काठमाडौं । कोरोनाका कारण समयमै ऋण असुल हुन नसक्दा बैंकहरुको खराब कर्जा (नन पर्फमिङ लोन) ह्वात्तै बढेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७६/७७ मा करिब साढे ३ खर्ब बढी कर्जा लगानी विस्तार गरेका बैंकहरुको खराब कर्जा औसतमा ०.३८ प्रतिशतले बढेको छ ।
अघिल्लो आवको अन्त्यसम्म करिब २४ खर्ब कर्जा लगानी गरेका बैंकहरुको खराब कर्जा औसतमा १.३८ प्रतिशत थियो । कोरोनाका कारण बैंकहरुले नियमित रुपमा ऋण असुल्न नसक्दा त्यो बढेर १.७६ प्रतिशत पुगेको छ । गत आवको अन्त्यसम्म करिब पौने २८ खर्ब कर्जा लगानी गरेका वाणिज्य बैंकहरुको खराब कर्जा मात्रै ४९ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।
अघिल्लो आवको तुलनामा २२ वटा बैंकहरुको खराब कर्जा बढेको छ भने ५ बैंक मात्र खराब कर्जा घटाउन सफल भएका छन् ।
बैंकहरुबीच नाफा बढाउने अस्वभाविक होडले आक्रमक रुपमा कर्जा प्रवाह गर्नु, लगानी गरेको कर्जा समयमै अशुल्न नसक्नाले बैंकहरुको खराब कर्जा बढेको हो । कोरोनाका कारण समग्र अर्थतन्त्रलाई नै प्रभाव पारेकाले समयमै कर्जा उठ्न नसकेको हो ।

गत आवमा सबैभन्दा धेरै खराब कर्जा राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । सबैभन्दा धेरै नाफा कमाएको यस बैंकको खराब कर्जा ४.७७ प्रतिशत पुगेको छ ।यस्तै, एभरेष्ट बैंक सबैभन्दा कम खराब कर्जा हुने बैंक बनेको छ । यस बैंकको कुल कर्जाको ०.२२ प्रतिशत मात्र खराब कर्जा रहेको छ ।
५ बैंकले मात्र घटाए खराब कर्जा, २२ बैंकको बढ्यो
गत आवमा वम्मा ५ वटा बैंकले मात्र खराब कर्जा घटाउन सफल भएका छन् । जसमा प्रभु, कृषि विकास, नेपाल, लक्ष्मी र हिमालयन बैंक रहेका छन् ।
गतआवमा सबैभन्दा धेरै खराब कर्जा प्रभु बैंकले घटाएको छ । अघिल्लो वर्ष कुल कर्जाको ३.७६ प्रतिशत खराब कर्जा रहेको बैंकले गत आवमा त्यस्तो कर्जा २५ प्रतिशतले घटाएर २.८१ प्रतिशतमा झारेको छ ।

यस्तै, कृषि विकासले १७.६३, लक्ष्मीले १३.३३, हिमालयनले ९.८२ र नेपाल बैंकले १.८९ प्रतिशतले खराब कर्जा घटाउन सफल भएका छन् ।
यस्तै, गत आवमा २२ बैंकको खराब कर्जा बढेको छ । कोरोनाका कारण समयमै कर्जा असुल गर्न नसक्दा अधिकांश बैंकहरुको खराब कर्जा बढेको हो । जसमा सबैभन्दा धेरै बैंकहरुको खराब कर्जा बढेको हो ।
खराब कर्जा धेरै हुनेमा सरकारी बैंक अग्रपंक्तिमा
चौथो त्रैमासिक वित्तीय विवरण अनुसार धेरै खराब कर्जा हुने बैंकहरूमा सरकारी स्वामित्वका बैंकहरू अग्र पंक्तिमा छन् । गत आवमा सबैभन्दा धेरै नाफा कमाएको राष्ट्रिय वाणिज्य बैंकको खाराब कर्जा पनि सबैभन्दा धेरै रहेको छ ।
गत वर्षमा १ खर्ब ४७ अर्ब कर्जा लगानी गरेको बैंकको खराब कर्जा ४.७७ पुगेको छ । गत आवाको समीक्ष अवधिमा बैंकको खराब कर्जा ३.४० प्रतिशत थियो ।
निक्षेक संकलन, कर्जा लगानी, खुद आम्दानी लगायत सूचकमा पहिलो नम्बरमा रहेको बैंक खराब कर्जामा पनि पहिलो नम्बरमै रहेको छ । यसले बैंकले नाफा कमाउने उद्देश्यले अन्धाधुन्ध ऋण प्रवाह गरेको तर, जारी भएको कर्जा समयमै अशुल्न नसकेको देखिन्छ ।
राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जाको सीमा नेपाल राष्ट्र बैंकले तोकेको सीमा नजिक पुगेको छ । राष्ट्र बैंकले कुनै पनि बैंकको खराब कर्जा ५ प्रतिशतभन्दा बढी हुनु नहुने गरी सीमा तोकेको छ । यदि बैंकको खराब कर्जा केन्द्रीय बैंकले तोकेभन्दा बढी भएका राष्ट्र बैंकले सम्बन्धित बैंकलाई कारबाही गर्दै विभिन्न कार्य गर्न रोक लगाउने व्यवस्था छ ।
सरकारी स्वामित्वकै कृषि विकार नेपाल बैंकको पनि खराब कर्जा धेरै हुने बैंकको सूचीमा शीर्ष स्थानमै रहेका छन् । यी दुवै बैंकको खराब कर्जा २ प्रतिशतभन्दा माथि नै रहेको छ ।

