यी हुन् आइपीओ जारी गर्न अनुमति पाएका ६ कम्पनी, कुनको कति कित्ता आउँदै ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण ह्वात्तै बढेको छ । १ वर्षको अवधिमा प्राथमिक बजारमा लगानीकर्ताको संख्या दोब्बरले बढेर ३६ लाख नाघेको छ दोस्रो बजारमा पनि ७ लाख पुगेका छन् ।

 

दोस्रो बजारमाभन्दा प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण अत्यधिक रहेको छ । थोरै लगानीमा छोटो समयमै राम्रो प्रतिफल पाउने भएपछि लगानीकर्ता प्राथमिक बजारमा लगानी गर्न मरिहत्ते गर्न थालेका छन् ।

 

केही वर्ष अघिसम्म निष्काशन गरेको आइपीओ नबिकेर अन्डरराइटरले सकार्नुपर्ने अवस्था थियो भने अहिले लगानीकर्ताको संख्या अधिक भएकाले १० कित्ता सेयर पाउन पनि भाग्यकै भर पर्नु पर्ने अवस्था छ ।

 

लगानीकर्ताको संख्या बढ्दै जाँदा सर्वसाधरणमा सेयर जारी गर्ने कम्पनीको संख्या पनि बढ्दै गएका छन् । गत वर्ष करिब डेढ दर्जन कम्पनीले आइपीओ जारी गरे भने चालू वर्षमा पनि डेढ दर्जनबढी कम्पनी पाइपलाइनमा छ ।

 

तीमध्ये ६ वटा कम्पनीले आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् भनने १ दर्जन कम्पनी प्रक्रियाको चरणमा छन् । बोर्डबाट अनुमति पाएका ६ कम्पनीमा ४ वटा जलविद्युत्, एउटा लघुवित्त र एउटा इन्स्योरेन्स कम्पनी रहेका छन् । यी कम्पनीले २ करोड बराबरको २ करोड कित्ता आइपीओ जारी गर्ने भएका हुन् ।

 

आइपीओ जारी गर्न मध्यभोटेकोशी जलविद्युत्, तेह्रथुम पावर कम्पनी, साम्लिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत्, मानुषी लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्स छन् ।

 

कुन कम्पनीको कति कित्ता आइपीओ आउँदै ?

 

मध्य भोटेकोशी जलविद्युतको डेढ अर्बको 

 

मध्य भोटेकोशी जलविद्युत् कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ जारी गर्नेछ । कम्पनीले हाल पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपााल्चोकका वासिन्दाका लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

 

निष्काशित कुल आइपीओमध्ये भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविकको लिस्ती र मार्मिङ गाविस), बाह्रविसे नगरपालिका वडा नं। ५ र ६ (साविकको गाती गाविस) र बाह्रविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ र मानेश्वर गाविस) का स्थानीयका लागि ३० प्रतिशत अर्थात् १८ लाख कित्ता र बाँकी ४२ लाख कित्ता (७० प्रतिशत) जिल्लाका अन्य क्षेत्रका वासिन्दाका लागि छुट्याइएको छ ।

कम्पनीको आइपीओमा स्थानीयले साउन १७ गतेसम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । स्थानीयलाई आइपीओ जारी गरिसकेपछि कम्पनीले सर्वसाधरणका लागि ९० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ ।

 

आयोजनाले हाल सिन्धुपाल्चोकको भोटेकोशीमा १०२ मेगावाट क्षमताको आयोजना बनाइ रहेको छ । आयोजनाको कुल लागत १४ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

 

तेह्रथुम पावरको १२ करोडको

 

कम्पनीले धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएको छ । सोमध्ये कम्पनीले पहिलो चरणमा साउन ५ गतेदेखि आयोजना प्रभावित तेह्रथुम जिल्लाका आयोजना प्रभावितलाई प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।

 

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा साउन १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ नबिकेमा ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन पाउनेछन् ।

 

स्थानीयलाई आइपीओ बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि सेयर जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआएबीएल एस क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

 

कम्पनीले हाल तेह्रथुममा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत १८ करोड ३० लाख रुपैयाँ छ । हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ पछि चुक्ता पूँजी ४० करोड पुग्नेछ ।

 

मैलुङ खोला जलविद्युत्को ७ करोड ३६ लाखको

 

मैलुङ खोला जलविद्युत्ले साउन १४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आइपीओ विक्रीमा ल्याउने भएको छ ।

 

निष्काशन हुने कुल सेयरमध्ये २ प्रतिशत (१४ हजार ७२६ कित्ता) कम्पनीक कर्मचारी र ५ प्रतिशत (३६ हजार ८१४) कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले यस अघि नै आयोजना प्रवाभित रसुवाका स्थानीयका लागि ३ लाख ६८ हजार १४४ कित्ता १० प्रतिशत आइपीओ विक्री गरिसकेको छ ।

 

कम्पनीको आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ विक्री नभएमा भने साउन २८ गतेसम्म आवेदन दिन पाइने छ । उक्त आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धका सिद्धार्थ क्यापिटल रहेको छ ।

 

कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्राएनपी ग्रेड ५’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्नसक्ने क्षमता कमजोर रहेको जनाउँद छ ।

 

कम्पनीको जारी पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनी संस्थापक समूहको ७० प्रतिशत, स्थानीय बासीन्दाको १० प्रतिशत र सर्वसाधारणको २० प्रतिशत सेयर स्वामित्व संरचना रहेको छ । कम्पनीले रसुवा जिल्लाको डाँडागाउँमा ५ मेगावाटको मैलुङ खोला जलविद्युत् आयोजना बनाइरहेको छ ।

 

सानिमा लाइफको ६० करोडको

 

सानिमा लाइफले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ जारी गर्न अननुमति पाइसकेको छ ।

 

कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन आइपीओ जारी गर्न लागेको हो । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी (ट्रिपल बी) माइनस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।

 

हाल १ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ जारी पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

 

साम्लिङ पावर कम्पनी

 

साम्लिङ पावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ताको लागि आइपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आइपीओ जारी गर्न नेपाल एसबीआई मचेन्ट बैंकिङलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

 

मानुषी लघुवित्तले ४ लाख कित्ता जारी गर्दै

 

मानुषी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता निष्काशन गर्न अनुमति पाएको छ । लघुवित्तले आइपीओ जारी गर्न नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्गलाई विक्री प्रबन्धक लगानी गरिसकेको छ ।

भोलिदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन पाइने Read Previous

भोलिदेखि लामो दूरीका सार्वजनिक गाडी चलाउन पाइने

ग्लोबल आइएमई बैंकका कर्मचारीले घुम्नलाई कम्तीमा ७ दिन बिदा लिनैपर्ने Read Next

ग्लोबल आइएमई बैंकका कर्मचारीले घुम्नलाई कम्तीमा ७ दिन बिदा लिनैपर्ने