काठमाडौं । नेपाल उद्योग परिसङ्घ र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच लगानी विस्तार एवं व्यावसायिक सम्बन्धका विविध विषयमा छलफल भएको छ ।
परिसङ्घ अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसङ्घ पदाधिकारीले आज राजदूत सोङसँग भेट गरी लगानी एवं व्यावसायिक सम्बन्ध विस्तारका विषयमा छलफल गरेका हुन् ।
परिसङ्घका अध्यक्ष अग्रवालले चीन विकासको महत्त्वपूर्ण साझेदार रहेको बताउँदै नेपालपछि परेको पूर्वाधार क्षेत्रमा सहकार्यको आवश्यकता रहेको बताए । उनले पूर्वाधार, प्रविधि हस्तान्तरण, सीप, पर्यटनलगायत क्षेत्रमा चिनियाँ लगानी एवं सहकार्यलाई उच्च प्राथमिकता दिन आग्रह गरे । विद्युतीय व्यापारका माध्यमबाट नेपाली वस्तु चिनियाँ बजारमा पुर्याउन सहयोग गर्न पनि उनले चिनियाँ राजदूतसँग आग्रह गरे ।
अध्यक्ष अग्रवालले परिसङ्घ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआइटी) बीचको सहकार्यमा नेपालमा देखिने गरी काम गर्न लागिएकोसमेत राजदूत सोङलाई जानकारी गराए ।
सो अवसरमा चिनियाँ राजदूत सोङले नेपालले जलविद्युत्लगायत प्राकृतिक स्रोतको प्रयोगमार्फत विकास गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि दीर्घकालीन विकास रणनीति आवश्यक रहेकोमा जोड दिए ।
उनले ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै नेपालले विद्युत् प्रयोग बढाउनुपर्ने सुझाव दिए । विद्युत् प्रयोग बढ्दा आयात प्रतिस्थापनमा सहयोग गर्ने उनको भनाइ थियो । परिसङ्घले औद्योगिक विकासका लागि काम गर्दै आएको बताउँदै उनले नेपालको औद्योगिक विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । छलफलमा परिसङ्घका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष निर्वाण चौधरी, हेमराज ढकाल, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्य छाया शर्मा, गोकुल भण्डारी, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।