खराब कर्जा धेरै हुने बैंकको दोस्रो सूचीमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । यसको खराब कर्जा २.९१ प्रतिशत रहेको छ । यस्तै धेरै खराब कर्जा हुनेहरुमा नेपाल बंगलादेश बैंक २.८९, प्रभु २.८१, एनसीसी २.७९, एनएमबी २.७१ प्रतिशत रहेको छ ।
११ बैंकको खराब कर्जा २ प्रतिशतभन्दा माथि
गत आवमा ११ वटा बैंकको खराब कर्जा २ प्रतिशभन्दा माथि रहेको छ । जसमा सरकारी स्वामित्वका तीन सरकारी बैंकसहित निजी क्षेत्रका ठूला मानिएका नेपाल इन्भेष्टमेन्ट, एनएमबी, प्रभु लगायतका रहेका छन् ।
यस्तै, ९ वटा बैंकको खराब कर्जा १देखि २ प्रतिशतको बीचमा रहेका छन् । जसमा चुक्ता पूँजीका आधारमा देशकै ठूलो ग्लोबल आइएमई बैंकसहित हिमालयन, सिद्धार्थ, प्राइम कमर्हियल, कुमारी, लक्ष्मी लगायत बैंक रहेका छन् ।
७ वटा बैंकको भने खराब कर्जा १ प्रतिश रहेका छन् । जसमा निजी क्षेत्रको लिडर बैंकको रुपमा रहेको नबिल सहित विदेशी लगानीका स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबीआई तथा सानिमा, एनआसी एसिया, माछापुच्छे बैंक रहेका छन् ।
कसरी बढ्छ खराब कर्जा
बैंकहरूले प्रवाह गरेको कर्जा तोकिएको मितिभन्दा ३ महिना भित्र अशुल गर्न नसकेका त्यस्तो कर्जा खराब कर्जामा परिणत हुन्छ । बैंकहरूले धितोमा राखेको सम्पत्ति लिलामीबाट केही रकम अशुल गर्ने भएपनि सबै कर्जाको धितो पर्याप्त नहुने अवस्था खराब कर्जा झनै बढ्छ ।
खराब कर्जा बढेसँगै बैंकको समग्र प्रगतिमा असर पार्छ । बैंकले कर्जा प्रवाह गर्दा नै संभावीत जोखिमबापत रकम छुट्याउनु पर्ने प्रावधान रहेको छ । कर्जा प्रवाह गर्ने बित्तिकै कर्जाको १ प्रतिशत, ३ महिना भित्र ऋणीले साँवा तथा ब्याज तिर्न सकेन भने बैंकले सो कर्जाको २५ प्रतिशत रकम संभावीत जोखिम बापत छुट्याउनु पर्छ ।
त्यस्तै गरी ६ महिनासम्ममा अशुल नभए ५० प्रतिशत, ९ महिनासम्मा अशुल नभए ७५ प्रतिशत र १ वर्षसम्म पनि अशुल नभए शतप्रतिश रकम कर्जा जोखिम व्यवस्था वापत छुट्याउनु पर्छ । कर्जा अशुली हुन नसके यसरी जोखिम व्यवस्थापन गरेको रकम फिर्ता हुँदैन् । यसले बैंकहरूको लगानी योग्य रकमको साथै नाफामा समेत असर पार्छ ।
राष्ट्र बैंकले पुस मसान्तसम्म नियमित भुक्तानी भएको कर्जालाई असार मसान्तसम्म पनि असल वर्गमा नै राखेर प्रोभिजन गर्नु नपर्ने व्यवस्था गर्दिए पनि बैंकहरुको खराब कर्जा भने बढेको देखिन्छ । समग्र बैंकिङ्ग प्रणालीमै खराब कर्जा बढ्दै गएको छ । यो बैंकिङ प्रणाली तथा समग्र अर्थतन्त्रकै लागि नकरात्मक पक्ष हो ।
यद्यपि राष्ट्र बैंक अनुसार ५ प्रतिशभन्दा कम खराब कर्जा हुनुलाई बैंकको अवस्था कम जोखिमपूर्ण नै मानिन्छ । त्यसैले नेपाली बैंकहरुको अहिलेको अवस्थामा खराब कर्जा धेरै भयो भनेर आँत्तिहाल्नु पर्ने अवस्था भने नरहेको बैंकरहरुको भनाइ छ ।
नोट : माथि उल्लेखित तथ्यांकहरु बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार तयार पारिएको हो ।
यो पनि पढ्नुहोस् : २१ वाणिज्य बैंकको खुद नाफा घट्यो, कुन बैंकको कति (तथ्यांकसहित)