४ विकास बैंक घाटामा, मुक्तिनाथ बन्यो धेरै कमाउने, कुनले कति कमाए ?

काठमाडौं । विकास बैंकहरूको खुद नाफामा झिनो गिरावट आएको छ । विकास बैंकहरूले सार्वजनिक गरेको चालु आव २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा औसतमा ०.८४ प्रतिशतले घटेको हो ।

चालु आवको चैतसम्म १६ विकास बैंकले कुल ३ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्ष सोही अवधिको तुलनामा २ अर्ब ९४ करोड रुपैयाँ कम हो । गत वर्ष चैतसम्म ३ अर्ब ५० करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

तेस्रो त्रैमासमा वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूको तुलनामा विकास बैंककहरूको नाफा थोरै घटेको छ । वाणिज्य बैंक्को नाफा १३.४७ प्रतिशतले घटेको छ भने फाइनान्स कम्पनी समग्रमा नोक्सानी मै रहेका छन् । तर, विकास बैंकको नाफा भने १ प्रतिशतभन्दा कमले मात्र घटेको हो ।

समीक्षा अवधिमा १६ विकास बैंकमध्ये ६ वटा बैंकको मात्रै नाफा बढेको छ भने अरुको घटेको छ । यस अवधिमा ४ वटा बैंक नोक्सानीमा गएका छन् ।

अर्थतन्त्रमा आएको मन्दीको असर बैंक तथा वित्तीय संस्थाहरूको नाफामा देखिएको हो । अर्थतन्त्र शिथिल हुँदा बैंकहरूले नयाँ व्यवसाय विस्तार गर्न नसक्दा र विगतमा गरिएको कर्जा असुली नहुँदा नाफामा असर परेको हो ।

आर्थिक मन्दीका कारण उद्योग व्यवसाय चौपट हुँदा ऋणीको ऋण तिर्ने क्षमतामा ह्रास आएको छ । जसकारण बैंकहरूको कर्जा असुली हुन नसक्दा खराब कर्जा समेत बढेको छ । एकातिर कर्जाको माग नहुँदा नयाँ कर्जा विस्तार नहुनु र अर्कोतर्फ विगतमा लगानी गरिएको ऋण असुली नहुँदा खराब कर्जा बढी प्रोभिजनिङ बढ्दा बैंकहरूको नाफा घटेको हो ।

सर्वाधिक कमाउने मुक्तिनाथ, ४ वटा घाटामा

समीक्षा अवधिमा विकास बैंकहरूमा मुक्तिनाथले सबैभन्दा धेरै ८७ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । मुत्तिःनाथले गत वर्षको तुलनामा यस वर्ष खुद नाफा ८.१२ प्रतिशतले बढाएको हो ।

त्यस्तै, गरिमा विकासले दोस्रो धेरै ६८ करोड ३५ लाख नाफा कमाएको छ । गत वर्षको तुलनामा यसले पनि नाफा ४.८५ प्रतिशतले बढाएको छ ।

त्यसैगरी, चैतसम्म साइन रेसुंगाले ५१ करोड ४७ लाख, महालक्ष्मी ३७ करोड ३६ लाख, लुम्बिनी विकास ३४ करोड २२ लाख सांग्रिला डेभलपमेन्ट २६ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

समीक्षा अवधिमा ४ वटा विकास बैंक भने घाटामा रहेका छन् । जसमा सप्तकोशी विकास बैंक सबैभन्दा धेरै ७ करोड ३१ लाख रुपैयाँ नोक्सानीमा छ । त्यस्तै, सिन्धु विकास ५ करोड ४१ लाख, एक्सेल डेभलपमेन्ट ५ करोड ३७ लाख र नारायणी विकास बैंक ४३ लाख घाटामा छन् ।

 

तनहुँको भानुमा ५८ रोपनीमा औद्योगिक ग्राम निर्माण प्रक्रिया सुरू Read Previous

तनहुँको भानुमा ५८ रोपनीमा औद्योगिक ग्राम निर्माण प्रक्रिया सुरू

आज पनि काठमाडौंको सवारी आवगमन अस्तव्यस्त Read Next

आज पनि काठमाडौंको सवारी आवगमन अस्तव्यस्त