लघुवित्तका ऋणीले आन्दोलन गर्दैमा ऋण मिनाहा हुन्छ ?

काठमाडौं । केही महिना यता लघुवित्त संस्थाहरूको विरूद्धमा ऋणीहरू संगठित हुँदै आन्दोलनमा उत्रिएका छन् । ‘लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति’ नै गठन गरेर उनीहरूले आन्दोलन गरेका छन् । केही ठाउँमा लघुवित्तका कार्यालय तोडफोड र कर्मचारीमाथि हातपात समेत भएको छ ।

चर्को ब्याजदर, महँगो सेवाशुल्क, झन्झटिलो किस्ता भुक्तानी प्रक्रिया, कर्मचारीको दुव्र्यवहार लगायतका कारण देखाएर लघुवित्त कम्पनीविरुद्ध ऋणीहरू सङ्गठित भएका हुन् । लघुवित्त कम्पनीहरू नाफामा मात्रै केन्द्रीत हुँदा सदस्यले ऋणको भारी बोक्नुपरेको उनीहरूको भनाइ छ ।

लघुवित्तका ऋणीहरू घर छाडेर भाग्नुपर्ने अवस्था आएको, कर्मचारीले ऋण असुल्न गाई, भैंसी, ब्राखा लगायत घरपालुवा जनावर समेत लैजाने गरेको, कतिपय अवस्थामा आत्महत्या नै गर्नुपर्ने अवस्था सृजना भएको, लघुवित्तहरू मिटरब्याजी जस्तै भएको ऋणीहरू बताउँछन् ।

सिराहाकी पुनमकुमारी महतोले लघुवित्तकै कर्मचारीले मिटरब्याजमा पैसा लगाउने गरेको बताउँछिन् ।  लघुवित्तका कर्मचारीबाट आजित भएपछि साहु महाजनबाट चर्को ब्याजमा ऋण लिएर तिरेको उनको भनाइ छ ।

लघुवित्त कम्पनीले उत्पादनमूलक र व्यावसायिक परियोजनामामा लगानी गर्न नसक्दा समस्या भएको हो । तर, ऋणीहरू आन्दोलित भएर उनीहरूले लिएको ऋण मिनाहा हुन्छ भनेर सोच्न हुँदैन ।

‘सानो व्यवसाय सुरू गर्ने भनेर ऋण लिएँ तर मधेश आन्दोलनका बेला व्यापार व्यवसाय ठप्प भयो । नियमित किस्ता तिर्न सकिनँ । लघुवित्तका कर्मचारी घरमै आएर हरेक दिन आधा रातसम्म दुःख दिन थालेपछि साहुसँग चर्को ब्याजमा ऋण लिएर लघुवित्तको ऋण तिरेँ,’ उनले भनिन् ।  लघुवित्तबाट ऋणको साँवा ब्याज तिर्दा आफ्नो सबै सम्पत्ति सकिएको पनि उनको भनाइ छ ।

त्यस्तै, सिराहा देवीपुरका श्यामकुमारी चौधरीले लघुवित्तकै कारण आफ्नो घरखेत र गरगहना सबै बेचेको बताइन् । ‘मैले रू एक लाख ऋण लिँदा रू ८५ हजार मात्रै पाएँ  । सुरूमै रू १५ हजार सेवाशुल्क भनेर काट्यो । हरेक महिना रू १० हजारका दरले १३ किस्ता तिरिसक्दा पनि ऋण सकिएन । थप पैसा माग्न थालेपछि मैले खेत बेच्नुपर्यो,’ उनले भनिन् ।

रौतहटकी दिलकुमारी कार्कीले मिटरब्याजीबाट लिएको ऋण तिर्नका लागि लघुवित्तबाट ऋण लिएको बताउँछिन् ।  ‘मिटरब्याजीले खाली चेक मागेर साढे ४ लाख ऋण दियो । तर उसले खाली चेकमा रू ११ लाख भरेर असुल्न खोज्यो । मिटरब्याजीको पासोबाट उम्कन लघुवित्तबाट ऋण लिएँ । पछि लघुवित्तका कर्मचारीले पनि मिटरब्याजीजस्तै व्यवहार गर्न थाले,’ कार्कीले भनिन् । अहिले आफू छ–सातवटा लघुवित्त कम्पनीको ऋणी रहेको उनको भनाइ छ । लघुवित्त कम्पनीका कर्मचारी बारम्बार घरमा आएर ऋण असुलीका लागि दबाब दिन थालेपछि आफ्नो छोरीले आत्महत्या गरेको पनि कार्कीले बताइन् ।

सिन्धुपाल्चोक घर भएर भक्तपुरमा हार्डवेयर पसल सञ्चालन गर्दै आएकी सुनमाया तामाङले समूहमा ऋण लिएर अर्कोले नतिर्दा आफू समस्यामा परेको बताइन् । ‘अरुले ऋण नतिरेका कारण मेरो बचत पनि पाइनँ । जबरजस्ती ऋण भिराएर असुली गर्न खोज्नु कहाँको न्याय भयो ?,’ प्रश्न गर्दै उनले भनिन् ।

