काठमाडौं । नियम विपरीत मनपरी ऋण दिँदा लघुवित्त वित्तीय संस्थाहरूको लगानी जोखिममा पर्ने क्रम बढेको छ । ऋणीको सामाजिक, आर्थिक अवस्थाको वेवास्ता गर्दै एउटै व्यक्तिलाई दर्जनसम्म लघुवित्तले ऋण दिँदा लघुवित्तहरूको ठूलो लगानी रकम जोखिममा परेको हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त)सम्म लघुवित्तको नोक्सानी व्यवस्थापन (प्रोजिनिङ) रकम २ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । एकीन तथ्यांक नभए पनि लघुवित्तकर्मीहरूका अनुसार यो ६ लाख ४० हजार ऋणीको तीन महिनाभन्दा बढी भाखा नाघेको ऋण हो ।
ऋण असुल नभएपछि लघुवित्तहरूको खराब कर्जा एक वर्षमा दोब्बरले बढेको छ । यस अवधिमा लघुवित्तको खराब कर्जा औसतमा ४ प्रतिशत पुगेको छ भने १ दर्जन लघुवित्तको खराब कर्जा सीमा माथि अर्थात् ५ प्रतिशत नाघेको छ । बैंक तथा वित्तीय संस्थाको वित्तीय अवस्था नै बिग्रिएको मानिन्छ ।
नेपाल राष्ट्र बैंकले ऋण व्यवस्थापनको वर्गीकरण गरेको छ । जस अनुसार संस्थाहरूले कर्जा लगानी गर्ने कम्रमै १ प्रतिशत, वाचलिष्टमा ५, कमसलमा (३ महिना भाखा नाघेका) २५ प्रतिशत, शंकास्पद (६ महिना भाखा नाघेका)मा ५० प्रतिशत र खराब कर्जा (१ वर्ष भाखा नाघेका) भए शतप्रतिशतसम्म जोखिम व्यवस्थापनका लागि प्रोभिजननिङ गर्नुपर्ने व्यवस्था गरेको छ ।
जोखिम व्यवस्थापन रकम बढ्नु भनेको ऋण दिएको कर्जा जोखिममा रहेको छ भन्ने हो भने यसले संस्थाहरूको वित्तीय सूचकमा नै असर पारेको हुन्छ । सोही कारण अहिले अधिकांश लघुवित्तको नाफा घटेको छ भने केही नोक्सानमा छन् ।
नेपाल लघुवित्त बैंकर्स संघका सचिव तथा नेशनल लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादव समग्र लघुवित्तहरूको हरेक दिनको ऋणको अवस्था हेर्ने हो भने १० अर्ब जति लगानी जोखिममा रहेको बताउँछन् ।
‘२ अर्ब प्रोभिजनिङ भनेको ३ महिनाभन्दा भाखा नाघिसकेको हो । त्यसोभन्दा पछि १ /२ महिनाको हिसाब गर्ने हो भने यो अझै बढी हुन्छ,’ उनले भने, ‘प्रत्येक दिनको हेर्ने हो १० अर्बभन्दा बढीको लगानी जोखिममा छ जस्तो लाग्छ ।’
आर्थिक क्रियाकलापमा आएको संकुचन, तरलता अभाव, एउटै व्यक्तिले धेरै संस्थाबाट क्षमताभन्दा बढी ऋण लिनु र कर्जा लिएर ऋण नतिर्ने प्रवृत्ति जोखिम बढ्नुको कारण भएको उनको विश्लेषण छ ।
चालु आवको पुस मसान्तसम्म लघुवित्तहरूले कुल ४ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यसअधिमा संस्थाहरूको कुल निक्षेप र सापटी ३ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ । सोमध्ये १ खर्ब ८३ अर्ब बैंक तथा वित्तीय संस्थाबाट सापटी र १ खर्ब ६७ अर्ब निक्षेप रहेको वित्तीय विवरणले देखाउँछ ।
खुकुलो नीति र नाफा केन्द्रीत हुँदा लगानी जोखिममा
आर्थिक क्षेत्रका जानकारहरू लघुवित्तले ऋणीको अवस्था नहेरी मनलाग्दी ऋण दिँदा समस्या आएको बताउँछन् । ग्रामीण क्षेत्रको पूँजी परिचालन गरेर रोजगारी सृजना गर्ने उदेश्यले स्थापना भएका संस्थाहरूले घरमै गएर जथाभावि ऋण दिँदा संस्थाको वित्तीय अवस्था मात्र खराब नभएर ऋणीको नै उठीबास लागेको छ ।
लघुवित्तहरू आफ्नो उद्देश्य र स्वनियमनको दायराबाट विचलित हुँदा आर्थिक विकासमा टेवा पुर्याउनेभन्दा थप समस्या सृजना गर्ने माध्यम बनेका छन् । यी संस्थाहरू नियनको दायरामा भए पनि राष्ट्र बैंकले चुस्त रूपमा नियमन गर्न सकेको छैन ।
स्वनियमनमा बस्नुपर्ने भएका कारण राष्ट्र बैंकले नियमनमा खुकुलो नीति लिएको र लघुवित्तहरू व्यवसायिक लाभ केन्द्रीत हुँदा यस्तो लगानी जोखिमको समस्या आएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपाल बताउँछन् ।
‘संस्थाहरूले स्वनियमनमा बस्नुपर्ने हो । सोही कारण नियमनमा राष्ट्र बैंक उदार भएको हो । तर एउटै ऋणीलाई दर्जनसम्म संस्थाले ऋण दिइरहे,’ उनले भने, ‘त्यसकारण यो समस्या झांगिएको हो । अब राष्ट्र बैंकले एक व्यक्ति एकभन्दा बढी संस्थाको सदस्य बन्न नपाउने गरी निर्देशिका ल्याउने तयारीमा छ ।’
अहिले लघुवित्तविरुद्ध ऋणीहरू देशव्यापी रूपमा संगठित रूपमा ऋण मिनाहा हुनुपर्छ भन्दै लागेका छन् । देशभर ५० लाख बढी सदस्यहरू लघुवित्तमा संलग्न भए पनि कत्ति ऋणीहरू ऋण तिर्न नसक्ने अवस्थामा छन् भन्ने एकीन तथ्यांक भने छैन ।
अहिले लघुवित्तविरुद्ध ऋणीहरू देशव्यापी रूपमा संगठित रूपमा ऋण मिनाहा हुनुपर्छ भन्दै लागेका छन् । संस्थाबाट लिएको ऋण तिर्न नसक्ने भएपछि कतिपयले घर नै छोडेर हिँड्न थालेका छन् ।
यो पनि पढ्नुहोस् : आफ्नै कारण संकटमा फस्दै लघुवित्त, ऋणीलाई झनै ‘गरीब’ बनाउँदै
यो पनि पढ्नुहोस् : लघुवित्तका ऋणीले आन्दोलन गर्दैमा ऋण मिनाहा हुन्छ ?