नयाँ बानेश्वरको आकाशे पुल दशैँ अघि नै सम्पन्न हुने, कोटेश्वरको नबन्ने

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोकमा बन्दै गरेको आकाशे पुल दशैँअघि नै सम्पन्न हुने भएको छ । सडक डिभिजन, काठमाडौंका अनुसार बानेश्वरस्थित आकाशे पुलको निर्माण पूरा हुन १० प्रतिशत मात्र काम बाँकी रहेको छ ।

 

डिभिजनका सूचना अधिकारी चितरन्जन कुमार रानले आकाशे पुलको भर्याङमा रेलिङ हाल्ने र पाता राख्ने काम बाँकी रहेको बताए । उनले उक्त सामग्री जडान गर्ने काम सुरु भएपछि मानिसहरु सो पुलबाट आवतजावत गर्नका लागि खुल्ला गरिने बताए ।

 

‘अब धेरै काम बाँकी छैन, भररयाङमा रेलिङ हाल्ने र पाता राख्ने काम बाँकी हो, त्यो राखेपछि मान्छे हिँड्नका लागि खुला गरिन्छ,’ रानले चाणक्य पोष्टसँग भने ‘सक्दो यही दशैँ अघि निर्माण सम्पन्न गरी खुलाउने लक्ष्य रहेको छ ।’

 

सो पुलका लागि ३ करोड ५२ लाख रुपैयाँ बजेट छुट्याइएको थियो । सो बजेट मध्ये हालसम्म ३० प्रतिशत मात्र रकम भुक्तानी भएको उनले जानकारी दिए । उनका अनुसार हालसम्म ठेकेदारलाई पिल्लरको ढलान रकम मात्र भुक्तानी गरिएको छ । बाँकी रकम पुलको पूरै निर्माण पछि भुक्तानी गरिने उनले बताए ।

 

बानेश्वर र कोटेश्वरको आकाशे पुल आर्थिक वर्ष २०७६/७७ मा सम्पन्न गर्ने लक्ष्य सहित सुरु गरिएको थियो । बानेश्वरको आकाशे पुल ०७६ वैशाखबाट निर्माण गर्न सुरु गरिएको थियो । ९ महिना भित्र सम्पन्न गर्ने लक्ष्य सहित सुरु गरिएको यस आकाशे पुलका लागि सो पुल ३ करोड ५२ लाख रुपैयाँ बजेट छुट्याइएको थियो ।

 

विभागले कोभिडका कारण निर्माणमा ढिलाइ हुन गएको जनाएको छ । प्राकृतिक एन्ड पवन जेभी कम्पनीले उक्त बानेश्वर तथा कोटेश्वरमा आकाशे पुल निर्माण ठेक्का लिएको छ । ९ महिना भित्र उक्त आकाशे पुल निर्माण भइसक्नुपर्ने सम्झौता भए पनि विभिन्न अवरोधहरुका कारण निर्माणमा ढिलाइ हुँदै आएको छ ।

 

कोटेश्वरको आकाशे पुल नबन्ने

 

कोटेश्वरमा बनाइने आकाशे पुलको विवाद भने अझै सुल्झिन सकेको छैन । आकाशे पुल निर्माणका क्रममा एयरपोर्ट जग्गा समेत मिचेर हवाइ जहाज आउने क्रममा आकाशे पुलले समस्या दिने भएपछि सो पुल निर्माणको टुंगो नलागेको हो ।

 

कोटेश्वरमा बन्ने भनिएको आकाशे पुल नबन्ने निश्चित भएको डिभिजन कार्यालयका सूचना अधिकारी रानले बताए । एक साथ सुरु गर्ने भनिएको यस आकाशे पुल स्थान नपाए पछि रोकिएको हो ।

 

‘त्यहाँका वस्ती भएका मानिसहरुले पुल बनाउन ठाउँ दिएका छैनन्, अर्कोतर्फ यरपोर्टको जमिन भएकाले छुट्टै समस्या देखापर्ने भयो, यो बन्ने निश्चत छैन,’रानले चाणक्य पोष्टसँग भने ।

 

कोटेश्वरमा आकाशे पुल बनाउदा जहाज ल्याण्डीङमा समस्या ल्याउन सक्ने देखिएको विभागले जनाएको छ । कोटेश्वरमा निर्माण हुने आकाशे पुलको लागि २ करोड ९० लाख रुपैयाँ खर्च छुट्याइएको थियो ।

ठेकेदारको हेलचक्र्याइँले रसुवागढी जलविद्युतको उपकरण जडानमा ढिलाइ Read Previous

ठेकेदारको हेलचक्र्याइँले रसुवागढी जलविद्युतको उपकरण जडानमा ढिलाइ

नबिल बैंकले लगातार दोस्रोपटक पायो एडीबीको ‘लिडिङ पार्टनर बैंक’ अवार्ड Read Next

नबिल बैंकले लगातार दोस्रोपटक पायो एडीबीको ‘लिडिङ पार्टनर बैंक’ अवार्ड