भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं । सरकारले यही भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्न दिने भएको छ ।

 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शर्तसहित उडान खोल्ने निर्णय गरेको हो ।हवाईजहाजबाट ल्याइने यात्रुको अनिवार्य पीसीआर परीक्षण र नेपाल फर्किएपछि अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

 

पीसीआर परीक्षण सहज भएका देशमा मात्र पहिलो चरणमा अन्तर्राष्ट्रिय उडान हुनेछ । पीसीआर सहज हुने मुलुक बाहेकमा भने नेपालीलाई घर फर्काउने प्रयोजनका लागि साविकमा जस्तै चार्टर्ड उडान मात्र हुने भएको छ ।

 

पहिलो चरणमा अमेरिका, यूरोप, चीन, थाइल्याण्ड, हंगकंग, मलेसियासहितका देशबाट नेपाल आउने पाइने छ । यसरी आउन पाउने सूचीमा नेपाली नागरिक, विदेशी कुटनीतिक नियोगका कर्मचारी तथा पदाधिकारी र विकास साझेदार संघसंस्थाका प्रतिनिधिलाई मात्र अनुमति मिल्नेछ । विदेशी नागरिकले भने तत्काल नेपाल प्रवेशको अनुमति नपाउने भएका छन् ।

 

पीसीआर परीक्षण हुन सम्भव नभएका साउदी अरव, कुवेत, कतारलगायत मुलुकबाट आउने नागरिकलाई नेपाल ल्याउनै पर्ने भए चार्टर्ड जहाज जानेछन् । अब नेपाल आउने सबै अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।

 

हवाई टिकट काट्दाकै समयमा होटेलको पैसासमेत असुल गरिनेछ । वायुसेवा कम्पनीले होटेललाई पैसा दिनेछन् । होटेलमा बस्दाको खर्च आफै तिर्नुपर्ने छ ।

 

अब जहाजले पीसीआर टेष्ट गरेका र नगरेका यात्रुलाई एउटै जहाजबाट ल्याउन पाउने छैनन् । ल्याएमा सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने भएको छ । सरकारले त्यसरी काठमाडौं आउँदा जहाज चढ्नु ७२ घण्टा अगाडिको कोभिड रिपोर्ट चाहिने व्यवस्था पनि गरिएको छ ।

चौतर्फी विरोधपछि एयरपोर्टमै छोडेर आएका यात्रु लिन फेरि दुबइ जाँदै नेपाल एयरलाइन्स Read Previous

चौतर्फी विरोधपछि एयरपोर्टमै छोडेर आएका यात्रु लिन फेरि दुबइ जाँदै नेपाल एयरलाइन्स

पौने २८ खर्ब कर्जा लगानी गरेका बैंकहरूको खराब कर्जा ४९ अर्बभन्दा बढी, कुन बैंकको कति ? Read Next

पौने २८ खर्ब कर्जा लगानी गरेका बैंकहरूको खराब कर्जा ४९ अर्बभन्दा बढी, कुन बैंकको कति ?