काठमाडौं । विगत केही वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) को समास्या झेलिरहेका छन् । बैंकहरुले आवश्यकता अनुसार निक्षेप संकलन गर्न नसक्दा माग अनुसारको कर्जा दिन सकिरहेका छैनन् ।
यसले एकातिर ग्राहकले सजिलै ऋण पाउन सकेका छैनन् भने अर्कोतिर बैंकहरुको व्यवसाय विस्तार र कमाईमा संकुचन आएको छ ।ऋणको माग उच्च तथा निक्षेप संकलन दर न्यून भएकै कारण बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त नभएको हो ।
सरकारले पूँजीगत खर्च गर्न नसक्नाले बजारमा तरलता अभाव भएको बैंकहरु बताउँछन् भने बैंक तथा वित्तीय संस्थाले आक्रमक रूपमा कर्जा विस्तार गरेको कारण यस्तो अवस्था आएको राष्ट्र बैंकको ठम्याइ छ ।

नेपाल राष्ट्र बैंकले तरलता अभाव हुन नदिन बैंक तथा वित्तीय संस्थाहरुलाई विदेशबाट ऋण लिन सक्ने बाटो खुल्ला गरिदिएको छ । तर त्यो व्यवस्था पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको देखिदैन ।
लगानी योग्य रकम जुटाउनको लागि राष्ट्र बैंकले बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र बेच्नैपर्ने बाध्यकारी व्यवस्था गरेको छ । बैंकहरुले पनि धमाधम ऋणपत्र निकाष्काशन गरिरहेका छन् । तर, बैंकहरुले निष्काशन गरेका ऋणपत्र बिक्न सकिरहेका छैनन् । यसले गर्दा बैंकहरुलाई लगानीयोग्य रकम जुटाउन झनै सकस भएको छ ।
यो पनि पढ्नुहोस्ः कुन बैंकबाट ऋण लिँदा सस्तो ? यी हुन सस्तो ब्याजदरमा कर्जा दिने बैंकहरु
हाल केही वाणिज्य बैंकहरुको कर्जा तथा निक्षेप अनुपात (सीसीडी) नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा पनि माथि पुगिसकेको छ । जसले गर्दा बैंकहरुलाई कर्जा लगानी गर्न समस्या भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरु सीसीडी अनुपात ८० प्रतिशत भन्दा माथि पुर्याउन नपाउने व्यवस्था गरेको छ ।
बैंकहरुले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्ट अनुसार २८ खर्ब ७७ अर्ब निक्षेप संकलन गरी २५ खर्ब २२ अर्ब कर्जा लगानी गरेका छन् ।
केही बैंकहरुले निक्षेप संकलनकै अनुपातमा कर्जा परिचालन गरेका छन् भने केही बैंकहरुले निक्षेप संकलनभन्दा कर्जा लगानी बढी गरेका छन् । यस्ता बैंकहरु थप कर्जा लगानी गर्न सक्ने अवस्था नै छैन् ।

पहिलो त्रैमासमा बैंकहरुले २८ खर्ब ७७ अर्ब निक्षेप संकलन गरी २५ खर्ब २२ अर्ब कर्जा लगानी गरेका छन् । वाणिज्य बैंकहरूको सीसीडी अनुपात औसतमा ७६.४२ प्रतिशत रहेको देखिएको छ ।
सरकारी स्वामित्वका तीनसहित १० वटा वाणिज्य बैंकहरुको सीसीडी अनुपात औसतभन्दा कम रहेको छ भने १८ वटा बैंकको औसतभन्दा बढी रहेको छ । यसमा पनि तीन वाणिज्य बैंकहरुको सीसीडी अनुपात राष्ट्र बैंकले तोकेको सीमा ८० प्रतिशत नजिक रहेको छ ।
सरकारी स्वामित्वको नेपाल, कृषि विकास, राष्ट्रिय वाणिज्य र निजी क्षेत्रका स्ट्यान्डर्ड चार्टर्ड, नबिल, हिमालयन, एभरेष्ट, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश र नेपाल इन्भेष्टमेन्ट बैंकको सीसीडी अनुपात औसतभन्दा कम रहेको छ । तुलनात्मक रुपमा यी बैंकहरुलाई कर्जा परिचालनमा अन्य बैंकको भन्दा केही सहजता देखिएको छ ।

ग्लोबल आइएमई बैंकसँग मर्जरमा जान लागेको जनता बैंक, कुमारी बैंक र सेञ्चुरी कमर्शियल बैंकको सीसीडी अनुपात ८० प्रतिशतको हाराहारीमा रहेको छ । यस आधारमा यी बैंकहरुलाई थप कर्जा प्रवाह गर्न कठिन हुने देखिन्छ ।
पहिलो तीन महिनाको विवरणमा सबैभन्दा कम सीसीडी अनुपात सरकारी स्वामित्वको नेपाल बैंकको रहेको । यसको सीसीडी अनुपात ६८.६३ प्रतिशत रहेको । सीसीडी अनुपातको आधारमा अन्य बैैंकहरुलाईभन्दा यसलाई कर्जा प्रवाह गर्न केही सहज देखिएको छ ।
यो पनि पढ्नुहोस्ः यी हुन् पहिलो त्रैमासमा खुद नाफा घटाउने ८ बैंक
नेपालले चालू आवको प्रथम त्रैमाससम्ममा १ खर्ब १४ अर्ब निक्षेप संकलन गरी ९२ अर्ब कर्जा लगानी गरेको छ । बैंकसँग अझै २२ अर्ब लगानी योग्य रकम रहेको छ ।
यस्तै सीसीडी अनुपात कम हुनेमा विदेशी स्वामित्वको स्ट्यान्डर्ड चार्टर्ड बैंक दोस्रोमा रहेको छ । प्रथम त्रैमाससम्ममा यसको सीसीडी अनुपात ६९.९३ प्रतिशत रहेको छ । बैंकले यस अबधिसम्ममा ७५ अर्ब ८६ करोड निक्षेप संकलन गरी ५१ अर्ब ६८ करोड कर्जा लगानी गरुेको छ ।
यस्तै, सबैभन्दा बढी सीसीडी अनुपात बैंकको ग्लोबल आइएमई बैंकसँग मर्जरमा जान लागेको जनता बैंकको रहेको छ । यसको सीसीडी अनुपात ७९.९३ प्रतिशत रहेको छ । यस्तै धेरै सीसीडी अनुपात हुनेमा कुमारी र सेञ्चुरी कमर्शियल बैंक रहेको छ । यिनीहरुको सीसीडी अनुपात क्रमशः ७९.२१ र ७९.८० रहेको छ ।