा दिन्छन् । ‘नयाँ पैसालाई टीका अबिरमा मुछेर पुरानो पार्नुभन्दा यो डिजिटल पे धेरै राम्रो हो,’ सीईओ लामिछानेले भने ।

नोट छाप्ने खर्च जोगिने, विद्युतीय कारोबारलाई प्रोत्साहन

राष्ट्र बैंकले नयाँ नोट छपाइका लागि मात्र वर्षेनी करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ । केही समय अघि बैंकले लागत बढी हुने भएपछि थोरै मात्रामा नयाँ नोट छाप्न थालेको थियो ।

यसरी नयाँ नोट छाप्दा प्रतिनोट लागत १.४० रुपैयाँदेखि ४.६८ रुपैयाँसम्म खर्च हुने गरेको छ । नगद छपाइ कम गर्न बैंकले डिजिटल कारोेबारलाई प्राथमिकता दिएपनि प्रत्येक वर्ष नोट छपाइने क्रम भने बढ्दै गएको छ ।

नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपाल एक पटक नोट छाप्दा ३ देखि ४ वर्ष पुग्नेगरी छपाइने बताउँछन् । उनले दशैँका लागि मात्र नयाँ नोट नछापिने बताउँदै प्रति नोट छपाइ लागत १ रुपैयाँ ४० पैसादेखि ४ रुपैयाँ ६८ पैसासम्म खर्च हुने गरेको बताए । बैंकले २०१६ साल फागुनदेखि नयाँ नोट छपाइ सुरू गरेको थियो ।

यस्तै, टीका अबिरका कारण ५ वर्ष चल्ने नयाँ नोट १ वर्ष मै पुरानो हुने गर्छ । दशैँमा नयाँ नोट निकाल्नु सरकारलाई पनि घाटा हुने गर्छ । डिजिटल पेमेन्ट सहजै पाउनेले प्रयोग गर्न सक्ने र टाढा भएकालाई नजिक ल्याउने नयाँ माध्यम बनेको छ ।

यसका लागि नेपालमा प्रयोगमा आएका कुनै पनि डिजिटल पेमेन्ट एप डाउनलोड गर्न सकिन्छ । सो एप मार्फत जो कसैको खाता, मोबाइल नम्बरमा रिचार्ज गर्न सकिने छ ।हाल नेपालमा ३ दर्जन बढी मोबाइल वालेटहरू प्रयोगमा छन् । तिनै वालेटको प्रयोगमार्फत डिजिटल दक्षिणा दिन सकिन्छ ।

डिजिटल दक्षिणालाई प्रोत्साहन गर्न उपहार अफर

डिजिटल दक्षिणालाई प्रोत्साहन गर्न मोबाइल वालेटहरूले विभिन्न आकर्षका उपहार योजना समेत ल्याएका छन् । जिटिटल दक्षिणामा त्यति अभ्यस्त नभइसकेकाले अहिले आम सर्वसाधरणलाई प्रोत्साहन गर्न जरुरी छ । त्यसैलाई मध्येनजर गर्दै वालेट सेवा प्रदायकहरूले उपहार योजना ल्याएका छन् ।

ईसेवाले दशैँ लक्षित गर्दै ‘बडा दशैँमा बडा उपहार’ योजना ल्याएको छ । यस योजना अन्तर्गत प्रयोगकर्ताले मोबाइल, मोटरसाइलक लगायतको उपहार पाउने सीईओ लामिछानेले बताए ।

त्यसैगरी, खल्ती, आइएमई पे, प्रभु पे लगायत वालेटहरूले ग्राहकलाई आकर्षित गर्न विभिन्न स्कीम तथा उपहार योजना ल्याएका छन् ।

 

लयमा फर्किँदै पर्यटन व्यवसाय, पर्यटकीय क्षेत्रका होटल भरिभराउ Read Previous

लयमा फर्किँदै पर्यटन व्यवसाय, पर्यटकीय क्षेत्रका होटल भरिभराउ

घोराही-तुलसीपुर ४ लेन सडक :  ४ वर्षमा जम्मा १०% काम, चौथो पटक म्याद थपिँदै Read Next

घोराही-तुलसीपुर ४ लेन सडक : ४ वर्षमा जम्मा १०% काम, चौथो पटक म्याद थपिँदै