लकडाउनले स्वरोजगार महिलाको रोजिरोटी नै गुम्यो, भन्छन् अब कसरी छाक टार्ने

काठमाडौं । देशभर लक डाउन भएको १ महिना बितिसक्यो । देशभर सबै उद्योग तथा हरेक क्षेत्रमा लकडाउनले प्रभाव पारेको छ । यस बीच ठूला उद्योगीले बारम्बार सरकारसँग राहत प्याकेजका लागि छलफल गरिरहेका छन् ।

 

तर, यस अवधिमा परिवारको छाकटार्न काम गर्ने न्यून वर्गका साना उद्यमी महिलाहरु बढी प्रभावित भएका छन् ।  सिलाई गर्ने, ठेला, डोकोमा तरकारी बेच्ने, फूटपाथमा व्यापार गर्ने लगायतका उद्यम गर्दै आएका महिलाहरुअहिले बढी समस्यामा परेका छन् ।

 

चाबहिलस्थित गौरीघाटमा कपडा सिलाउने काम गदै आएकी लता मगर आजभोली पसल बन्द गरेर घरमै थुनिएर बसेकी छन् । वैशाखमा सधैं धेरै कपडाको अडर आउने गर्थ्यो तर, अहिले उनीसँग कुनै अडर छैन । यो महिनामा विवाहाका लागि धमाधम सिलाउन बेस्त हुने गरेकी उनी अहिले आफै कोठामा थुनिएर छोरासँग खेल्दै दिन बिताउने गरेकी छन् । ‘यो समयमा सधै भ्याइ नभ्याई हुन्थ्यो, कोरोनाले यो पटक घरमै थुनेको छ,’ मगरले भनिन् ।

 

विगतमा वैशाखका लागि चैत महिनामै कपडाको अडर पाउने उनले यो पटक चैतमा समेत काम पाइनन् । उनले बेलैमा लक डाउन हुन्छ भन्ने थाहा नभएर गाउँ समेत जान नपाएको गुनासो गरिन ।

 

ठेलामा साग बेच्दै हिँड्ने अम्वीका रेग्मी बाहिर हिँड्नै छाडेकी छिन् । लक डाउन ठेलामा साग बेच्दै हिँड्ने उनी कालिमाटी बन्द भएपछि साग बेच्न पाएकी छैनन् ।

 

विगतमा कालिमाटीमा तरकारी नपाउदा साँखु पुगेर भए पनि साग ल्याएर बेच्ने गरिकी उनी अहिले ढुवानीमा समस्या भएपछि साग बेच्न असमर्थ भएकी छन् ।  ‘कालिमाटी बन्द भयो, त्यहाँ नहुँदा साग लिन साँखु गइन्थ्यो, गाडी नचलेपछि त्यहाँ पनि जान सकेको छैन, अब घरमै नबसे के गर्नु,’ रेग्मीले भनिन् ।

 

दोलखाकी बीमला थापा लामो समयदेखि फूटपाथ व्यापार गर्दै  आएकी छन् । तर, १ महिना यता लकडाउनका कारण उनले व्यापार गर्न पाएकी छैनन् । थोरै पूँजी लगानी गरेर व्यापारी गरी त्यसैबाट घरखर्च चलाउँदै आएकी उनी अहिले छोरा छोरीलाई दिनभरी बस्दा कसरी दुई छाक खुवाउने भन्ने चिन्तामा छिन् उनी । ‘काम गरी खानसम्म पाइएको छैन्, छैन, सरकारले दिएको राहतले एक हप्ता पनि टरेन,’ उनले भनिन्, ‘नत त सरकारले खान पुग्ने राहत दिन्छ, न काम गरी खाना नै । यस्तै भयो भने भोकै मर्नु पर्ने अवस्था आउँछ ।’

 

यी केही प्रतिनिधि उदाहरण मात्र हुन । हाम्रो समाजमा यस्ता कयौँ महिलाहरु रहेका छन् । जो आफ्नो घर चलाउन विभिन्न साना तथा मझौला व्यवसाय गर्दै आएका छन् । महिला उद्यमी महासंघका अनुसार नेपालमा करिब ५ लाख बढि साना तथा ठूला महिला उद्यमी रहेका छन् ।

 

ट्रम्पद्वारा ‘आप्रवासन भिसा’ रोक्ने घोषणा Read Previous

ट्रम्पद्वारा ‘आप्रवासन भिसा’ रोक्ने घोषणा

नेपाल टेलिकमले ल्यायो ‘जिरो ब्यालेन्स प्याकेज’ योजना Read Next

नेपाल टेलिकमले ल्यायो ‘जिरो ब्यालेन्स प्याकेज’ योजना