सरकार इमान्दार नबन्दा बीमाको विश्वसनीयतामै संकट !

काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भुक्तानीमा गरेको आलटालले बीमाको विश्वसनीयतामै संकट आउने जोखीम बढेको छ ।
महामारीमा गरिएको बीमाको दाबी भुक्तानी सर्वसाधारणले हालसम्म पाउन नसक्दा यस्ताे अवस्था आउन लागेकाे हाे ।

 

निर्जिवन बीमा कम्पनीहरुले दाबी भुक्तानी रोकेको करिब डेढ वर्ष हुँदा पनि सरकार आश्वासन मात्रै दिएर टारिहेको छ । अर्थमन्त्रालयले रकम निकासा नगर्दा बिमीतले दाबी भुक्तानी नपाएका हुन् ।

 

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रमको घोषणा गरेपनि २ वर्षदेखि नागरिकलाई बाँकी रहेको दाबी भुक्तानी दिन स्रोत ब्यवस्था गरेकाे छैन ।

 

अर्थमन्त्री जनार्दन शर्माले बीमा समिति मार्फत पटकपटक दाबी रकम भुक्तानीका लागि सुझाव तथा विकल्प मागे पनि रकम निकासामा भने गरेका छैनन् ।

 

अर्थमन्त्रालयका अधिकारीहरु भने सो रकम दाबी भुक्तानीको लागि बीमा समिति र कम्पनीहरुसँग छलफल भइरहेको जवाफ दिएर टारीरहेका छन् ।

 

अदालतले बीमा वापतको भुक्तानी रकम दिन कम्पनीहरुका नाममा परमादेश जारी गरेसँगै कम्पनीहरु दबाबमा परेका छन् । यद्यपि, महामारीमा जोखीम भारको हिसाबले कम्पनीसँग सरकारले गरेको सम्झौँता अनुसार उनीहरुले भुक्तानी गनुपर्ने रकम तिरिसकेको बताए ।

 

बीमाको विश्वसनीयता गुम्ने जोखीम

 

बीमा भनेकै विश्वासमा चल्ने जोखीम हस्तान्त्रणको माध्यम हो । भईपरी आउने सबै जोखीम बहन गर्नसक्ने क्षमता बीमा कम्पनीहरुसँग पनि नहुन सक्छ । त्यसैले उनीहरुले पनि पुनर्बीमा गरेर जोखीमको भारी अर्को कम्पनीमा सार्छन् ।

 

तर, जोखीमको क्षती कम गर्न गरिने बीमा शुल्क तिर्दा पनि सर्वसाधारणले त्यस वापत भुक्तानी नपाउदा जोखीम हस्तान्त्रणको माध्यम मानिएको बीमाको विश्वसनियता माथि नै प्रश्न उठेको छ । यसले बीमा प्रति विश्वास गुम्ने जोखीम पनि उत्तिकै छ । जसले भोलिको दिनमा बीमा गर्न प्रेरित गर्नेहरुलाई निरुत्साहन गर्छ ।

 

बीमाको अन्तर्राष्ट्रिय शिद्धान्त र मान्यता विपरित गरीएको पोलीसी वितरणले बीमा क्षेत्रलाई मात्र आलोचित बनाएको छैन, सर्वसाधारणले पाउने र कम्पनीहरूले कबुलेकाे रकम पनि राेकिएकाे छ ।

 

समितिका कार्यकारी निर्देशक एवंम् प्रवक्ता राजुरमण पाैडेलका अनुसार समिति र बीमा कम्पनीको तर्फबाट भुक्तानी गर्नुपर्ने रकम गइसकेकाे छ । कोरोना बीमाको मापदण्ड अनुसार सरकारले मात्रै भुक्तानी गर्नुपर्ने रकम बाँकी रहेको उनले बताए । गत जेठमा बीमा कम्पनी,समिति र सरकारबीच कोरोना बीमाको दाबी भुक्तानी सबैले बेहोर्ने सहमति भएको थियो ।

 

उक्त मापदण्ड अनुसार १ अर्ब रुपैयाँसम्मको दाबी बीमा कम्पनीहरू, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्मको नेपाल पुनर्बीमा कम्पनी, २ अर्बदेखि साढे २ अर्ब रुपैयाँसम्मको बीमा कम्पनीहरूको महाविपत्ति कोषबाट दाबी भुक्तानी बेर्होनु पर्ने थियो ।

 

साढे २ अर्बदेखि साढे ३ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बीमा समिति र साढे ३ अर्ब रुपैयाँ भन्दा माथिको दाबी भुक्तानी सरकारले बेहोर्ने सहमति भएको थियो  ।

 

११ अर्बको दाबी भुक्तानी बाँकी

 

बीमा समितिको तथ्यांक अनुसार करिब ११ अर्बको दाबी भुक्तानी सरकारले तिर्न बाँकी छ । कोरोना बीमावापत अझै १० अर्ब ८४ करोड ६ लाख ८३ हजार रूपैयाँ बराबर बिमितले भुक्तानी पाएका छैनन् ।

 

बाँकी रहेको सो रकम भुक्तानीका लागि १ लाख १३ हजार ३९० वटा दाबी परेको छ । त्यस अवधिमा २० वटा निर्जीवन बीमा कम्पनीले १७ लाख ५८ हजार ३४३ बीमा लेख जारी गरेर १ अर्ब ५ करोड २७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

 

कुल १ लाख ६५ हजार ५९ जना बिमितको १५ अर्ब ४२ करोड २३ लाख रूपैयाँको दाबी परेको समितिको तथ्यांक छ ।

 

कुल दाबी भुक्तानी मध्ये हालसम्म ५१ हजार ६६९ को बीमा कम्पनीहरूले ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार रूपैयाँ भुक्तानी गरिसकेका छन् ।

 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विदेशी उडानको ‘हब’ बन्दै,विज एयरले उडान भर्ने Read Previous

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विदेशी उडानको ‘हब’ बन्दै,विज एयरले उडान भर्ने

सार्वजनिक यातायातको भाडा फेरि बढ्न सक्ने Read Next

सार्वजनिक यातायातको भाडा फेरि बढ्न सक्ने