काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजार घट्ने क्रम अझै रोकिएको छैन । यो साता आइतबारदेखि निरन्तर घटेको बजारले आजपनि उही लय समातेको छ । सूचक घटे पनि कारोबार रकममा भने ५ करोडले बढोत्तरी आएकाे छ ।
आज सेयर बजार मापक सूचक नेप्से १.६५ अंकले घटेर ११२८.३४ विन्दुमा पुगेको छ । आज १६५ कम्पनीको ३० करोड ३७ लाख २४ हजार २०४ रुपैयाँ बराबरको कारोबार भएको छ । १० लाख ९७ हजार ९२० कित्ता सेयर किन बेच भएका छन् ।
कारोबार भएका १२ वटा समूहमध्ये बैंकिङ्ग र व्यापार समूहको सूचक उकालो लागेका छन् भने बाँकी सबै सूचक ओरालो लागेका छन् । आज व्यापार समूहको सूचक सबैभन्दा धेरै ३२.९९ अंकले बढेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ३०.३७ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको ३ करोड ५४ लाख ९९ हजार ९५७ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा नेपाल बैंक र नबिल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नेपालको २ करोड ६८ लाख र नबिलको २ करोड २१ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज पनि साल्ट ट्रेडिङ कर्पोरेशन र घोडाघोडी लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । आज रिडि हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ६.६६ प्रतिशतले घटेको छ ।