बैंकहरुकोे सेयरधनीलाई दिने नाफा १५ अर्ब घट्यो, कुन बैंकको लाभांश क्षमता कति (तथ्यांकसहित)

काठमाडौं । गत आर्थिक वर्षका वाणिज्य बैंकहरुको नाफा घटेसँगै वितरण योग्य नाफा (लाभांश क्षमता)मा पनि गिरावट आएको छ ।

 

अघिल्लो आर्थिक वर्षको तुलनामा औसतमा ११ प्रतिशतले नाफा घटाएका बैंकहरुको गत वर्षमा वितरण योग्य नाफा करिब ३३ प्रतिशत अर्थात १४ अर्ब ६५ करोडले घटेको छ ।

 

गत आवमा २७ वाणिज्य बैंकहरुले ५४ अर्ब ३१ करोड ६० रुपैयाँमा खुद नाफा कमाएका छन् । जसमा केन्द्रीय बैंकले तोकेको विभिन्न शीर्षकहरुमा तोके अनुसार रकम छुट्याए सेयरधनीलाई बाँड्न मिल्ने रकम भने ३० अर्ब ८५ करोड छ ।

 

अघिल्लो आर्थिक वर्षम ६५ अर्ब ४४ करोड खुद नाफा कमाएका वाणिज्य बैंकहरुको वितरण योग्या नाफा साढे ४५ अर्ब रहेको थियो ।

गत आवमा कोरोनाका कारण बैंकहरुले नियमित किस्ता/ब्याज असुल हुन नसक्दा नाफामा ठूलो असर परेको हो । त्यस्तै, राष्ट्र बैंकको निर्देशन अनुसार असारसम्म तिर्नु पर्ने किस्ताको ब्याजमा १० प्रतिशत छुट दिँदा, बैंकहरुको सञ्चालन खर्च बढ्दा, कर्जाको ब्याजदर घट्नु लगायत कारणले बैंकहरुको नाफामा गिरावट आएको हो ।

 

कोरोनाका कारण असार मसान्तसम्ममा उठ्नु पर्ने ऋण असुली नहुँदा बैंकहरुले कमाएको नाफाबाट नै उक्त रकम प्रोभिजन गर्दा वितरण योग्य नाफामा भारी गिरावट आएको हो । अघिल्लो वर्षको तुलानमा ११ प्रतिशत मात्रै खुद नाफा घटे पनि बैंकहरुको खराब कर्जा बढ्दा वितरण योग्य नाफामा ठूलो असर परेको हो । असारसम्म उठ्नुपर्ने ऋण असुल्न हुन नसकेपछि बैंकहरुले कमाएको नाफाबाटै उक्त रकम प्रोभिजन गर्दा लाभांश क्षमता ३३ प्रतिशतले कमी आएको हो ।

 

बैंकहरुले मुख्यगरी सेयरधनीलाई वितरण योग्य नाफाबाट लाभांश दिने गर्छन् । साथै बैंककहरुले सेयर प्रिमियमबाट संकलन भएको रकमबाट पनि आफ्ना सेयरधनीलाई लाभांश खुवाउन सक्छन् । सेयर प्रिमियम भनेको बैंक तथा वित्तीय संस्थाले अर्को संस्थालाई मर्ज वा एक्वीजीसन गर्दा वा प्रिमियममा एफपीओ जारी गर्दा नाफा भएको रकमको जोडलाई मानिन्छ ।

 

राष्ट्र बैंकको निर्देशन अनुसार सेयर प्रिमियम रहेको रकम नगद लाभांशकोरुपमा बाँड्न नपाउने व्यवस्था रहेकोे छ । यस्तो प्रिमियमको रुपमा जम्मा भएको रकम बोनस सेयरको रुपमा मात्र बाँड्न पाइनेछ ।

 

गत वर्षको नाफाबाट बैंकहरुले औसतमा १२ प्रशित लाभांश दिने क्षमता राखेका छन् । यद्यपि गत आवको असारसम्म नउठेको ऋण चालू असोजसम्म उठाएमा पनि त्यो रकम गत आवको नाफामै जोड्न पाउने राष्ट्र बैंकले व्यवस्था गरिदिएको छ । जसले गर्दा बैंकहरुले उक्त रकम असोजसम्म उठाए भने गत आवको नाफसँगै वितरण योग्य नाफा पनि बढ्ने भएकाले लाभांश क्षमता पनि बढ्ने अनुमान गर्न सकिन्छ ।

