भदौ २८ देखि आइपीओ बिक्री गर्दै मिड सोलु हाइड्रोपावर

काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा आम सर्वसाधरणका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरले ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँ बराबरको ६ लाख २१ हजार १७२ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाइने छ । लगानीकर्ताले सो आइपीओमा असोज १ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा ढिलोमा असोज ११ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ९.५ मेगावाटको मध्य सोलु जलविद्युत आयोजनाले २०७९ पुस १५ गतेदेखि नियमित व्यावसायिक रुपमा विद्युत उत्पादन गरिहरहेको छ । यसको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ  रहेको छ।

 

उद्योग परिसंघ र चिनियाँ राजदूतबीच छलफल, लगानी विस्तारमा जाेड Read Previous

उद्योग परिसंघ र चिनियाँ राजदूतबीच छलफल, लगानी विस्तारमा जाेड

भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौं उडान पुनः सुरू गर्ने Read Next

भुटान एयरलाइन्सले भदौ ३० देखि काठमाडौं उडान पुनः सुरू गर्ने