२१ वाणिज्य बैंकको खुद नाफा घट्यो, कुन बैंकको कति (तथ्यांकसहित)
चाणक्य पोष्ट
प्रकाशित : 9:49 am, आइतबार, साउन ३२, २०७७

काठमाडौं । कोरोना भाइरसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा पनि देखिएको छ । वाणिज्य बैंकहरुले प्रकाशन गरेको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार ७८ प्रतिशत बैंकहरुको खुदा नाफा घटेको छ ।

 

गत आवमा हाल सञ्चालनमा रहेका २७ मध्ये २१ वटा बैंकहरुको खुद नाफा खुम्चिएको छ । बैंकहरुको नाफा औसतमा ११ प्रतिशतले घटेको छ ।

 

आर्थिक वर्ष २०७५/७६ मा कुल ६१ अर्ब ६८ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएका बैंकहरुले गत आवमा कुल ५४ अर्ब ३१ करोड ६० रुपैयाँमा खुम्चिएका छन् । यो अघिल्लो आवको तुलनामा ७ अर्ब ३७ करोड द३८ लाख रुपैयाँ कम हो । अघिल्लो आवमा बैंकहरुको नाफा वृद्धिदर करिब २५ प्रतिशत रहेको थियो ।

 

कोरोना रोकथामका लागि लगाइएको लकडाउनका कारण व्यवसाय विस्तार गर्न नसक्दा बैंकहरुको नाफा प्रभावित भएको हो । यस्तै बैंकहरूले समयमै कर्जा असुली गर्न नसक्दा त्यसबापत प्रोभिजन गर्दा, राष्ट्र बैंकको निर्देशन अनुसार किस्ता भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत ब्याज छुट दिँदा, बैंकहरुको सञ्चालन खर्च समेत बढ्दा नाफामा प्रत्यक्ष असर परेको हो ।

 

यद्यपि, राष्ट्र बैंकले गत आवको असारसम्म नउठेको कर्जा असोजसम्म उठाएमा त्यो पनि नाफामा देखाउन पाउने व्यवस्था गरिदिएको छ । यसले गर्दा गत आवमा बैंकहरुको नाफा अझै केही मात्रमा बढ्ने ठाउँ भने छ । गत आवको असारसम्ममा बैंकहरुले असुल्न बाँकी साँवा/ब्याज करिब साढे ५१ अर्ब रहेको छ ।

 

७८ प्रतिशत बैंकको नाफामा गिरावट

 

गत आवमा ७८ प्रतिशत अर्थात २१ वटा बैंकको नाफामा गिरावट आएको छ । यी बैंकहरुको नाफा औसतमा करिब १७ प्रतिशतले घटेको छ ।

गत आवमा सबैभन्दा धेरै नाफा सिभिल बैंक र नेपाल एसबीआइ बैंकको घटेको छ । जसमा सिभिलको सबैभन्दा धेरै ३५.४ प्रतिशत र एसबीआइको ३३.२३ प्रतिशतले घटेको छ ।

 

यस्तै, माछापुच्छे बैंकको २६ प्रतिशतले घटेको छ भने सानिमा, सिटिजन्स्, प्रभु, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डू नेपाल बंगलादेश बैंकको पनि २१ प्रतिशत भन्दा धेरैले नाफा खुम्चिएको छ ।

 

यस्तै, निजी क्षेत्रका बैंकहरुमा सधैं अब्बल रहँदै आएको नबिल बैंकको समेत नाफा घटेको छ । यसको खुद नाफा करिब १६ प्रतिशतले घटेको छ ।

 

गत आवमा ६ वटा बैंकको मात्र नाफा १० प्रतिशत भन्दा कमले घटेको छ । जसमा सबैभन्दा कम कुमारी बैंकको ०.३१ प्रतिशतले घटेको छ ।

 

कोरोनाका बाबजूद ६ बैंकले बढाए नाफा

 

कोरोनाका बाबजूद ६ वटा बैंकले भने आफ्नो नाफा बढाउन सफल भएका छन् । अघिल्लो आवको तुलनामा निक्षेप संकलनका साथै कर्जा लगानी बढाउँदा, कोरोना अवधिमा उठाउनु पर्ने धेरैजसो किस्ता/ब्याज असुल गर्न सक्दा यी बैंकको नाफा वृद्धि भएको छ ।

गत आवमा सबैभन्दा धेरै सेञ्चुरीले कमर्शियल बैंकले नाफा बढाएको छ । यस बैंकले आफ्नो खुद नाफा ३३.९९ प्रतिशतले बढाएको छ । सेञ्चुरीले गत आवमा आफ्नो नाफा करिब २३ करोडले बढाएर ९० करोड पुर्याएको छ ।

 

यस्तै, बिग मर्जर गरेको ग्लोबल आइएमईले बैंकले पनि आफ्नो नाफा ११ प्रतिशतले बढाएको छ । यस्तै, एनसीसीले १०.७४ प्रतिशत, प्राइम कमर्शियलले ४.२८ प्रतिशत, एनआइसी एशियाले ३.२५ प्रतिशत र एनएमबी बैंकले ०.५९ प्रतिशत खुद नाफा बढाएका छन् ।

 

धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक अग्र स्थानमा

 

विगतका वर्षहरुमा जस्तै गत आवमा पनि सबैभन्दा धेरै नाफा कमाउने बैंकको शीर्ष स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । अघिल्लो आवको तुलनामा करिब ५९ करोड नाफा घटाएको वाणिज्य बैंक गत आवमा ४ अर्ब ४५ करोड रुपैयाँ कमाउँदै सबैभन्दा धेरै नाफा गर्ने बैंक बनेको हो ।

 

यस्तै गत आवमा ४ वटा बैंकले ३ अर्बभन्दा बढी नाफा कमाएका छन् ।  जसमा ३ अर्ब ५६ अर्ब कमाउँदै नबिल बैंक दोस्रोमा रहेका छ भने, कृषि विकास, एनआइसी एशिया र ग्लोबल आइएमई बैंक शीर्ष ५ मा रहेका छन् । अघिल्लो आवमा ३ अर्बभन्दा बढी नाफा कमाउने बैंकको संख्या ५ वटा रहेको थियो ।

यस्तै, गत आवमा ७ वटा बैंकले २ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । जसमा नेपाल इन्भेष्टमेन्ट, नेपाल, हिमालय, एभरेष्ट, प्राइम, एनएमबी र सिद्धार्थ बैंक रहेका छन् ।

 

यस्तै, ४ वटा बैंकले डेढ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् भने ९ बैंकले १ अर्बदेखि डेढ अर्बसम्म नाफा कमाएका छन् ।गत आवमा दुई बैंकले भने १ अर्बभन्दा कम नाफा कमाएका छन् । जसमा सिभिल र सेञ्चुरी बैंक रहेका छन् ।

 

गत आवमा सबैभन्दा कम नाफा कमाउने बैंक सिभल रहेको छ । यसले जम्मा ४५ करोड मात्र नाफा कमाएको छ । अघिल्लो आवमा ७० करोड नाफा कमाएको बैंकको सञ्चालन खर्च अनियन्त्रित हुँदा र कर्जा असुली गर्न नसक्दा नाफा २५ करोडले घटेको छ ।

 

नोट : माथि उल्लेखित तथ्यांकहरु बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय वित्तीय विवरण अनुसार तयार पारिएको हो ।

Advertisement Section