सेयर बजारका लगानीकर्ताले पढ्नै पर्ने किताब

काठमाडौं । सेयर बजारमा लगानी गर्नु अघि बजारको बारेमा अध्ययन गर्नु अनिवार्य पूर्वशर्त हो । अध्ययन नगरि बजार पस्नु र जुवा घरमा पस्नु कुरा एकै हो ।

 

तर, अध्ययन गर्दा कुन किताबबाट सेयर बजारबारे अध्ययन शुरु गर्ने भन्ने चासो हुन सक्छ सामान्य लगानीकर्ताहरुमा । यहाँ एउटा त्यस्तै किताबको बारेमा चर्चा गरिनेछ, जुन सामान्य लगानीकर्तालाई धेरै नै उपयोगी हुनसक्छ ।

 

सेयर बजारका बादशाह समेत भनेर चिनिने वारेन बफेटले पनि आफूले यो किताब पढेर सेयर बजारको लगानीका बारेमा आधारभूत जानकारी प्राप्त गरेको बताएका छन् ।

 

किताबको नाम हो ‘द इन्टेलिजेन्ट इन्भेष्टर’ । र, लेखक हुन् बेन्जामिन ग्रहम ।

 

यो निकै पुरानो किताब हो, धेरै वर्ष पहिले लेखिएको । त्यसैले  यो किताबमा प्रयोग गरिएको अंग्रेजी भाषा अहिलेको अंग्रेजी भन्दा केही फरक थियो । त्यसैले यो किताब बुझ्न केही अतिरिक्त परिश्रम भने गर्नै पर्छ ।

 

यो किताब पढेर पहिलो पटक नबुझ्दा पाठकहरुमा नैराश्यता पनि छाउन सक्छ । उनीहरुलाई लाग्न सक्छ, ‘यदि यो सेयर बजार सम्बन्धी सबैभन्दा राम्रो पुस्तक हो र मैले यो बुझिन भने मैले अहिलेसम्म सेयर बजारको बारेमा केही पनि बुझेको रहेनछु । सायद मैले सेयर बजारमा लगानी कसरी गर्ने भनेर कहिल्यै सिक्न पनि सक्दिन होला ।’

 

त्यसैले यहाँ उक्त किताबको बारेमा संक्षिप्त चर्चा गरिएको छ ताकी कसैले यो किताब पढ्न चाहेमा केहि सहजता हुन्छ । र, किताबले चर्चा गर्ने सेयर बजारका आधारभूत पक्षहरु बुझ्न सजिलो हुन्छ ।

 

यो किताबले चर्चा गरेको सबैभन्दा महत्वपूर्ण अवधारणा भनेको लगानीकर्ता र अनुमानकर्ताका बीचको फरकपना हो ।

 

सेयर बजारका काम गरिरहेका धेरै मानिसहरुलाई थाहै हुँदैन की उनीहरु लगानीकर्ता हुन् वा अनुमानकर्ता हुन् भनेर । सामान्यतया धेरै मानिसहरु अनुमानकर्ता हुन्छन् ।

 

लगानीकर्ता हुनका लागि एकदमै धेरै अनुसन्धान गर्नुपर्नेहुन्छ । कुनै पनि सेयर किन्नु भन्द अघि उक्त सेयरका बारेमा गम्भिर अनुसन्धान गर्ने मानिसहरु मात्र लगानीकर्ता हुन्छन् । सामान्य मानिसहरु सामान्य समाचार वा अरुको कुरा सुनेर लगानी गर्ने गर्दछन् । किताबले अरुको रिर्पोट वा अनुसन्धान पढेर सेयर किन्नेहरुलाई लगानीकर्ता मान्दैन, अनुमानकर्ता मान्छ ।

 

लगानीकर्ताको अर्को गुण भनेको आफ्नो पूँजीको सुरक्षा । उनीहरुको सबैभन्दा ठूलो प्राथमिकता आफ्नो पूँजीको सुरक्षा गर्नुमा हुन्छ । तर, अनुमानकर्तालाई आफ्नो पूँजीको सुरक्षामा खासै ध्यान हुँदैन । उनीहरुको चासो ट्रेण्डमा हुन्छ । र, उनीहरु छिटो भन्दा छिटो धेरै पैसा कमाउन चाहन्छन् ।

 

लगानीकर्ताको अर्को गुण भनेको ‘उचित’ नाफाको खुट्याउनु हो । यो विषय भने अलि पेचिलो छ । कति प्रतिशत नाफा वा रिर्टनलाई उचित मान्ने ? १० प्रतिशतलाई उचित मान्ने हो भने त्यसका लागि बैंकको मुद्दती खातामा लगानी गरे भइहाल्यो ।

 

१२-१३ प्रतिशतलाई मान्ने हो भने सुनमा, १५ प्रतिशतलाई माने म्युचुअल फण्डमा र २० प्रतिशत भन्दा माथिलाई उचित रिर्टन मान्ने हो भने सिधै सेयरमा लगानी गर्नुपर्‍यो । अनुमानकर्तालाई भने यो विषयमा चासो हुँदैन । कति प्रतिशत रिर्टन आफ्ना लागि उचित हो भन्ने उनीहरुलाई कुनै सुईंको ने हुँदैन ।

 

यो किताबले चर्चा गरेको अर्को महत्वपूर्ण अवधारणा भनेको ‘मिस्टर मार्केट’को अवधारणा हो ।

