यी हुन् पहिलो त्रैमासमा खुद नाफा घटाउने ८ बैंक

काठमाडौं । नेपालमा हाल सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंकहरु मध्ये ८ वटा बैंकहरुको पहिलो त्रैमासको खुद नाफा गत वर्षको सोहि अवधिको तुलनामा घटेको छ । त्यति मात्र नभएर समग्र बैंकिङ क्षेत्रकै नाफामा संकुचन आएको छ ।

 

गत वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको भन्दा २५ प्रतिशतले नाफा बढाएका बैंंकहरुको नाफा यो वर्ष ६ प्रतिशतमा झरेको छ । यसको मतलब समग्र बैंकिङ क्षेत्रको नै नाफा बृद्धिदर खुम्चिएको छ ।

 

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २८ वटा बैंकले कूल १६ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको यसै अबधिमा बैंकहरुको कूल खुद नाफा १५ अर्ब २२ करोड रुपैयाँ रहेको थियो ।

 

 

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक र निजी क्षेत्रका दुई बैंक नबिल र एनआइसी एशियाले पहिलो त्रैमासमैै १ अर्ब भन्दा बढी नाफा कमाएका छन् । वाणिज्य बैंक र नबिल बैंकले १ अर्ब १२ करोड रुपैयाँ र एनआइसी एशियाले १ अर्ब नाफा कमाएका हुन् ।

 

यद्यपी, २८ मध्ये ८ बैंकले भने गत वर्षको सोहि अवधिकोभन्दा पनि कम नाफा कमाएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सिभिल बैंक, नेपाल बैंक, नेपाल एसबीआई बैंक र बैंक अफ काठमाडौंले गत वर्षको सोहि अवधिको भन्दा पनि कम नाफा कमाएका हुन् ।

 

सरकारी स्वामित्व रहेको नेपाल बैंकले गत वर्ष ९१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएकोमा यो वर्ष ५८ करोड १८ लाख रुपैयाँमात्र कमाएको छ । यो भनेको ३६ प्रतिशतभन्दा पनि बढीको गिरावट हो । यसैगरी निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २० प्रतिशत हाराहारीले घटेकोछ । गत वर्ष १ अर्ब भन्दा बढी नाफा कमाएको इन्भेष्टमेन्ट यो वर्ष ८४ करोड ४४ लाख रुपैयाँमा खुम्चिएको छ ।

 

 

बैंक अफ काठमाडौंको नाफा झिनो ०.८० प्रतिशतले घटेको छ । गत वर्ष ३८ करोड ६८ लाख कमाएको बैंकले यो वर्ष ३८ करोड ३७ लाख नाफा कमाएको छ । यसैगरी गत वर्ष ५२ करोड ५० लाख कमाएको सिद्धार्थ बैंकले यो वर्ष ५२ करोड १४ लाख रुपैयाँ कमाएको छ ।

 

सिटिजन र एनसीसी बैंकको नाफा क्रमश १८.५७ र २०.६२ प्रतिशतले घटेको छ । यी दुई बैंकले गत वर्ष ४२ करोड ८८ लाख र ४२ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका थिए । तर, यो वर्ष यी दुई बैंक ३४ करोड ९१ लाख र ३४ करोडमा खुम्चिएका छन् ।

 

यसैगरी नेपाल एसबीआई बैंकको पनि १० प्रतिशत भन्दा बढीले नाफा घटेको छ । गत वर्ष ४८ करोड ९७ लाख रुपैयाँ कमाएको बैंकले यो वर्ष ४३ करोड ७२ लाख मात्र कमाउन सक्यो ।

 

२८ वटा बैंकहरु मध्ये सबैभन्दा कमजोर बैंकको रुपमा रहेको सिभिल बैंकले फेरी एकपटक १४.११ प्रतिशतले नाफा घटाएर आफू झन् कमजोर हुँदै गएको थप प्रमाण पेश गरेको छ ।

 

गत वर्ष १८ करोड ५० लाख रुपैयाँ नाफा गरेको सिभिल यो वर्ष १५ करोड ८९ लाखमा झरेको छ । यो भनेको कतिपय राष्ट्रिय स्तरको विकास बैंकहरुको भन्दा पनि कम नाफा हो ।

लोडसेडिङ हटेपछि विद्युत् खपत बढाउन यस्तो छ प्राधिकरणको तयारी Read Previous

लोडसेडिङ हटेपछि विद्युत् खपत बढाउन यस्तो छ प्राधिकरणको तयारी

९० प्रतिशत जनता करको दायरा बाहिर, कर प्रशासन भन्छ सुधार हुँदैछ Read Next

९० प्रतिशत जनता करको दायरा बाहिर, कर प्रशासन भन्छ सुधार हुँदैछ