यी केही प्रतिनिधि घटना मात्र हुन् । लघुवित्तको ऋणले मानसिक तनाव झेल्ने र घरवार समेत गुमाउनेको संख्या लाखौंमा छ । लघुवित्तहरूले व्यक्तिलाई नभई समूह बनाएर ऋण दिने गर्छन् । एक समूहलाई एउटा लघुवित्तले मात्रै ऋण दिन पाउने व्यवस्था छ । तर, लघुवित्तहरूले नाफा कमाउनका लागि जथाभावी ऋण लगानी गरेका छन् । ऋण माथि ऋणको भारी बोकाएका छन् । लघुवित्तको ऋण अहिले ऋणी र लुघुवित्त कम्पनी दुवैको टाउको दुखाइको विषय बनेको छ ।

यो पनि पढ्नुहोस : आफ्नै कारण संकटमा फस्दै लघुवित्त, ऋणीलाई झनै ‘गरीब’ बनाउँदै

पछिल्लो समय देशभर लघुवित्त कम्पनीका विरुद्ध आन्दोलन फैलँदै गएको छ । ऋणीहरू संगठीत हुँदै आन्दोलनलाई अझै तीव्र बनाउने बताएका छन् । यसले अब आन्दोलन गरेपछि ऋण तिर्नुपर्दैन ? के सरकारले ऋण मिनाहा गर्ला जस्ता प्रश्नहरू खडा भएको छ ।

आन्दोलित भएर समस्याको समाधान हुँदैन

लघुवित्त संघ नेपालका अध्यक्ष जगत पोखरेलले कुनै लघुवित्त कम्पनीले ऋणीलाई दुःख दिएको भए त्यसका लागि नियामकीय निकाय राष्ट्र बैंकले कारबाही गर्न सक्ने बताए । तर ऋणी आन्दोलित भएर समस्याको समाधान नहुने उनको भनाइ छ ।

‘कुनै कम्पनीले बदमासी गरेको भए त्यसका लागि कारबाहीको तरिका छ । कानून आफ्नो हातमा लिएर मात्रै समस्या समाधान हुँदैन,’ उनले भने । नेपालमा लघुवित्त कम्पनीले गरेको लगानी मोडलबारे पुनर्विचार गर्नुपर्ने बेला आएको उनको भनाइ छ ।

‘जहाँ सामाजिक पूँजी स्खलन हुन्छ, त्यहाँ लघुवित्तको हाम्रो मोडलले काम गर्दैन । नेपालको लघुवित्त मोडलले आपसी सद्भाव, सदाचारिता, सहकार्यसहितको सामाजिक पूँजी निर्माण हो भन्छ । तर संस्थाहरू नाफामुखी हुँदै गएर त्यो मोडल नै बिर्सिंदै गए,’

‘धेरै लघुवित्त भएर हो वा धेरै समस्या भएर हो । अहिले केही लघुवित्त कम्पनीका ऋणी आन्दोलनमा हुनुहुन्छ । समूहमा लगानी गर्ने लघुवित्तको मोडलबारे छलफल गर्नुपर्ने देखिएको छ,’ उनले भने । लघुवित्त कम्पनीहरूले आफ्ना ऋणीलाई व्यवसाय गर्न ऋण परिचालन गर्ने र उत्पादनमा लगानी गरेर बजारको समेत सुनिश्चितता गर्नुपर्ने उनको भनाइ छ । यसो गर्दा न्यून ब्याजदर कायम गर्न सकिने पनि पोखरेलको भनाइ छ ।

ऋणीले ऋण मिनाहा हुन्छ भनेर सोच्न हुँदैन : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं लघुवित्त संस्था सुपरीवेक्षण विभाग प्रमुख रेवतीप्रसाद नेपाल अहिले लघुवित्त कम्पनीमा देखिएको जरा धेरैवटा समस्याबाट गाँजिएको बताउँछन् । ‘लघुवित्त क्षेत्रमा अहिले देखिएको समस्या भनेको सुदखोर, साहु महाजन, मिटरब्याजीदेखि सहकारीसम्मले जेलिएको समस्या हो । यो एकैचोटि अहिले मात्रै देखिएको होइन,’ उनले भने ।

लघुवित्त कम्पनीले उत्पादनमूलक र व्यावसायिक परियोजनामामा लगानी गर्न नसक्दा समस्या भएको उनको भनाइ छ । तर ऋणीहरू आन्दोलित भएर उनीहरूले लिएको ऋण मिनाहा हुन्छ भनेर सोच्न नहुने कार्यकारी निर्देशक नेपालले बताए ।

‘अहिले देखिएको समस्याको कारण पहिचानका लागि राष्ट्र बैंकले पहल गर्छ । लघुवित्त नै बन्द गर्नुपर्ने वा ऋण नै नतिर्ने माग लिएर आन्दोलन गरेर समस्या समाधान हुँदैन,’ उनले भने । राष्ट्र बैंकले नीतिगतरूपमा समाधान खोज्ने र त्यसका लागि कार्यदलनै गठन गरेर अध्ययनका लागि निर्देशन दिइसकेको पनि उनले बताए ।