 

मिस्टर मार्केटलाई किताबले बजारको अदृश्य र काल्पनिक मानिसको रुपमा खडा गरेको छ । मिस्टर मार्केटले नै पुरै बजारलाई चलाउँछ भन्ने किताबको दाबी छ । र, यो मानिस एकदमै ‘मुडि’ छ, अर्थात यसको मुड परिर्वतन भइरहन्छ । मुड बिग्रको बेला यसले आफ्ना सेयरहरुको मुल्य घटाउँछ र सस्तोमा बेच्छ । तर, उ सकारात्मक वा खुसी भएको बेलामा भने सेयरको मूल्य बढाउँछ ।

 

त्यसैले सेयर लगानीकर्ताले मिस्टर मार्केटको मुड बुझ्नु जरुरी छ । उसका मुड बिग्रेका बेला सेयर किन्नुपर्छ र उसको मुड सप्रेका बेला सेयर बेच्नुपर्छ । लगानीकर्ताहरु उसको मुड अनुसार चल्नु हुँदैन । उ निराश भएको बेला आफु पनि निराश र उ खुसी भएको बेला आफु पनि खुसी भयो सेयर बजारबाट नाफा कमाउन सकिदैंन भन्ने किताबको दृष्टिकोण छ ।

 

मिस्टर मार्केटको मुड भन्दा भन्दा ठ्याक्कै उल्टो मुडमा काम गर्न सके लगानीकर्ताले बढी रिर्टन बनाउन सक्ने किताबको निष्कर्ष छ । सायद यसै अवधारणालाई वारेन बफेटले आफ्नै भाषामा, ‘अरु डराएका बेला तपाईं हौसनुहोस् र अरु हौसीएका बेला तपाई डराउनुहोस्’ भनेर भनेका होलान् ।

 

किताबले स्थापित गरेको अर्को अवधारणा हो, ‘मार्जिन अफ सेफ्टी’ ।

 

मान्नुस् कुनै इन्जिनियरले १० हजार टन धान्ने पुलको डिजाइन गर्नु पर्यो । एउटा परिपक्व इन्जिनियरले १० हजार टन धान्ने क्षमताको पुल बनाउँदा कम्तीमा ११ हजार वा १२ हजार टन क्षमताको डिजाइन गरेको हुन्छ, कुनै समय पुलमा धेरै गाडीहरु वा ठूलो भारी बोकेका गाडीहरु आउलान् भनेर । यो अवधारणालाई नै किताबले मार्जिन अफ सेफ्टी भनेको छ ।

 

यो अवधारणा सेयर बजारको लागि पनि धेरै उपयोगी हुन्छ । यदि तपाईंलाई कुनै कम्पनीको सेयर किन्नका लागि २०० रुपैयाँ प्रतिकित्ता ठिक्क हो भन्ने लाग्छ भनेपनि तपाईं केही समय कुरेर १८० रुपैयाँ प्रतिकित्तामा सेयर किन्नुस् भनेको हो ।

 

तपाईंले आफ्नो कुनै अनुमान वा अध्ययनका आधारमा २०० रुपैयाँलाई उपयुक्त मूल्य ठान्नुभएको छ भने पनि आफ्नो निश्कर्षमा मार्जिन अफ सेफ्टीको शुत्र लागू गर्नुहोस् र १८० रुपैयाँमा किन्नुहोस् । बेच्ने बेलामा पनि कुरा यही हो ।

 

समग्रमा भन्दा आफ्ना निष्कर्षहरु पनि गलत हुन सक्छन् है भनेर त्यसका विपरित केही सावधानीहरु अपनाउने प्रक्रियालाई मार्जिन अफ सेफ्टीको रुपमा किताबले उल्लेख गरेको हो ।

 

किताबको अर्को चर्चा भने आइपीओको बारेमा छ । आइपीओ कम्पनी र मर्चेन्ट बैंकले हिसाबकिताब गरेर प्रति सेयर मूल्य तय गरेर बेच्ने हुनाले उक्त मूल्यमा सेयर खरिद गर्दा नाफा हुने संभावना कम हुने किताबको दाबी छ । त्यो भन्दा दास्रो बजारबारट सेयर खरिद गर्दा नाफा हुने र उचित मूल्यमा सेयर खरिद गर्न पाउने संभावना कुने किताबको निष्कर्ष छ ।

 

नेपालको सेयर बजारमा भने अहिलेसम्म सामान्यत आइपीओ जारी गर्दा प्रति कित्ता १०० रुपैयाँमा जारी गरिरहेका हुनाले यो त्यति सान्दर्भिक नहून सक्छ । तर, प्रिमियम जोडेर आइपीओ निष्काशन हुन थालेमा भने यो शुत्र नेपाली सेयर बजारमा पनि उपयोगी हुनसक्छ ।

सहुलियतपूर्ण कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले गरे साढे ४४ अर्ब लगानी Read Previous

सहुलियतपूर्ण कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले गरे साढे ४४ अर्ब लगानी

पर्यटन मन्त्रालय मातहतका राष्ट्रिय गौरवका ५ आयोजना, कुनको प्रगति कति Read Next

पर्यटन मन्त्रालय मातहतका राष्ट्रिय गौरवका ५ आयोजना, कुनको प्रगति कति