अब त्रिविका विद्यार्थीले उपचार खर्चबापत १ लाख रुपैयाँ पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारका लागि १ लाखसम्म रुपैयाँसम्म उपलब्ध गराउने भएको छ ।

 

त्रिविका आंगिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई उपचार खर्च बापत प्रतिव्यक्ति १ लाखसम्म उपलब्ध गराइने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । यसअघि त्रिविले प्रतिविद्यार्थी ५० हजारसम्म उपचार खर्च गर्ने गरेको थियो ।

 

त्रिविले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरी अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट उपचार गराउँदा यो सुविधा पाउनेछन् ।

 

त्रिविवि अन्तर्गतका आंगिक क्यापसमा अध्ययनरत विद्यार्थीलाई उपचारमा यस्तो सुविधा दिइएको हो । यसका लागि विद्यार्थीले क्याम्पसको सिफारिस सहित आवश्यक कागजपत्र पेश गर्नुपर्ने हुन्छ ।

 

ती अस्पतालसँग त्रिविले उपचार खर्चका लागि १ लाखसम्म खर्च गर्ने गरी सम्झौता गरेको छ । देशभरका आंगिक क्याम्पसमा अध्ययन गरेका विद्यार्थीले उक्त सुविधा पाउने छन् ।

 

सम्झौताअनुसार ती अस्पतालले प्रयोगशाला परीक्षण, शैया शुल्कमा प्रतिविद्यार्थी १ लाख रुपैयाँसम्म उपचार खर्च व्यहोर्नेछन् । उनले यसै आर्थिक वर्षमा अन्य क्याम्पस र अस्पतालसँग यस्तो सम्झौता गर्ने तयारी भइरहेको जानकारी दिए ।

 

त्रिवि सभा सदस्य तथा आरआर क्याम्पसका स्ववियु सभापति तपेन्द्रबहादुर शाहीले क्याम्पसको सिफारिसमा गएका विद्यार्थीले उक्त सुविधा पाउने बताए ।

 

उनले आफूहरुले उपचार खर्च पूर्णरुपमा निःशुल्क गराउन माग गरेको पनि बताए । उनका अनुसार क्याम्पसले विद्यार्थीबाट उपचार खर्च भनेर प्रतिविद्यार्थी ५०० रुपैयाँ शुल्क लिँदै आएको छ ।

 

त्रिविले आव २०७३/७४ देखि विद्यार्थीको स्वास्थ्य उपचार कोष खडा गरेर विद्यार्थीलाई उपचारमा सहयोग गर्दै आइरहेको छ ।

 

सम्बन्धन प्राप्त क्याम्पसले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने

 

त्रिविसँग सम्बन्धन लिएका क्याम्पसले पनि १० प्रतिशत निःशुल्क छात्रवृत्ति दिनुपर्ने भएको छ । त्रिवि सभाले सम्बन्धन लिएका क्याम्पसले पनि छात्रवृत्ति दिनुपर्ने निर्णय गरेको रजिष्ट्रार उप्रेतीले जानकारी दिए ।

 

त्रिविमा करिब ६२ आंगिक र १ हजार सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । यसअघि त्रिविका आंगिक क्याम्पसले मात्र छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो । यसैगरी त्रिविले छात्रवृत्तिका लागि ३ करोड ७१ लाख ४६ हजार छुट्याएको छ । रासस

वर्ल्डलिंकको हिटरनेट अफर : साढे १७ हजारमा १० हजारको हिटर र नेट टिभी Read Previous

वर्ल्डलिंकको हिटरनेट अफर : साढे १७ हजारमा १० हजारको हिटर र नेट टिभी

सहुलियतपूर्ण कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले गरे साढे ४४ अर्ब लगानी Read Next

सहुलियतपूर्ण कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले गरे साढे ४४ अर्ब लगानी