९० प्रतिशत जनता करको दायरा बाहिर, कर प्रशासन भन्छ सुधार हुँदैछ

काठमाडौं । सरकारले राजस्व संकलनमा उल्लेख्य सुधार भएको बताए पनि कर तिर्नेको संख्या भने न्यून देखाएको छ । आन्तरिक राजस्व विभागले दिएको जानकारीअनुसार कूल जनसंख्याको १० प्रतिशत जनतामात्रै करको दायरामा समेटिएका छन् भने ९० प्रतिशत जनता करको दायरा बाहिर रहेका छन् ।

 

आठौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले हालसम्म मुलुकभरबाट जम्मा २९ लाख ६५ हजार करदाता करको दायरामा रहेको जानकारी दिए । उनले भने, “गत वर्ष २१ लाख करदाता थिए भने अहिले यो संख्या करिब ३० लाख नजिक पुगेको छ । यो वर्ष आठ लाख करदता थपिएको हाम्रो अनुमान छ ।”

 

उनले सरकारले बजेटमार्फत सबै व्यक्तिले प्यान अनिवार्य लिनुपर्ने प्रावधान ल्याएसँगै करदाताको संख्यामा उत्साहजनक वृद्धि भएको जानकारी दिए । ‘प्यान फर अल कार्यक्रमबाट नयाँ ७ लाख ९४ करदाताले स्थायी लेखा नम्बर लिएका छन्,’ उनले भने हालसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ३९ हाजर रहेको छ ।

 

सरकारले चालू आर्थिक वर्ष ०७६/७७ बाट सबै व्यक्तिले अनिवार्य प्यान लिनुपर्ने प्रावधान ल्याएको छ । यस नीतिअनुसार नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने प्रावधान रहेको छ । पछिल्लो ५ वर्षयता मदिरा र चुरोटजन्य बाहेक अन्य वस्तुको कर नीतिमा खासै परिवर्तन नगरी दायरा विस्तारमा जोड दिएकाले करदाताको संख्या थप भएको विभागले खुलाएको छ ।

 

गत वर्षको तथ्यांक अनुसार आन्तरीक राजस्वतर्फको औषत वृद्धिदर २२ प्रतिशत रहेको छ । महानिर्देशक कुँवरले चालू आर्थिक वर्षमा विभागलाई ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व असुलीको लक्ष्य तोकिएको जानकारी दिँदै लक्ष्यअनुसार नै राजस्व संकलनका लागि विभिन्न रणनीति तयार गरेर अघि बढिरहेको जानकारी दिए ।

 

हाामीले पछिल्लो वर्षमा गरेका सुधारका कार्यक्रमलाई आधार मान्दा आन्तरिक उत्पादनलाई हामीले जोड दिएका छौं, उनले भने,आयकरतर्फको राजस्व वृद्धिदर दक्षिण एसियामै हाम्रो असाध्यै राम्रो छ, करको दायरा विस्तारलाई समेत हामीले जोड दिएका छौं । कुँवरका अनुसार विभागले कर प्रणालीमा संरचनात्मक परिवर्तन गरी आयातमा निर्भर कर प्रणालीलाई क्रमश आन्तरिक आर्थिक क्रियाकलापमा आधारित तुल्याई कर प्रणालीमा रुपान्तरण गर्ने मूल्य लक्ष्यका साथ काम गरिरहेको छ ।

 

त्यस्तै, महानिर्देशक कुँवरले घरजग्गा कारोबारमा हुने राजस्व चुहावट नियन्त्रणका लागि विभागले भूमि व्यवस्थापन तथा अभिलेख विभागको सूचना प्रणालीसंग सूचना आदान प्रदान गर्ने तयारी गरेको पनि जानकारी दिए । घरजग्गाको कारोबार मूल्य सरकारले थाहा नपाउने र यसबाट पुँजीगत लाभकर असुली नहुने भएपछि राजस्वले भूमिसंग तथ्यांक आदान प्रदान गर्न लागेको हो, उनले भने ।

 

उनका अनुसार विभिन्न फर्म तथा कम्पनीको वित्तीय विवरणका सूचना आदान प्रदानका लागि नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासंग भएको सहकार्य जस्तै अब भूमि व्यवस्थापनसंग पनि सहकार्य हुने छ । हालको अवस्थमा घरजग्गा कारोबारको राजस्व संकलन मालपोत कार्यालयमार्फत हुने गरेको छ ।

 

उत्कृष्ट करदातालाई सम्मान

 

राष्ट्रिय कर दिवसको अवसरमा सरकारले धेरै कर तिर्ने उत्कृष्ठ करदाताहरुलाई सम्मान गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले ८ औं कर दिवस समारोहमा उत्कृष्ठ करदाताहरुलाई सम्मान गरेका हुन् । सबै भन्दा धेरै कर तिरेर सम्मान पाउने करदाताको सूचिमा सूर्य नेपाल परेको छ भने ठूलो निर्यातकर्ताका रुपमा डाबर नेपालले सम्मान पाएको छ ।

 

जगदम्बा सिमेन्टले चुरोट, मदिरा बाहेकको क्षेत्रबाट धेरै कर तिरेर सम्मान पाएको छ भने अन्नपूर्ण एग्रोले कृषि तर्फको सम्मान पाएको छ । लघुवित्त कम्पनी तर्फ छिमेक लघुवित्तले सम्मान पाउँदा बाणिज्य बैंक तर्फ राष्ट्रिय वाणिज्य बैंकले सम्मान प्राप्त गरेको छ । बीमा तर्फ नेपाल लाइफले सम्मान पाएको छ भने स्वास्थ्य तर्फ मणिपाल शिक्षण अस्पताल पुरस्कृत भएको छ ।

 

त्यस्तै, सूचना प्रबिधिका क्षेत्रमा वल्र्ड लिंकले धेरै कर तिरेर सम्मान पाउँदा व्यापार तर्फ अग्नी इन्कर्पोरेटेडले पुरस्कृत हुने अवसर पाएको छ । पर्यटन तर्फ भने तारा गाउँ रिजेन्सी होटलले धेरै कर तिरेर सम्मान प्राप्त गरेको छ ।

 

मध्यमस्तरिय करदाताका रुपमा कामना सेवा विकास बैंकले सम्मान पाएको छ । व्यक्तिगत तर्फ धेरै आयकर तिर्नेमा सिद्धार्थ समशेर राणाले नै सम्मान पाएका छन् । समयमै विवरण बुझाउने असल करदाताको सम्मान भने घेराही सिमेन्टले जितेको छ । आन्तरिक राजश्व तर्फ धेरै कर तिर्नेमा भीएफ सर्भिस मोरिसस प्रालिले सम्मान पाएको छ ।

यी हुन् पहिलो त्रैमासमा खुद नाफा घटाउने ८ बैंक Read Previous

यी हुन् पहिलो त्रैमासमा खुद नाफा घटाउने ८ बैंक

द्रूतमार्गलाई थप व्यवस्थित बनाइने Read Next

द्रूतमार्गलाई थप व्यवस्थित बनाइने