काठमाडौंका ३ नगरपालिकामा कित्ताकाट गर्न रोक, टुक्रा जग्गा भने किनबेच गर्न पाइने

काठमाडौं । काठमाडौंको पूर्वोत्तर भेगका तीन नगरपालिकामा नयाँ सहर (स्मार्ट सिटी) निर्माणका लागि जग्गाको कित्ताकाट रोक लगाइएको छ।

 

काठमाडौं उपत्यका विकास प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौंका गोकर्णेश्वर, कागेश्वरी-मनहरा र शंखरापुर नगरपालिका क्षेत्रमा २ वर्षका लागि जग्गाको कित्ताकाट गर्न रोक लगाएको हो।

 

उपत्यका विकास प्राधिकरण अन्तर्गत तीन नगरपालिकाले गठन गरेको ‘पूर्वी काठमाडौँ नयाँ सहर विकास आयोजना’ले ८ आनाभन्दा कम हुने गरी कित्ताकाट गर्न र जग्गाको स्वरुप परिवर्तन गर्न रोक लगाएको हो ।

 

सूचना अनुसार २ वर्षम्म जग्गाको कित्ताकाट गर्दा न्यूनतम ८ आनासम्मको टुक्रा बनाउन पाउने तर, यसअघि नै ८ आनाभन्दा कम रहेका जग्गालाई थप कित्ताकाट गर्न पाइने छैन। यद्यपि, साविकका टुक्रा जग्गा किनबेच गर्न भने कुनै रोकतोक नलगाइएको प्राधिकरणले जनाएको छ ।

 

‘दुई वर्षका लागि ८ आनाभन्दा बढी क्षेत्रफल भएका कित्ताहरुलाई न्यूनतम ८ आनासम्म मात्र क्षेत्रफल कायम हुनेगरी कित्ताकाट गर्न पाइने र आयोजनाबाट सूचना प्रकाशन गर्नुपूर्व ८ आनाभन्दा कम क्षेत्रफल भएका कित्ता जग्गा कित्ताकाट गरी टुक्र्याउन नपाइने तर ८ आनाभन्दा कम क्षेत्रफल भएका साविकका कित्ता किनबेच गर्न पाउने भन्ने निर्णय भएको,’ प्राधिकरणले प्रकाशित गरेको सूचनामा भनिएको छ ।

 

१८ हजार रोपनी जग्गा ल्याण्ड पुलिङ गरिँदै

 

आयोजनाले पूर्वी क्षेत्रका ३ नगरपालिका समेटेर नयाँ स्मार्ट सिटी बनाउन लागेको हो । जसका लागि जग्गा एकीकरण गर्ने, आयोजनाको विस्तृत परियोजना रिपोर्ट (डीपीआर) तयार पार्ने काम अघि बढाएको जनाएको छ।

 

आयोजनाले कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. १, २, ३ र ४, गोकर्णेश्वर नगरपालिकाको वडा नं. १, २ र ४ एवं शङ्खरापुर नगरपालिकाको वडा नं. ९ भित्रको करिब २६ हजार रोपनी जग्गामध्ये १८ हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गर्न लागेको हो ।

 

एकीकरण गरिने जग्गामध्ये १६ हजार रोपनी व्यक्तिको पर्ने प्रारम्भिक अनुमान गरिएको छ । २ हजार रोपनी जग्गा भने सार्वजनिक, पर्ती, नदी, वन क्षेत्रको पर्ने प्रारम्भिक अनुमान गरिएको छ । सार्वजनिक जग्गामा खुला स्थानका साथै आकर्षक उद्यानसमेत बनाइने छ ।

 

जग्गा एकीकरण गर्दा जग्गा धनीको ३५ प्रतिशत जग्गा काटिने भएको छ । त्यसमध्ये २० प्रतिशत सडक, पाँच प्रतिशत खुला स्थानका लागि र १० प्रतिशत जग्गा बेचेर आयोजनालाई व्यवस्थित गर्ने सोच अघि सारिएको छ । हाल सडक नपर्ने जग्गाधनीबाट बढी जग्गा लिएर व्यवस्थित गर्ने सिद्धान्त पनि आयोजनाले अघि सारेको छ ।

 

यी हुन् कित्ताकाट गर्न रोक लगाइएका ठाउँहरु

 

अमेरिकाको महत्वकांक्षी योजना : २०३० सम्ममा कुल हिस्साको ५० प्रतिशत विद्युती गाडी विक्री गर्ने Read Previous

अमेरिकाको महत्वकांक्षी योजना : २०३० सम्ममा कुल हिस्साको ५० प्रतिशत विद्युती गाडी विक्री गर्ने

भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल बरामद Read Next

भन्सार छलेर ल्याइएका ७८ लाखका मोबाइल बरामद