पोखराको आकाशमा स्काइड्राइभ, लोभिँदै साहसिक खेल पारखी

पोखरा सुन्दर शहरका रूपमा विश्वभर प्रसिद्ध छ । तालतलैया हिम शृङ्खलाले पर्यटकलाई आकर्षित गर्ने क्षमता पोखरासँग छ । यसका अतिरिक्त साहसिक खेलको शहरका रूपमा पनि पोखराले उचाइ लिँदैछ ।

 

प्याराग्लाइडिङ, अल्ट्रालाइट, हटएयर बेलुन, स्काइड्राइभ, क्यानोनिङ, जिप फ्लाएर, बन्जी जम्प, र्‍याफ्टिङ, कायाकी बोटिङजस्ता खेलले समेत पछिल्लो समय साहसिक खेलप्रेमीको उत्कृष्ट गन्तव्य पोखरा बन्दै गएको छ ।

 

अहिले पोखरामा साहसिक खेलमध्येको एक स्काइ ड्राइभिङ मङ्गलबारबाट पोखरामा शुरु भएको छ । काठमाडौँ एक्स्पलोर हिमालय नामक कम्पनीले सञ्चालन गरेको यस खेललाई पोखरा स्काइड्राइभ २०१९ नाम दिइएको छ । मङ्गलबार मात्र १० नेपालीले स्काइ ड्राइभिङ गरेको कम्पनीले जनाएको छ ।

 

साहसिक खेलमा ३० प्रतिशतको जोखिम रहने भए पनि डरभन्दा माथि राखेर खेलप्रेमीहरुले आनन्द लिने गरेका छन् । पूर्वी नेपालको इटहरीबाट स्काइ ड्राइभिङलगायतका अन्य पाँच खेलको प्याकेजसहित पोखरा भ्रमणमा आउनुभएका अनुपमले पोखरामा विशेषगरी हटएयर बेलुन र स्काइड्राइभजस्ता साहसिक खेलले थप लोभ्याएको बताए।

 

हेलिकप्टरबाट प्यारसुटको सहायताले माछापुच्छ्रे«लाई पृष्ठभूमिमा राखेर बादल माथिबाट ‘ग्राउण्ड’ हामफाल्नुको मजा शब्दमा उतार्न नसकिने उनको अनुभव छ ।

 

उनीसँगै मङ्गलबारनै पूर्व मिस नेपाल सुविन लिम्बूले पनि स्काइड्राइभ गरेका थियो । जुम्लाबाट साहसिक खेल खेल्नकै लागि आएकी ज्योति हमालले पनि स्काइड्राइभको मजा लिए ।

 

“यसले बेग्लै अनुभूति दिन्छ, यसभित्र उत्पन्न डरभित्रको आनन्दनै साहसिक खेलको विशेषता हो । साहसिक खेलले स्वयंलाई मूल्याङ्कन गर्न पनि सहयोग पुर्‍याउँछ ।” साहसिक खेलका लागि आत्मविश्वास र आत्मबल दुवै आवश्यक हुने उनको अनुभव छ ।

 

मङ्गलबार मात्रै १० मध्ये चार महिला यस खेलमा सहभागी भए । यसले पछिल्लो समय साहसिक खेलमा महिला सहभागिता बढ्दै गएको अनुमान गर्न सकिन्छ ।

 

भ्रमण वर्षलाई सफल पार्न र पोखरामा पर्यटकको बसाइ लम्ब्याउन पनि यस्ता साहसिक खेलका गतिविधिले भूमिका निर्वाह गर्ने नेपाल पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी विप्लव पौडेल बताउँछन् । स्काइ ड्राइभिङ गर्ने साहसिक खेल पारखीबाट पोखरालाई चिनाउन थप मद्दत पुग्ने उनको विश्वास छ ।

 

बञ्जी जम्पमा जम्मा तीन सेकेण्डको ‘फ्रि फल’ हुन्छ भने स्काइ ड्राइभिङमा १५ सेकेण्ड जतिको फ्रि फल हुने भएकाले पनि साहसिक खेल पारखीको लागि यो रोजाइमा पर्दै गएको छ ।

 

यस खेल खेल्नका लागि नेपालीले ९० हजार रुपैयाँ र विदेशीले एक हजार अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । सन् २००८ बाट परीक्षण र २०१३ बाट व्यावसायिक उडान गर्न थालिए पनि नेपाली दक्ष जनशक्तिको अभावका कारण र आर्थिकरूपमा पनि महँगो भएकाले त्यति फस्टाउन भने सकेको छैन ।

 

कम्पनीका महाप्रबन्धक अनुज पाण्डेले १० नेपालीसहित १६० ले यो याममा स्काइड्राइभ गर्ने बताए । पोखराको पामे क्षेत्रमा रहेको एभिया क्लबको हवाई खेलकूद अभ्यास मैदानमा भएको खेलमा १३ विदेशी विज्ञले उडान र जम्प गराइरहेका छन् । रासस

मानसरोवर यात्रा : भारतीय पर्यटकलाई रकम बढ्दा नेपाली व्यवसायी चिन्तामा Read Previous

मानसरोवर यात्रा : भारतीय पर्यटकलाई रकम बढ्दा नेपाली व्यवसायी चिन्तामा

यी हुन् थप ऋण दिन नसक्ने अवस्थामा पुगेका बैंक, कुनको सीसीडी कति (सूचीसहित) Read Next

यी हुन् थप ऋण दिन नसक्ने अवस्थामा पुगेका बैंक, कुनको सीसीडी कति (सूचीसहित)