लघुवित्त संस्था स्वशासनमा बस्नुपर्ने नेपालको भनाइ छ । ‘लघुवित्त कम्पनी धेरै व्यावसायिक लाभ केन्द्रित भए । केही सेयर खेलाडी लघुवित्तमा लाग्दा त्यसले पनि असर गरेको छ । अहिले बजारमा देखिएको तरलता सङ्कटका कारण पनि लघुवित्तमा समस्या भएको हो,’ उनले भने ।

लघुवित्तले प्रवाह गर्ने कर्जाबारे ऋणीलाई पर्याप्त जानकारी दिएर वित्तीय साक्षारता बढाउनुपर्ने, लघुवित्तका कर्मचारीले ऋणीसँग गर्ने व्यवहार सुधार्नुपर्ने, एउटै व्यक्तिलाई दर्जनौँ संस्थाले सजिलै ऋण दिनेलगायतका कारण समस्या देखिएको पनि कार्यकारी निर्देशक नेपालको भनाइ छ ।

सुदखोर, महाजन, मिटरब्याजी, सहकारी र लघुवित्त कम्पनीका समस्या सबै एकै ठाउँमा राखेर हेर्न नहुने जानकारहरू बताउँछन् ।

एकै व्यक्ति धेरैवटा लघुवित्तमा सदस्य बन्न नपाउने र कर्जा लिन नपाउने गरी राष्ट्र बैंकले चाँडै निर्देशिका जारी गर्ने उनको भनाइ छ । लघुवित्त कम्पनीहरूले कर्जा प्रवाह सजिलै गर्ने तर असुलीमा कडाइ गर्ने गर्दा ऋणीलाई त्यसले समस्यामा पारेको पनि नेपालले बताए ।

लघुवित्तले बाटो बिराउँदा समस्या देखियाे

लघुवित्त संस्थाहरू आफ्नो सिद्धान्त र अवधारणाभन्दा बाहिर काम गर्न थालेपछि समस्या देखिएको त्रिभुवन विश्वविद्यालयको एमबीए प्रोग्राम डाइरेक्टर भरतसिंह थापा बताउँछन् । लघुवित्त संस्था सामाजिक पूँजी निर्माणमा कमजोर हुँदै गएको र नाफामा मात्रै बढी केन्द्रित हुन थालेको उनको भनाइ छ ।

‘जहाँ सामाजिक पूँजी स्खलन हुन्छ, त्यहाँ लघुवित्तको हाम्रो मोडलले काम गर्दैन । नेपालको लघुवित्त मोडलले आपसी सद्भाव, सदाचारिता, सहकार्यसहितको सामाजिक पूँजी निर्माण हो भन्छ । तर संस्थाहरू नाफामुखी हुँदै गएर त्यो मोडल नै बिर्सिंदै गए,’ थापाले भने ।

लघुवित्तको अवधारणा पैसा लगानी गर्ने र नाफा आर्जन गर्ने भन्ने मात्र नभई यसले सामाजिक सद्भाव र भाइचारा कायम गर्नका लागि पनि काम गर्ने उनको भनाइ छ । अहिले लघुवित्त क्षेत्रमा समस्या देखिनु भनेको समाजमा भाइचारा र सम्बन्ध बिग्रेको रूपमा बुझ्नुपर्ने उनी बताउँछन् ।

सुदखोर, महाजन, मिटरब्याजी, सहकारी र लघुवित्त कम्पनीका समस्या सबै एकै ठाउँमा राखेर हेर्न नहुने उनको भनाइ छ । लघुवित्तका कर्मचारीले ऋणीमाथि ज्यादती गरेको पनि उनले बताए ।समुदायमा अर्काको हित चिताएर आपसी उन्नयनका लागि काम गर्न लघुवित्त कम्पनी स्थापना गरिएको भए पनि अहिले लघुवित्त कम्पनीहरूले ऋणीलाई पैसा दिने र असुल गर्ने मात्रै जानेको उनको भनाइ छ ।

त्यस्तै, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनार्दन पन्त लघुवित्त कम्पनीले आफ्नो सिद्धान्त र अवधारणाअनुसार काम गर्न नसकेको बताउँछन् । वित्तीय साक्षरता नहुँदा ऋणी मर्कामा पर्ने गरेको पनि उनको भनाइ छ ।

‘समाजमा रहेको चरम गरिबीबाट पार पाउन स–सानो पूँजी लगानी गरेर त्यसलाई उत्पादनसँग जोड्न सक्नुपर्छ । तर उनीहरूको उद्देश्य र काममा तालमेल नै मिलेको छैन,’ उनले भने । लघुवित्त कम्पनीहरूबाट ऋणीले लिएको ऋणले उत्पादनलाई सघाउनुपर्ने पन्तको भनाइ छ ।

डिप्रोक्स लघुवित्तले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ? Read Previous

डिप्रोक्स लघुवित्तले तोक्यो बुकक्लोज, कहिलेसम्म सेयर किन्नेले पाउँछन लाभांश ?

दूध उत्पादक किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान Read Next

दूध उत्पादक किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान