सहुलियतपूर्ण कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले गरे साढे ४४ अर्ब लगानी
चाणक्य पोष्ट
प्रकाशित : 1:35 pm, सोमबार, मंसिर २३, २०७६

Advertisement Section

काठमाडौं । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेमध्ये अधिकांशले व्यावसायीक कृषि तथा पशुपालनको लागि कर्जा लिएका छन् ।

 

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा कूल २० हजार ६५९ जनाले बैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियतपूर्ण कर्जा लिएका छन् । यस अन्तर्गत ऋणीलाई ४४ अर्ब ५६ करोड ७८ लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह भएको छ ।

 

कूल साढे २० हजार सहुलियत कर्जा लिनेहरुमध्ये ९१ प्रतिशत अर्थात् १८ हजार ८०५ ऋणीले कृषि कर्जा लिएका छन् । यो कर्जामा बैंक तथा वित्तीय संस्थाहरुले ४३ अर्ब ३६ करोड ४८ लाख ४९ हजार रुपैयाँ लगानी गरेका छन् । यो कूल कर्जा लगानी रकमको ९७ प्रतिशत हो ।

असोजसम्म १ हजार ८५४ जनाले अन्य विभिन्न शीर्षकमा १ अर्ब २० करोड ३० लाख ३५ हजारसहुलियत कर्जा लिएका छन् । जसमा ३५ जनाले शिक्षित युवा स्वरोजगार कर्जाअन्तर्गत २ करोड १० लाख, ८० जनाले विदेशबाट फर्केका युवा परियोजना अन्तर्गत ६ करोड १४ लाख रुपैयाँ कर्जा लिएका छन् ।

 

यस्तै, ६५ जनाले उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा अन्तर्गत १ करोड ९९ लाख, १ सय ४ जनाले दलित समुदाय व्यवसाय विकास कर्जा ६ करोड १३ लाख, १ सय ७५ जनाले भूकम्पपीडितका लागि निजी आवास कर्जा ३ करोड ७३ लाख र १ हजार ३ सय ९५ जनाले महिला उद्यमशीलता कर्जा अन्तर्गत १ अर्ब ११ लाख कर्जा लिएका छन् ।

 

सरकारले असार मसान्तसम्ममा सहुलियतपूर्ण कर्जाको ब्याज बापत १ अर्ब ६२ करोड ८२ लाख २८ हजार ३८२ रुपैयाँ अनुदान दिएको छ ।

 

सरकारले ब्याज अनुदान सहित विभिन्न ७ शीर्षकका व्यवसाय गर्नलाई सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको थियो । हाल यसमा २ क्षेत्र थप गरी ९ शीर्षकमा सहुलियत कर्जा पाइने व्यवस्था गरिएको छ ।

 

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।

 

हालै राष्ट्र बैंकले कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको हो ।

Advertisement Section