आफ्नै कारण संकटमा फस्दै लघुवित्त, ऋणीलाई झनै ‘गरीब’ बनाउँदै

काठमाडौं । पछिल्लो समय लघवित्त कम्पनीहरू आफ्नै कारण संकटमा फस्दै गएका छन् । नियम विपरीत जथाभावी कर्जा लगानी गर्दा लघुवित्तहरू समस्यामा पर्न थालेका छन् ।

बैंकहरूसँग ऋण लिएर ग्रामीण स्तरमा कर्जा लगानी गर्दै आएका लघुवित्तहरूले नियम मिच्दै ऋण लगानी गरेका कारण समस्यामा पुगेका छन् । केही महिना यता लघुवित्त संस्थाहरूको विरूद्धमा ऋणीले आन्दोलनै सुरू गरेका छन् । साथै, कार्यालय तोडफोड र कर्मचारीमाथि हातपात हुन समेत थालेको छ ।

नियम अनुसार एक व्यक्तिलाई एउटा मात्र लघुवित्तले ऋण दिन पाउने व्यवस्था छ । तर, लघुवित्तहरूले नाफा कमाउन जथाभावी कर्जा लगानी गर्दै अहिले एकातिर ऋण असुल हुन सकेको छैन भने अर्कोतर्फ संस्थाहरूको वित्तीय सुसाशनमा ठूलो प्रश्न उब्जेको छ । साथै, खराब कर्जा बढ्दा लघुवित्तहरूको वित्तीय स्वस्थ्य नै रोगी बन्दै गएको छ ।

पछिल्लो समय लघुवित्तकै कारण ऋणीहरूले आत्महत्या समेत गर्न थालेका छन् । जनताको आर्थिक स्तर उकास्न सहयोग गर्ने उद्देश्यले खुलेका लघुवित्तहरू नाफा केन्द्रीत हुँदा वित्तीय तथा सामाजिक प्रणालीमै असर पर्न थालेको छ ।

लघुवित्त वित्तीय संस्था संकटका कारण हचुवामा कर्जा लगानी भएको जानकारहरूले बताएका छन् । ऋणीको सामाजिक र आर्थिक अवस्था नहेरी ऋण लिँदा संस्था मात्र संकटमा नभई ऋणी नै गरिबीको दलदलमा फस्दै गइरहेका छन् ।

एकै ऋणीलाई एकभन्दा बढी संस्थाले ऋण दिने र एक संस्थाको ऋण तिर्न समेत अर्को संस्थाबाट कर्जा लिने जस्ता समस्याले संस्था र ऋणी समस्यामा धकेलिँदै गएका हुन ।

लघुवित्तबाट ऋण लिएकाहरूले महंगो ब्याज हुँदा तिर्न समस्या भएको बताएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्तहरूलाई कर्जाको ब्याजदरमा १५ प्रतिशतसम्मको क्यााप लगाएको छ भने सेवा शुल्क वापत वार्षिक १.५ प्रतिशतभन्दा बढी रकम लिन पाउँदैनन् । तर, संस्थाहरूले चर्को ब्याज लिँदा लिएको ऋण जति किस्ता तिर्दा समेत कहिल्यै नघट्ने गरेको ऋणीहरूको गुनासो छ ।

लघुवित्तको ऋण दिने मोडालिटि परिवर्तन गर्नुपर्छ

नेपालका लघुवित्त लघुवित्त नभई बैंक भएको विज्ञहरूले बताएका छन् । त्रिभुवन विश्वविद्यालयको एमबीए प्रोग्राम डाइरेक्टर भरतसिंह थापा  लघुित्तले ऋण दिने अशुल्ने तर, ऋणीको आर्थिक र सामाजिक सन्तुलन नहेर्दा समस्या आएको बताए ।

‘युरोपेली मुलुकका लघुवित्तले विना धितो ऋण दिँदैन् । व्यवसायी गर्न दिन्छन् , तर हाम्रा लघुवित्त रमाइलो गर्न समेत ऋण दिइरहेका छन् ,’ उनले भने, ‘ गरिब विपन्न र सिमान्तकृतका लागि लघुवित्त हो । यहाँ बैंकको ब्याज तिर्न लघुवित्तबाट ऋण लिइरहेका छौं ।
सामाजिक पूँजी र सम्बन्ध स्थापित गर्न लघुवित्त हो । तर, लघुवित्तको अहिलेकै ग्रामीण मोडालिटीले काम गर्दैन् ।’