 

बैंकहरुले गत आवको असारसम्मको करिब साढे ५१ अर्ब रुपैयाँ ऋण असुल्न बाँकी छ । यदि बैंकहरुले असोजसम्म त्यो रकम असुल गरे भने त्यसबापत हुने नाफा पनि सेयरधनीलाई लाभांशको रुपमा बाँड्न पाउनेछन् ।

 

१५ बैंकले मात्र १० प्रतिशत भन्दा बढी लाभांश दिन सक्ने

 

गत आवको नाफाबाट १५ वटा बैंकहरुले मात्र १० प्रतिशतभन्दा धेरै लाभांश दिन सक्ने लाभांश क्षमता रहेको छ ।

गत आवको वितरण योग्य नाफा र प्रिमियम सेयरका आधारमा नेपाल बैंकको सबैभन्दा धेरै लाभांश क्षमता रहेको छ । यस बैंकको सेयरधनीलाई ३५ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता छ ।

 

यस्तै, विगतका वर्षहरुमा औसतमा वार्षिक ३० प्रतिशत हाराहारीमा लाभांश दिँदै आएको नबिल बैंकको गत आवको नाफाबाट पनि ३० प्रतिशत लाभांश दिनसक्ने क्षमता छ ।

 

यस्तै, गत आवको नाफाबाट एभरेष्ट बैंकको २२, स्ट्यान्डर्ड चार्टर्डको १९, प्राइम कमर्शियल १६, एनआइसी एशियाको १५ प्रतिशत लाभांश दिनसक्ने क्षमता छ । यसैगरी हिमालयन १४, एनमबी, कृषि विकास, लक्ष्मी, माछापुच्छे, नेपाल एसबीआइ ११ प्रतिशत, बैंक अफ काठमाण्डू र प्रभु बैंकको १० प्रतिशत लाभांश वितरण गर्ने क्षमता छ ।

 

११ वटा बैंकले भने गत आवको नाफाबाट १० प्रतिशतभन्दा धेरै लाभांश दिन सक्दैन । जसमा सबैभन्दा कम लाभांश क्षमता सिभिल बैंकको रहेको छ । सिभिलकोे गत आवको वितरणयोग्य नाफाबाट सेयरधनीलाई ३ प्रतिशतमात्र लाभांश दिने क्षमता छ ।

यद्यपि यो तथ्याांकनै अन्तिम भने होइन । बैंकहरुले गत आवको असारसम्म उठाउन बाँकी ऋण असोजसम्ममा असुल गरे भने त्यो पनि गत आवकै नाफामा जोड्न पाउनेछन् । बैंकहरुको अहिलेको वितरण योग्य नाफामा त्यो नाफा पनि जोडेर लाभांश दिन सक्छन् । बैंकहरुले कति लाभांश दिने भन्ने सम्पूर्ण अधिकार भने बैंक सञ्चालक समितिमा निहित रहनेछ ।

 

राष्ट्र बैंकले गत वर्षको नाफाबाट बैंकहरुलाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । बैंकहरुले सेयरधनीलाई कुल लाभांशको ३० प्रतिशतभन्दा बढी नगद लाभांश दिन पाउने छैनन् ।

 

नोट : माथि उल्लेखित तथ्यांकहरु बैंकहरुले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार तयार पारिएको हो ।

 

यो पनि पढ्नुहोस् : २१ वाणिज्य बैंकको खुद नाफा घट्यो, कुन बैंकको कति (तथ्यांकसहित)

पुनर्कर्जाका लागि आवेदन खुला, यी व्यवसायीले मात्र पाउँछन् पुनर्कर्जा Read Previous

पुनर्कर्जाका लागि आवेदन खुला, यी व्यवसायीले मात्र पाउँछन् पुनर्कर्जा

जापानको अर्थतन्त्रमा दोस्रो विश्वयुद्ध यताकै ठूलो गिरावट Read Next

जापानको अर्थतन्त्रमा दोस्रो विश्वयुद्ध यताकै ठूलो गिरावट