यी हुन सस्तो ब्याजदरमा कर्जा दिने बैंकहरु

काठमाडौं । केही दशक अगाडिसम्म पनि केही गर्नुपर्यो भने चिनेजानेका, आफन्त तथा साहू महाजनसँग मात्र ऋण लिने चलन थियो । मानिसको जीवनशैलीमा आएको परिवर्तन, बदलिँदो अर्थव्यवस्था तथा विश्वव्यापीकरणको प्रभावले यसको दायारामा परिवर्तन ल्याएको छ ।

 

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको संख्या र पहुँच बढेसँगै नेपालमा पनि व्यावसायीक तथा व्यक्तिगत प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिने प्रचलन बढ्दै गएको । आफ्नो आम्दानी तथा पूँजीले मात्र व्यवसाय गर्न पर्याप्त नहुने भएकाले साना व्यापारीदेखि ठूला व्यावसायी समेत ऋण लिन बैंकमा जाने गर्छन ।

 

मानिसहरुले घरजग्गा,सवारीसाधन खरिद गर्न,सेयरमा लगानी गर्नदेखि अन्तर्राष्ट्रिय स्तरका उद्योग संचालन गर्न ऋण लिने गर्छन् । यसले एकातिर व्यावसायीलाई आफ्नो उद्योगधन्दा विस्तारमा सहजता प्रदान गरेको छ भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाको कमाई बढाएको छ ।

 

तपाईं कुनैपनि व्यावसायीक वा व्यक्तिगत प्रयोजनको लागि बैंकबाट ऋण लिने सोचमा हुनुहुन्छ ? अथवा कुन बैंकमा सबैभन्दा सस्तो ब्याजदरमा ऋण पाइन्छ भन्ने थाहा नपाएर भौंतारिरहनु भएको छ ? तपाईंहरुको जिज्ञासालाई समेट्न सहज होस् भनेर हामीले २८ वटा वाणिज्य बैंकको आधारदरको बारेमा जानकारी दिने प्रयास गरेका छौं ।

 

कुन बैंकबाट ऋण लिदा सस्तो ब्याजमा पैसा पाइन्छ त ? यसको लागि तपाइईंले बैंकहरुको आधार दर (बेस रेट) कति छ भनेर हेर्नुपर्ने हुन्छ ।आधार दरले नै कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिँदा सस्तो वा महंगो ब्याज तिर्नु पर्छ भन्ने निर्धारण गर्दछ ।

 

बैंकहरुले ऋण लगानी गर्दा वित्तीय विवरणमा प्रकाशित गर्ने आधार दरभन्दा केही महंगो ब्याज लिन्छन् । यसमा उनीहरुले केही प्रतिशत प्रिमिय जोडेर कर्जा लगानी गर्छन् ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले नैं बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा प्रिमियम थप गरेर कर्जा लगानी गर्न पाउने नीतिगत व्यवस्था गरेको छ । तर, आधार दरमा कतिसम्म प्रिमियम जोडर कर्जाको ब्याजदर कायम गर्ने भन्ने स्पष्ट तोकेको छैन् ।

 

राष्ट्र बैंकले निक्षेप र कर्जाको ब्याज अन्तर (स्प्रेड) दर भने ५ प्रतिशत भन्दा बढी हुन नहुने व्यवस्था गरेको छ । साथै  चालू आर्थिक वर्षको असार मसान्तसम्ममा स्प्रेडदर ४.५ प्रतिशतभन्दा कममा झार्न बैंकहरुलाई निर्देशन दिएको छ ।

 

बैंकहरुले ऋण लगानी गर्दा कर्जाको प्रकृति अनुसार आफैंले प्रिमियम निर्धारण गर्ने गरेका छन् । अहिले बैंकहरुले आधारदरमा कर्जाको प्रकृति अनुसार शून्यदेखि ८ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा लगानी गर्दै आएका छन् ।

 

बैंकहरूले न्यूनतम् ८ प्रतिशतदेखि १८ प्रतिशतसम्म ब्याजदरमा कर्जा लगानी गरेका छन् । ‘क’ वर्गका वाणिज्य बैंकहरुले पर्याप्त मात्रमा निक्षेप संकलन गर्न नसक्दा कर्जाको ब्याजदर विकास बैंक र फाइनान्स कम्पनीकै हाराहारीमा पुगेको छ ।

 

कुन बैंकबाट ऋण लिँदा ब्याजदर सस्तो ?