ऋणीमाथि कर्मचारीले गरेको ज्यादती संस्थाहरूले सुधार्नु पर्ने उनले बताए । लघुवित्त नहुँदा फेरि मिटर ब्याजीको जालोमा फस्ने झन समस्या हुने उनले बताए । संस्थाहरूमा भएका विकृति कम गरेर बचाउनु पर्ने उनको धारणा छ । ‘लघुवित्त बच्यो भने साहुखोर र सुधखोरको जालो हट्छ । यो मोडल परिवर्तन गर्नु पर्छ । संसारभरका लघुवित्तले ऋण तिर्न कर्जा दिँदैनन् उत्पादनमा लगानी गर्न हो,’ उनले भने ।

सदस्य र वित्तीय साक्षरतामै समस्या

लघुवित्तकर्मीरूले वित्तीय साक्षरता र सदस्यतामै समस्या भएको बताएका छन् । लघुवित्त संघका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रोफाइनान्स भएर वा राष्ट्र बैंकको नियमनमा नबस्दा समस्या भएको हो यसको अध्ययन गरेर समस्या समाधान गर्नुपर्ने उनले बताए ।

‘कानुन विपरीत गए राष्ट्र बैंकले कारबाही गर्नुपर्छ । उत्पादनमा लगानी गरेर कसरी बजारको व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयलाई लघुवित्तले ध्यान दिनुपर्छ,’ उनले भने ।

सीवाइसी लघुवित्तका सीईओ डोलराज शर्माले माइक्रो फाइनान्सका पनि केही कमजोरी भएको बताए । ‘ माइक्रोफाइनान्सका पनि केही कमजोरी छन् । तर, जुन हिसाबले बजारमा हल्ला आएको छ त्यस्तो अवस्था होइन्,’ उनले भने,’ समस्या छ । समस्या छ भन्दैमा माइक्रोफाइनान्स बन्द होइन मोडल परिवर्तन गर्नुपर्छ ।’

एउटै व्यक्ति धेरै लघुवित्तमा सदस्य हुँदा समस्या भएको उनले बताए । ‘लघुवित्तको सदस्यतामै समस्या रहेको छ । लघुवित्तले विना धितो ७ लाखसम्म ऋण दिने हो । ऋण दिनुभन्दा पहिला वित्तीय साक्षरता सिकाउनु आवश्यक छ,’ उनले भने ।

जेलिएको समस्या

नेपाल राष्ट्र बैंक लघुवित्त व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपाल लघुवित्तको संकट जेलिएको समस्याको रूपमा रहेको बताएका छन् । ‘लघुवित्तको समस्या जेलिएर रहेको देखिन्छ । लघुवित्त मात्र नभएर, सहकारी, साहुखोरसँगको जालोले समस्या ल्याएको छ,’ उनले भने ।

ऋणीले पैसा तिरेन भने निक्षेपकर्ताले पनि झन आन्दोलन गर्ने उनले बताए ।‘निक्षेप पनि सर्वसाधारणको हो । लिएको ऋण मिनाहा हुन्छ भने त्यो भ्रममा ऋणीले नपर्दा हुन्छ ,’ उनले भने, ‘ ऋणीको अवस्था हेरेर संस्थाले उनीहरूको समस्या केस्राकेस्रा केलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । संस्थाका कर्मचारीले ऋणीसँगको व्यवहारलाई सुधार गर्नु पर्छ ।’

लघुवित्त वित्तीय संस्था स्वशासित संस्था हुन । यही मान्यताको कारण राष्ट्र बैंकले उदार भएर नियमन गरेको उनले बताए । सेवा शुल्क बापत लिएको रकम फिर्ता लिन निर्देशन दिइसकेको उनले बताए

‘एकैपटक बन्द गरौंभन्दा अहिलेसम्म हासिल सबै उपलब्धी बाँकी रहन्न,’ उनले भने, ‘संस्थाहरूले नियम र दायरा भित्र रहेर लगानी गर्नु पर्छ । ५/१० संस्थाले बजारमा ल्याएको विकृतिका कारण पुरै वित्तीय प्रणाली नै बदनाम हुने अवस्था आएको छ ।’ ऋणीको सुरक्षा सदस्यता र सीएसआर जस्ता विषयमा राष्ट्र बैंक निर्देशिका जारी गर्ने तयारीमा रहेको उनले बताए ।

रोकिएन नेप्सेको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

रोकिएन नेप्सेको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

चीनले मुख्य सडक नबनाएपछि सरकारले कलंकी-बसुन्धारा खण्डमा सहायक सडक बनाउँदै Read Next

चीनले मुख्य सडक नबनाएपछि सरकारले कलंकी-बसुन्धारा खण्डमा सहायक सडक बनाउँदै