काठमाडौं । भारत सरकारले नेपालका थप चार जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप चार आयोजनाको १८० मेगावाट विद्युत् किन्नका लागि स्वीकृति दिएको हो ।
भारतको मन्त्रिपरिषद्ले गत साता नेपालसँग दीर्घकालीन विद्युत् व्यापार सम्बन्धी सम्झौतापत्र स्वीकृत गरेको थियो । सोसँगै भारतले नेपाबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने बाट खुला भएको थियो । त्यसैक्रममा, भारतले तत्कालै थप १८० मेगावाट बिजुली किन्न अनुमति दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भारतले अहिले साहस ऊर्जाको सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालंगाढ आयोजनाको गरी कुल १८० मेगावाट विद्युत् भारत निर्यातका लागि अनुमति दिएकाे हाे ।
सोलु दूधकोसी र दोर्दीखोलाको ११० मेगावाट बिजुली ढल्केबर(मुजफ्फरपुर ४०० केभी प्रसारणलाइन भारत पठाइने छ भने अपर चमेलिया र अपर कालंगाढको ७० मेगावाट टनकपुर-महेन्द्रनगर १३२ केभी प्रसारणलाइनबाट निर्यात हुने प्राधिकरणले जनाएको छ ।थप अनुमति पाएका आयोजनाको बिजुली यसै साता भित्रैबाट निर्यात थालिने तयारी भएको प्राधिकरणले जनाएको छ ।
थप १८० मेगावाट विद्युत् निर्यातको अनुमति पाएसँगै अब नेपालबाट १४ आयोजनाको ६३२ मेगावाट विद्युत् भारत निर्यात हुनेछ । नेपालले पहिलोपटक २०७८ कात्तिकदेखि प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट बिजुली भारत निर्यात सुरू गरेको थियो । त्यसपछि २०७९ जेठमा थप ६ वटा आयोजनाको ३६४ मेगावाट र २०७९ कात्तिकमा थप दुई जलविद्युत् आयोजनाको ८० मेगावाट बिजुली निर्यातको स्वीकृति पाएको थियो ।
यी हुन् निर्यातका लागि अनुमति पाएका १४ आयोजना
भारत बिजुली विक्रीका लागि अनुमति पाउने जलविद्युत् आयोजनाको संख्या १४ पुगेको छ । यी आयोजनबाट उत्पादित ६३२ मेगावाट बिजुली भारत निर्यात गर्न सकिने भएको हो ।
प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ‘ए’को १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट निर्यातका लागि अनुमति पाएका छन् ।
यसैगरी, लिखु–४ बाट उत्पादित ५१ मेगावाट, चिलिमे जलविद्युत्को २२ मेगावाट र २३.५ मेगावाटको सोलुखोला जलविद्युतबाट उत्पादित बिजुली भारत निर्यात भइरहेको छ ।
त्यस्तै, २३.५ मेगावाटको सोलुखोला जलविद्युत केन्द्र, काबेली बी १ को २४.२५ मेगावाट र तल्लो मोदी १९.४ मेगावाट बिजुली भारत निर्यातका लागि अनुमति पाएका छन् ।
त्यसैगरी, साहस ऊर्जाको ८३.४२ मेगावाटको सोलु खोला (दूधकोशी) र २६.१९ मेगावाटको दोर्दीखोला, ४० मेगावाटको अपर चमेलिया र ३० मेगावाटको अपर कालंगाढ जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारत बेच्न सकिने भएको छ ।