 

वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा कम आधार ब्याजदर पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । यसको आधार ब्याजदर ६.६ प्रतिशत मात्र छ ।

 

बैंकले यो आधारदरमा न्यूनतम् १ प्रतिशतदेखि कर्जाको प्रकृति अनुसार थप  प्रिमियम जोडेर कर्जा लगानी गर्दछ । वाणिज्य बैंकबाट न्यूनतम् ७.६ प्रतिशत ब्यादजरमा ऋण पाउन सकिन्छ ।  बेसरेटका आधारमा राष्ट्रिय वाणिज्य बैंक  सबैभन्दा सस्तो ब्याजदरमा ऋण दिने बैंक हो ।

राष्ट्रिय वाणिज्य बैंकपछि सस्तो ब्याजदरमा ऋण दिने बैंकहरुमा विदेशि लगानीको स्ट्यान्डर्ड चार्टर, नबिल र सरकारी लगानीकै नेपाल बैंक रहेका छन् । यिनीहरुको आधारदर क्रमशः ७.६३, ७.८४ र ७.९४ प्रतिशत रहेको छ ।

 

यस्तै, तीन बैंकको आधारदर ९ प्रतिशत भन्दा कम रहेको छ । नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट र हिमालयन बैंकको आधार ब्याजदर क्रमशः ८.४८, ८.८० र ८.९३ रहेको छ । यी बैंकहरु पनि तुलनात्मक रुपमा सस्तो ब्याजदरमा कर्जा दिने बैंकहरुको सूचीमा पर्दछन् ।

 

कर्जा लगानीमा ब्याजदरको हिसाबले १० प्रतिशतभन्दा कम ब्याजदर मा ऋण दिने बैंकहरुलाई मध्यम स्तरको बैंकको रुपमा लिइन्छ । यस्तो सूचीमा ८ वटा बैंकहरु रहेका छन् । प्रगतिपथमा लम्किँदै गरेका सानिमा, प्रभु, ग्लोबल आइएमई, एनआइसी एशिया बैंकको आधार दर क्रमशः ९.२१, ९.२४, ९.४४ र ९.५१ रहेको छ ।

 

यस्तै, प्राइम कमर्शियल, नेपाल बंगलदेश, एसबीआइ र सनराइज बैंकको पनि अधार ब्याजदर १० प्रतिशतभन्दा कम रहेको छ । यिनीहरुको अधार ब्याजदर क्रमशः ९.६७, ९.८७, ९.९४ र ९.९७ प्रतिशत रहेको छ ।

 

कर्जा लगानीमा ब्याजदरको हिसाबले १० प्रतिशतभन्दा बढी ब्याजदर हुने बैंकहरुलाई महँगो बैंकका रुपमा लिइन्छ । १३ वटा वाणिज्य बैंकहरुको आधार ब्याजदर १० प्रतिशतदेखि ११ प्रतिशतसम्म रहेको छ ।

 

सिद्धार्थ, बैंक अफ काठमाण्डू, जनता, कृषि विकास, मेगा, लक्ष्मी, एनएमबी, माछापुच्छे, कुमारी, सिटिजन्स्, सेञ्चुरी कर्मशियल र एनसीसी बैकको आधार ब्याजदर १० देखि ११ प्रतिशतको बीचमा रहेको छ ।

 

ब्यादरको आधारमा  सिभिल बैंक सबैभन्दा महँगाे बैंकका रूपमा रहेका छ। यसकाे आधार ब्याजदर ११.११ प्रतिशत छ ।

 

बैंकहरुको आफ्नो आधार ब्याजदरमा कर्जाको प्रकृति अनुसार बैंकहरुले न्यूनतम शून्य प्रतिशतदेखि अधिकतम् ८ प्रतिशतसम्म थप प्रिमियम जोडेर कर्जाको ब्याज हिसाब गर्दै आएका छन् । यसको आधारमा बैंकबाट लिने कर्जाकाे ब्याजदर न्यूनतम आधारदर सरह नै र अधिकतम् १८ प्रतिशतसम्म पर्ने गरेकाे छ ।

 

नोटः यहाँ प्रस्तुत सामाग्री बैंकहरुले प्रकाशन गरेको चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरणको आधारमा तयार पारिएको हो ।  

सिटिजन्स बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा विशेष छुट Read Previous

सिटिजन्स बैंकका ग्राहकलाई चिरायु नेशनल हस्पिटलमा विशेष छुट

सेयर बजारको ओरालो यात्रा कायमै,  साल्ट ट्रेडिङको मूल्यमा पोजेटिभ सर्किट Read Next

सेयर बजारको ओरालो यात्रा कायमै, साल्ट ट्रेडिङको मूल्यमा पोजेटिभ सर्किट